ad ad

राजनीति


देउवाजीले सत्ता गठबन्धन दशकौँ जान्छ भन्नुभयो, हामी ढुक्क भयौँ : प्रचण्ड

अघि बढ्ने या पछि हट्ने कुराको छिनोफानो यो निर्वाचनले गर्छ
देउवाजीले सत्ता गठबन्धन दशकौँ जान्छ भन्नुभयो, हामी ढुक्क भयौँ : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०७९ सोमबार १५:१२, धनगढी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि बढ्ने या पछि हट्ने निर्णय यो निर्वाचनले गर्ने बताएका छन्। 

धनगढीमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा दाहालले यस्तो बताएका हुन्। 

'निर्वाचन एउटा पार्टी र उम्मेदवारलाई रोज्ने मात्रै नभइ अगाडि बढ्ने र पछाडि हट्ने छिनोफानो पनि हो', उनले भने, 'गठबन्धनको जित भयो भने देश विकास र स्थिरतातिर जान्छ, नत्र अस्थिरता आउन सक्छ।' 

अहिलेको अवस्थामा सत्ता गठबन्धन एकातिर र एमाले अध्यक्ष केपी शर्मा ओली अर्कातिर रहेको उनले बताए। 

'सत्ता गठबन्धन एकातिर र अर्कातिर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको समूह छ। ओलीसँग एमाले, राजावादी, अतिवादी र प्रतिगामीहरु छन्', उनले भने,  '२०१७ साल दोहोर्‍याउने कडीका रुपमा ओलीले संसद विघटन गरेका थिए। अहिले पनि निर्वाचनमार्फत उनले टाउको उठाउन खोज्दैछन्।'

दाहालले वामपन्थी र प्रजातन्त्रवादी झगडा गर्दा देशले दु:ख पाएको बताए। 'समझदारी हुँदा शान्ति भएको छ, संविधान बनेको छ, राजा र पञ्चायत पनि ढलेको छ', उनले भने, 'तर अहिले पनि शीर्ष नेताहरुबीच असझदारी बनाउने कोशिश भइरहेको छ।'

प्रचण्डले स्थानीय मात्रै नभएर प्रदेश र संघीय निर्वाचनमा पनि सँगै जाऊँ भन्ने प्रस्ताव देउवाले गरेको पनि बताए। 

तर उनले एमालेले लगातार संसद अवरोध गरिरहेको बताउँदै आक्रोश पोखे। '६/७ महिनादेखि सदन अवरुद्ध गरिएको छ। तिनै तत्वहरुले प्रतिगामी कदम चालेर संसद विघटन गरिदिए', उनले भने, 'लगातार अवरोधको स्थितिमा राखिएको छ।'

तर आज तिनै विचारका मानिसहरु निर्वाचन प्रक्रियामार्फत गठबन्धन, संविधान र लोकतन्त्रविरुद्ध गतिविधि बढाउँदै लगेका पनि उनले जिकिर गरे।

'हामीले विस्तृत शान्ति सम्झौता र जनआन्दोलनका उपलब्धी रक्षा गर्ने या प्रतिगमनलाई उठ्न दिने फैसला हुँदैछ', उनले थपे, 'ठूलो संघर्षको विषय बनेको छ यो निर्वाचन। वाम शक्ति र लोकतन्त्रवादी शक्तिहरु एक भएर तानाशाहीविरुद्ध उठ्दा पञ्चायत ढल्यो। अहिले पनि मिल्नुको विकल्प छैन।'

वामपन्थी र नेपाली कांग्रेसले अस्वस्थ प्रतिस्पर्धा गर्दा जनयुद्ध भएर हजारौँले ज्यान गुमाएको उनले बताए। 'तर यिनै शक्तिले फेरि समझदारी गर्दा हिजो समस्या हटे गयो', उनले भने, 'लोकतान्त्रिक वाम गठबन्धनका रुपमा हामी अघि बढेका छौँ। त्यसैले हामीलाई जिताउनुको विकल्प छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .