ad ad

राजनीति


भारतको समस्या : सीमा जोडिएका सबैसँग किचलो

भारतको समस्या : सीमा जोडिएका सबैसँग किचलो

मणि दाहाल
मंसिर ३, २०७६ मंगलबार १३:३६,

यस वर्षको रामनाथ गोयन्का लेक्चरमा भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले सीमा विवाद अझैसम्म सुल्झाउन नसक्नु भारतको कमजोरी भएको स्वीकार गरे।

छिमेकीहरुसँग भारतको सीमा विवादका कारण यस क्षेत्रमा  सधैँ तनाव देखिने गरेको छ।

कालापानीसहित नेपालको उत्तर पश्चिमतर्फको सीमा क्षेत्रको भूभाग भारतले क्षेत्रभित्र पारेर नक्सा प्रकाशित गरेपछि नेपालमा त्यसको तीव्र विरोध भएको छ।

चीन र पाकिस्तानसँग सिमानाकै विषयमा भारतले युद्ध समेत लडिसकेको छ भने विवाद यथावत् छ। बंगलादेशसँग भने सीमा विवाद उसले सन् २०१५ मा टुंग्याएको छ। श्रीलंका र भारतबीच सीमा सम्झौता भएपनि विवाद अझै कायम छ।

भुटानसँग भने चीनको सीमा विवाद रहेको छ । सन् २०१७ मा चीन र भुटानबीचको विवादास्पद क्षेत्र दोक्लममा चिनियाँ सेनाको सडक निर्माण कार्य रोक्न भारतीय सेना पुगेपछि तनाव सुरु भएको थियो। ७२ दिन आमनेसामने भएपछि दुवै देशका सैनिक सो क्षेत्रबाट पछि हटेका थिए।

भारतले आफ्नो नियन्त्रणमा रहेको जम्मु तथा कस्मिरलाई टुक्र्याएर मुलुकको राजनीतिक नक्सा परिवर्तन गरेपछि सीमा विवाद नयाँ शिराबाट सुरु भएको छ।

अक्टोबर ३१ बाट भारतको गृहमन्त्रालयले नयाँ नक्सा जारीको विषयमा पाकिस्तान र चीनले पनि विरोध गरेका छन्।

सीमामा किचलो भइरहने हुनाले भारत र उसका छिमेकी मुलुकले सीमा सुरक्षाका लागि ठूलो धनराशी खर्च गर्दैै आएका छन्।

भारत–चीन
सन् १९६० मा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइ भारतसँग सीमा समस्या समाधान गर्ने प्रस्ताव लिएर नयाँ दिल्ली पुगेका थिए। तर, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले यसमा अनिच्छा देखाए।

त्यसको अर्को वर्ष नेपाल र चीनबीच सीमा सम्झौता भयो। तर, भारत–चीन सीमा विवाद भने चर्किँदै गयो। अन्ततः भारत र चीनबीच १९६२ मा युद्ध समेत भयो, जसमा चिनियाँ पक्ष विजयी भएको थियो।

भारत र चीनबीच पूर्व र पश्चिम दुवैतर्फ सीमा विवाद छ। पूर्वमा भारतले अरुणाचल प्रदेश भन्ने गरेको भूभागलाई चीनले दक्षिण तिब्बत भन्छ र त्यो आफ्नो भएको दाबी गर्छ। गत वर्षमा मात्रै चीनले अरुणाचल क्षेत्रमा पार्ने विभिन्न क्षेत्र र भूभागको चिनियाँ नामाकरण समेत गरेको थियो। यो सीमा विवादको जरो भने बेलायती उपनिवेशकालसम्म पुग्छ।

सीमाका विषयमा अंग्रेज, तिब्बती र चिनियाँ पक्षबीच १९१४ मा सिमलामा वार्ता भएको थियो। सो वार्तामा बेलायती प्रशासक हेनरी म्याकमोहनको प्रस्तावमा तिब्बत र ब्रिटिस भारतबीच सीमा रेखा कोरियो। तिब्बत त्यसमा सहमत भएर सन्धिमा हस्ताक्षर गरेपनि चीनले त्यसलाई स्वीकार गरेको थिएन। सो सन्धिप्रति असहमति व्यक्त गर्दै उसले वार्ता बहिस्कार गरेको थियो।

यो सिमारेखालाई म्याकमोहन लाइन भनेर चिनिन्छ। जुन आफूलाई मान्य नहुने चीनले बताउँदै आएको छ। यद्यपि चीन र भारतबीच नयाँ सीमा रेखा कोर्ने विषयमा अहिलेसम्म सहमति हुन सकेको छैन।

त्यसैगरी, पश्चिमतर्फ चीनको नियन्त्रणमा रहेको अक्साइ चीनको क्षेत्रमाथि भारतले दावी गर्दै आएको छ। पहिले जम्मु तथा कस्मिरभित्र पर्ने सो क्षेत्र चीन र पाकिस्तानबीच सम्झौता भएपछि चीनको नियन्त्रणमा गएको हो। यो क्षेत्रलाई भारतले हालै जारी गरेको नक्सामा लद्दाखभित्र राखेको छ । भारत चीनबीच तीन दशकदेखि सीमा विवाद समाधान गर्ने वार्ता चल्दै आएको छ। तर सामाधान निस्कन सकेको छैन। यी दुई देशबीच करिब ३ हजार ५ सय किलोमिटर लामो सीमा छ।

एक अर्को प्रति अविश्वास र आन्तरिक राजनीतिक कारणले दुवै देशबीच सीमा विवाद समाधान गर्ने विषयमा ठोस प्रगति हुन सकेको छैन। दुवै देशले विवाद समाधानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरेका छन्। जसमा चीनबाट स्टेट काउन्सिलर र भारतबाट राष्ट्रिय सुरक्षा सल्लाहकारले नेतृत्व गर्ने गरेका छन्।

भारत–पाकिस्तान
विभाजनकै समयदेखि भारत र पाकिस्तानबीको सीमा विवाद छ। बेलायती साम्राज्यबाट स्वतन्त्र बनेसँग विभाजित भएका भारत र पाकिस्तान दुवैले कस्मिरको पुरै भूभागमाथि आफ्नो सार्वभौमिकता दाबी गर्दछन्। तर, कस्मिरको भूभाग भने भारत, पाकिस्तान र चीनको अधीनमा छ।

भारत र पाकिस्तानबीच भएको तीन प्रमुख युद्धमध्ये दुई वटा कस्मिरको विषयलाई लिएर भएको थियो। विवादको कारण भारत र पाकिस्तानबीच सीमाकंन हुन सकेको छैन। दुवैको प्रशासनिक क्षेत्रलाई लाइन अफ कन्ट्रोल (एलओसी)ले छुट्टयाएको छ।

परमाणु हतियारयुक्त दुवै देशबीच सीमा क्षेत्रमा निरन्तर रुपमा गोली हानाहान हुने गरेको छ। जसमा दुवैपक्षका सैनिक मर्ने क्रम निरन्तर जारी छ। दुवैले कस्मिरमा लाखौँ सेना तैनाथ गरेका छन्।

भारत–नेपाल
नेपाललाई तीनतिरबाट घेरेको भारतले सयौं स्थानमा अतिक्रमण गरेको छ। जसमा मुख्य रुपमा नवलपरासी जिल्लाको सुस्ता र उत्तर पश्चिम क्षेत्रका कालापानी, लिपुलेक र लिम्पियाधुरा छन्। सन् १९१६ को सुगौली सन्धिले महाकाली नदीलाई सीमा नदी मानेको छ। तर भारतले क्रमशः अतिक्रमण गर्दै आएको छ।

यीबाहेक अन्य क्षेत्रमा दशगजा सार्ने, भारतीय सीमा सुरक्षा बल अनधिकृत रुपमा नेपाल प्रवेश गर्नेजस्ता घटना हुँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .