राजनीति


रेशम चौधरीसँग २१ हजार मतले पराजित गरिमा शाह राष्ट्रिय सभामा

रेशम चौधरीसँग २१ हजार मतले पराजित गरिमा शाह राष्ट्रिय सभामा

नेपालखबर
माघ १२, २०७८ बुधबार १७:२२, काठमाडौँ

बुधबार भएको राष्ट्रिय सभा निर्वाचनको पहिलो परिणाम माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा गयो। 

सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हुने महिलातर्फको सिटमा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) विजयी भइन्। 

प्रदेश सभातर्फ १ हजार ८ सय ७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९ सय ६२ मतभार पाएर शाह राष्ट्रिय सभामा निर्वाचित भएकी हुन्। 

शाहकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार सन्तोषकुमारी थापा थिइन्, जसले प्रदेशतर्फ ५ सय ७६ र स्थानीय तहतर्फ १ हजार १ सय ५२ मतभार प्राप्त गरिन्। 

सुदुर पश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादी नै छ। यसको फाइदा त्यस पार्टीकी उम्मेदवार शाहलाई यसपटकको राष्ट्रिय सभा निर्वाचनमा भयो। 

स्थानीय तहतर्फ १० मतभारले मात्र अगाडि रहँदा प्रदेश सभातर्फ उनले आफ्नो प्रतिद्वन्द्वी सन्तोषकुमारी थापा भन्दा २ हजार ९६ बढी मत प्राप्त गरिन्। 

यस पटकको राष्ट्रिय सभा निर्वाचनमा सबैभन्दा धेरै मतान्तरले निर्वाचित हुनेमध्येमा शाहपनि पर्छिन्। 

तर, चार वर्षअघि भएको प्रतिनिधि सभा निर्वाचनमा तिनै शाह कैलाली-१ बाट ठूलो मतान्तरसहित पराजित भएकी थिइन्। उनलाई हाल जेलमा रहेका तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार रेशमलाल चौधरीले पराजित गरेका थिए।

सो निर्वाचनमा शाहले वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवारको रुपमा कैलाली-१ मा प्रतिस्पर्धा गरेकी थिइन्।  

राजपा उम्मेदवार चौधरीले त्यो निर्वाचनमा ३४ हजार ३ सय ४१ मत प्राप्त गरी विजयी भएका थिए। टीकापुर हत्याकाण्डका एक आरोपी चौधरीले वारेशमार्फत उम्मेदवारी दर्ता गरी भूमिगत रुपमै निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। 

भूमिगत रुपमै प्रतिस्पर्धा गरी विजयी बनेका चौधरीको निकटतम प्रतिस्पर्धी  एमाले उम्मेदवार शाहले १३ हजार ४ सय ६ मतमात्र प्राप्त गरेकी थिइन्। 

यस हिसावले विजयी राजपाका चौधरी र एमाले उम्मेदवार शाहबीचको मतान्तर  २० हजार ९ सय ३५ थियो।  

तेस्रो स्थानमा कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने थिइन्। न्यौपानेले  ११ हजार २ सय ३ मत प्राप्त गरेकी थिइन्। 

त्यो बेला शाहलाई झण्डै २१ हजार मतान्तरले विजयी चौधरी यतिबेला डिल्लीबजार कारागारमा छन्। संसद सदस्यका रुपमा शपथ ग्रहण गरेपनि उनले प्रतिनिधि सभाको बैठकमा भने भाग लिन पाएका छैनन्।

टीकापुर हत्याकाण्ड लगत्तै आरोपी चौधरीलाई उन्मुक्ति दिन नहुने पक्षमा आवाज उठाउने अग्रपंक्तिमा एमाले थियो। तर, अहिले एमाले नै चौधरीलाई पार्टी प्रवेश गराउने तयारीमा रहेको चर्चा राजनीतिक वृत्तमा छ। 

जेलमा रहेका चौधरीले १९ पुषमा श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा  नागरिक उन्मुक्ति पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गरेका छन्। 

जेलबाट रिहा भएलगत्तै एमालेसँग एकता गर्ने तयारी स्वरुप ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेको बताइएको छ। 

चौधरी एमाले प्रवेश गर्ने तम्तयारीमा रहेका बेला तिनै चौधरीसँग पराजित शाह भने एमाले उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गर्दै राष्ट्रिय सभामा पुग्न सफल भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .