ad ad

राजनीति


कोइराला परिवारको ‘कोपभाजन’ मा परेका शर्मा पहिलो पटक सांसद

कोइराला परिवारको ‘कोपभाजन’ मा परेका शर्मा पहिलो पटक सांसद

केशव सावद
माघ १२, २०७८ बुधबार १७:५०, काठमाडौँ

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला परिवारको ‘कोपभाजन’ मा परेका बाँके कांग्रेसका पूर्वसभापति युवराज शर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। 

विद्यार्थी राजनीतिमा एकसाथ लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौं पटक मुलुकको नेतृत्व गरिरहँदा उनी लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्। 

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बुधबार लुम्बिनी प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट शर्मा राष्ट्रिय सभा सदस्यमा विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ।

बुधबार दिउँसोसम्म भएको मतदानपछि गरिएको गणनामा उनीसँगै पाँच दलीय गठबन्धनमा रहेका दलहरु नेकपा (एकीकृत समाजवादी) की राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा (राजेश) पनि विजयी भएका छन्।

लुम्बिनीमा एक्लै चुनावी मैदानमा उत्रिएको नेकपा एमालेका तीनै उम्मेदवार हारेका छन्। एमालेले भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्तालाई उठाएको थियो। 

लुम्बिनीमा विजयी भएका सत्तारुढ गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन्। उता पराजित एमाले उम्मेदवारले ३३१२ मात्रै मतभार पाएको निर्वाचन कार्यालयले जनाएको छ।

शर्मा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा २०२८ सालमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को सभापति हुँदा उपसभापति थिए। 

सभापति देउवा नेतृत्वको नेविसंघको केन्द्रीय कार्यसमितिमा पूर्वाञ्चलबाट अशोक कोइराला, मध्यमाञ्चलमा दामोदर गौतम र मध्य तथा सुदूरपश्चिमबाट उनी केन्द्रीय उपसभापति थिए। 

नेविसंघका तत्कालिन सभापति देउवा दोस्रो पटक पार्टी सभापति र पाँचौ पटक प्रधानमन्त्री हुँदा तत्कालीन उपसभापति शर्मा भने पहिलो पटक संसदीय पदमा निर्वाचित भएका हुन्। 

२०४६ सालको जनआन्दोलनका बेला शर्मा कांग्रेस बाँकेको सभापति थिए। २०४५ देखि २०४९ सम्म उनी जिल्ला सभापति भएका थिए। त्यसपछि भने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यबाहेक शर्मा न पार्टीको कार्यकारी भूमिकामा नै रहे, न त संसदीय पदमा नै। 

सुशील कोइरालासँग शर्माको सुरुमा राम्रै सम्बन्ध थियो। पछि वैचारिक द्वन्द्व बढ्दै गयो। सुशील कोइरालासँगको द्वन्द्वका कारण उनी गिरिजाप्रसाद कोइरालाबाट पनि रुचाइएनन्। त्यसैले उनले संसदीय निर्वाचनमा टिकट पाएका थिएनन्। 

२०५१ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके–२ मा कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएपछि शर्माको सुशीलसँग सम्बन्ध चिसिएको थियो। उनले विद्रोह गरेकै कारण उक्त निर्वाचनमा सुशील पराजित भएका थिए।

कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य सुशीललाई पार्टीले उम्मेदवार बनाएपछि शर्माले विद्रोह गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार शान्ति शमशेर प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। 

सभापति देउवासँगै विद्यार्थी राजनीति सुरु गरेका शर्मा कांग्रेसको राजनीतिमा कसरी पछि परे त? कांग्रेस नेता तथा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री सुरेन्द्र हमाल भन्छन्, ‘विद्रोह गरेपछि विधानतः पाँच वर्ष पार्टीको कारबाहीमा पर्नुभयो। त्यसले ठूलो असर गर्यो।’

२०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा विद्रोही उम्मेदवार बनेका कारण कारबाहीमा परे पनि शर्माले अन्य पार्टीमा प्रवेश भने नगरेको मन्त्री हमालले जानकारी दिए। 

‘उहाँ कांग्रेस छाडेर कतै जानु भएन। कांग्रेसमै बस्नु भयो,’ उनले नेपालखबरसँग भने, ‘पछि सुशील दाइ रहँदासम्म बाँके १ बाट कसैले पनि सांसदको टिकटका लागि प्रयास गरेनन्। गर्ने कुरो पनि थिएन।’

केन्द्रीय सदस्यबाट महामन्त्री, कार्यवाहक सभापति हुँदै कांग्रेसको नेतृत्व गरिसकेका सुशीलको निधनपछि २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्र कांग्रेससँगको चुनावी तालमेलमा राप्रपाको भागमा परेको थियो।

मन्त्री हमालका अनुसार २०७४ को निर्वाचनमा बाँके–२ बाट राप्रपाले ओमप्रकाश आजादलाई उम्मेदवार बनाएको थियो। तर, उक्त निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी भएका थिए। 

२०७० सालको चुनावमा समानुपातिकबाट उम्मेदवार बने पनि तर सांसद बन्न सकेनन्। कांग्रेसको जिल्ला सभापति भएको झण्डै ३ दशकपछि शर्मा बल्ल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।

विद्यार्थी जीवनमा नेविसंघको राजनीतिमा सक्रिय शर्मा २०२५ सालतिर बीपीलाई भेट्न छिमेकी मुलुक भारत गएका थिए। पञ्चायतविरोधी आन्दोलनको क्रममा उनी पटक पटक गरी तीन÷चार वर्ष जेल समेत बसेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .