नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाभियोग प्रकरणमा आफ्नो पार्टीले आवेग र उत्तेजनामा होइन, सुझबुझपूर्ण रूपमा निर्णय गर्ने बताएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘हामी आवेश र उत्तेजनामा आएर निर्णय गर्दैनौं। नेतृत्वले सुझबुझपूर्ण निर्णय लिन्छ।’
बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष ओलीले परिस्थितिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सत्ता गठबन्धन कसरी प्रस्तुत हुन्छ, त्यस आधारमा निर्णय गर्ने बताएका छन्।
‘हामी तत्कालीन परिस्थिति हेरेर निर्णय गर्छौं’, ओलीले भने, ‘आवेग र प्रतिशोधमा होइन।’
सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आइतबार संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेपछि आक्रोशित एमालेले ‘काउन्टर’का लागि सर्वाेच्च अदालतका चार न्यायाधीश (जसले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेका थिए) लाई महाभियोग लगाउने चर्चा चलिरहेका बेला अध्यक्ष ओलीबाट संयमित अभिव्यक्ति आएको हो।
Shares
प्रतिक्रिया