ad ad

राजनीति


हाम्रो पार्टीले देशमा ठूलो राजनीतिक तरंग ल्याइसक्यो : माधव नेपाल

गठबन्धनले राष्ट्रिय सभाका १९ सिट जित्ने जिकिर
हाम्रो पार्टीले देशमा ठूलो राजनीतिक तरंग ल्याइसक्यो : माधव नेपाल

नेपालखबर
माघ १२, २०७८ बुधबार १३:३९, काठमाडौँ

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानून अनुरुप हुनुपर्ने बताएका छन्। 

पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई बुधबार पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधान अनुसार गराउनुपर्ने बताएका हुन्। 

उनले एकैपटक तीनवटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग  सत्तारुढ दलहरुले विस्तृत छलफल गरिरहेको बताए। 

अध्यक्ष नेपालले बुधबार भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनहरूले जित्ने दाबीसमेत गरे।

‘राष्ट्रिय राजनीतिमा हाम्रो दलको राजनीतिले तरंग पैदा गरिरहेको छ। अहिले हामी ५ दलीय गठबन्धनमा छौँ। ५ दलीय गठबन्धनका सबै दलहरु मिलेर राष्ट्रियसभाको चुनावमा हामीले १९ जना उम्मेदवार खडा गरेका छौँ', उनले भने, 'आजबाट खाली रहेका राष्ट्रियसभा सदस्यहरुको १९ सिटका लागि ९ बजेबाट मतदान शुरु भइसकेको छ। ३ बजेसम्म मतदान हुनेछ।'

नेपालले १९ वटा स्थानमा गठबन्धनले नै जित्ने दाबी गरेका छन्।

'त्यो परिणामले पनि तरंग पैदा गर्नेछ। तपाईंहरु सुनिरहनु भएको छ, स्थानीय तहको चुनाव कहिले गर्ने, संघीय चुनाव कहिले गर्ने? प्रदेशसभाको चुनाव कहिले गर्ने? यसबारे व्यापक बहस भइरहेको छ', उनले भने, 'यो बहसको सन्दर्भमा हाम्रो धारणा संविधानलाई सर्वोपरि राखेर, कानून अनुरुप नै चुनाव सम्पन्न हुनुपर्छ। यसो गर्दा एकै पटकमा तीनै तहको निर्वाचन गर्न सकियो भने राम्रो हुन्छ।'

उनले एउटा चुनाव गराउँदा झन्डै ५ अर्ब रुपैयाँ खर्च हुने बताए। 'यो भन्दा पहिला ५ चरणमा चुनाव भएको थियो। त्यसमा झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको थियो', उनले भने, 'यदि एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्बमा चुनाव सकिन्छ। उम्मेदवारको पनि खर्च कम हुन्छ। त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .