ad ad

राजनीति


काठमाडौंमा हलो बोकेर हिँडेका राप्रपाका ‘जेटिए बाबु’

काठमाडौंमा हलो बोकेर हिँडेका राप्रपाका ‘जेटिए बाबु’

फाइल तस्बिर


सीताराम बराल
बैशाख १५, २०७९ बिहिबार १४:३३, काठमाडौँ

वि.सं. २०४८, ०५१ र ०५६ का तीन संसदीय निर्वाचनमा लगातार काठमाडौँबाट पराजित भए पनि ०६४ मा माओवादीको लहरका बाबजुद काठमाडौँ-१ बाट कांग्रेस नेता प्रकाशमान सिंहले विजय हासिल गरे।  

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा पनि सिंह यही निर्वाचन क्षेत्रमा उम्मेदवार थिए। यही क्षेत्रमा ‘दुई तिहाई बहुमत’ को महत्वाकांक्षा बोकेको एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कै पुत्री रेणु दाहाल पनि उम्मेदवार थिइन्।

रेणुको आक्रामक प्रचार अभियानलाई निस्तेज पार्न कांग्रेस नेता सिंहले स्वतन्त्र र अन्य पार्टीका थुप्रै व्यक्तित्वलाई नेपाली कांग्रेसमा प्रवेश गराए। कांग्रेस प्रवेश गर्नेमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ पनि थिए। 

तिनै श्रेष्ठ आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवार बनेका छन्।

जसले मदनदासलाई ९ वर्षअघि नेपाली कांग्रेसमा प्रवेश गराएको थियो, तिनै प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहसँग प्रतिस्पर्धा गर्नुपर्ने संयोग कलाकार श्रेष्ठलाई जुरेको छ।    

सोह्र वर्षको उमेर (जन्म : २००५) मा नाट्यकर्मी कृष्णप्रसाद रिमालको ‘लहना’ नाटकबाट काठमाडौँमा औपचारिक अभिनययात्रा थालेका श्रेष्ठ विशेषगरी पुरानो पुस्ताका नेपालीमाझ रेडियो नेपालबाट प्रसारित हुने नाटकका दुई पात्रमा गरेको अभिनयका कारण चर्चित र लोकप्रिय रहे।   

त्यसमध्ये पहिलो कृषि नाटक कार्यक्रममा ‘जेटिए बाबु’ का रुपमा उनले गरेको अभिनय हो। त्यसअगावै उनी दशैँमा प्रसारित हुने रेडियो नाटक कार्यक्रममा महिषासुर। रावणको भूमिकामा गरेको अभिनयबाट चर्चित भइसकेका थिए। 

रेडियो नाटकमा महिषासुर। रावणको अभिनय गर्दा उनको अट्टहास स्रोताहरु माझ निकै लोकप्रिय थियो। त्यही अट्टहासका कारण उनी नाटक र कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भए।  

नेपाली रङ्गमञ्चका बरिष्ठ हस्ती, रेडियो कार्यक्रमहरु मार्फत् उनले कमाएको ख्याति र लोकप्रियताका कारण राप्रपाले संयुक्त गठबन्धनकी उम्मेदवार सिर्जना सिंह र एमाले उम्मेदवार केशव स्थापितजस्ता ‘हेबिवेट’ विरुद्ध राप्रपाले बरिष्ठ कलाकार श्रेष्ठलाई काठमाडौँको चुनावी मैदानमा उतारेको हो। 

राजनीतिमा मदनदासको सक्रियता शून्य होला। तर, कला क्षेत्रमा पुर्याएको योगदानका कारण उनको व्यक्तित्व कम ‘हेबिवेट’ छैन।  

व्यक्तित्वका दृष्टिले श्रेष्ठ कांग्रेस र एमालेका उम्मेदवारजस्तै ‘हेबिवेट’ भए पनि काठमाडौँ महानगरको हकमा राप्रपा ‘हेबिवेट’ दल होइन। 

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिकतर्फ काठमाडौँमा राप्रपा पहिलो दल बनेको थियो। राप्रपाप्रतिको यही आकर्षणका आधारमा ०७४ को स्थानीय तह निर्वाचनमा एमालेले यहाँ राप्रपासँग चुनावी तालमेल गर्यो। 

तर, एमाले उम्मेदवार विद्यासुन्दर शाक्य करिव ६५ हजार मतसहित विजयी हुँदा उपमेयरमा राप्रपा उम्मेदवार राजाराम श्रेष्ठले भने ३५ हजार मतमै चित्त बुझाउनुपर्यो। करिव ५९ हजार मत प्राप्त गरेकी कांग्रेस उम्मेदवार हरिप्रभा खड्गी काठमाडौँको उपमेयरमा विजयी भएकी थिइन्।

बहुदलीय व्यवस्था पुनःस्थापनापछिका स्थानीय निर्वाचनमा काठमाडौँ महानगरमा राप्रपाले उम्दा प्रदर्शन गर्न सकेको छैन। २०४९ को पहिलो स्थानीय निर्वाचनमा ३५ मध्ये काठमाडौँका कुनै पनि वडामा राप्रपा उम्मेदवार विजयी हुन सकेनन्। 

०५४ को स्थानीय निर्वाचनमा भने नक्साल क्षेत्र समेटिएको वडा नं १ बाट योगेन्द्रकुमार शाक्य विजयी भएका थिए। ०७४ को स्थानीय चुनावमा पनि राप्रपाले महानगरका एउटै वडाध्यक्ष जितेन।

आउँदो ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा अन्यत्र जस्तै काठमाडौँ महानगरमा मतसंख्या बढ्ने राप्रपा नेताहरुको दावी छ। तर, महानगरपालिकाभित्र जीतकै परिणाम निस्कने अपेक्षा भने राप्रपा नेताहरुलाई छैन। 

जितको सम्भावना नरहे पनि आफ्नो परम्परागत मत जोगाउन राजनीतिक दलहरुले उम्मेदवार उठाउने गरेका छन्। श्रेष्ठलाई राप्रपाले त्यही परम्परागत मतको रक्षा र उनको व्यक्तित्वका कारण थप मत पनि हासिल हुनसक्ने अपेक्षाका साथ उम्मेदवार बनाएको हो। 

‘देशव्यापी यसपटक हाम्रो मत संख्यामा बढोत्तरी हुनेछ, काठमाडौँको मेयरमा श्रेष्ठको उम्मेदवारी बढोत्तरी हुने त्यही मत रक्षाका लागि हो’ राप्रपाका एक नेताले नेपालखबरसँग भने, ‘जित्ने स्थिति पक्कै छैन। श्रेष्ठको व्यक्तित्वका कारण मतसंख्यामा बढोत्तरी हुने विश्लेषणका साथ उहाँलाई अघि सारेका हौँ।’  

श्रेष्ठको उम्मेदवारीले पार्ने सकरात्मक असरबारे राप्रपा नेताहरुको यो विश्लेषण गलत छैन। किनभने, एउटा ठूलो प्रौढपुस्ता काठमाडौँ महानगरको मतदाता समूह हो, जो रेडियो सुनेर हुर्केको थियो। त्यो पुस्तामाझ श्रेष्ठ ‘जेटिए बाबु’, ‘महिषासुर/रावण’ को भूमिकामा अभिनय गरेका कारण मदनदास श्रेष्ठ निकै लोकप्रिय थिए। 

उनको यही लोकप्रियताका कारण कुनै राजनीतिक दलप्रति आवद्ध नभएका  यो प्रौढपुस्ताको मत उनले हासिल गर्न सक्ने सम्भावना छ। 

उनको उम्मेदवारीसँग उनलाई लोकप्रिय बनाउने ‘जेटिए बाबु’ र ‘रावण’ को भूमिकाले तादम्य राख्छन्। किनभने, कृषिसँग सम्बन्धित ‘जेटिए बाबु’ सँग मिल्दोजुल्दो ‘हलो’ उनको चुनाव चिन्ह हो। विडम्बना पनि कस्तो ! काठमाडौं उपत्यकामा गोरु नारेर हलो जोत्न नपाइने सांस्कृतिक परम्परा छ !

यसपालि काठमाडौंको निर्वाचन परिणाम मदनदास अभिनित ‘महिषासुर/रावण’ सँग मेल खाने देखिन्छ। किनभने, रामायणले ‘महिषासुर/रावण’ विजयको परिकल्पना गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .