ad ad

राजनीति


भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणअघि सीमानाकामा उच्च सुरक्षा सतर्कता

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणअघि सीमानाकामा उच्च सुरक्षा सतर्कता

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १८:३२, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणअघि भारत—नेपाल सीमामा सुरक्षा सतर्कता बढाइएको छ। 

भारतबाट नेपाल छिर्ने मुख्य नाकामा सुरक्षा व्यबस्था अत्यन्त कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

लुम्बिनीसँग सीमा जोडिएको उत्तरप्रदेशका प्रहरी अधिकारीले भारत—नेपाल सीमामा विशेषगरी रातीमा हुनसक्ने घुसपैठ रोक्न प्रहरी गस्ती र आवश्यक निगरानी बढाइएको बताएका छन्।

उत्तरप्रदेश प्रहरी र शशस्त्र सीमा बलले सुरक्षा सतर्कता बढाएका हुन्। 

प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनीमा हुने बौद्ध जयन्ती विशेष समारोहमा सहभागी हुन आउँदैछन्। प्रधानमन्त्री शेर बहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनीको एक दिने औपचारिक भ्रमणमा आउन लागेका हुन्। 

मोदी सोमबार बिहान नयाँदिल्लीबाट कुशीनगर अन्र्तराष्ट्रिय विमानस्थलसम्म जहाजमा र त्यहाँबाट लुम्बिनीसम्म हेलिकोप्टरमा अवतरण गर्नेछन्। बिहान ११ बजेतिर मोदी सहितको भारतीय उच्चस्तरीय प्रतिनिधिमण्डल लुम्बिनी उत्रने तय भएको छ। मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गत बिहीबार भएको थियो। 

आउटलुकसँग कुराकानी गर्दै उत्तरप्रदेशका शशस्त्र प्रहरीका डिआइजी मन्जित सिंह पड्डाले नेपाल—भारत सीमामा आतंककारीको सम्भावित आवागमन रोक्न सुरक्षा निकायलाई नेपाल—भारत सीमामा कडा निगरानी गरिएको बताएका छन्। उनका अनुसार सीमाबाट वारपार गर्नेको पहिचान खोज्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ।  

‘एसएसबीका पोस्टका अतिरिक्त नेपाल छिर्ने मुख्य नाकामा सिसिटिभी क्यामरा जडान गरिएको छ। लागूऔषध र हतियारको पहिचान गर्ने कुकुरहरू समेत परिचालित गरिएको छ। त्यसैगरी महिला प्रहरी पनि खटाइएको छ’ प्रहरी अधिकारी पड्डाले आउटलुकसँग भनेका छन्। 

नेपालसँग सीमा जोडिएका सुनौली र ठुटीबारी सुरक्षा जाँच चौकी तथा अन्य सुरक्षा पोस्टमा मेटल डिटेक्टर तथा ब्याग स्क्यानरहरु जडान गरिएको पड्डाले बताएका छन्। भारतका गुप्तचर एजेन्सिलाई सीमा क्षेत्रका सबै धार्मिक स्थलमा खटाइएको छ। 

एसएसबीच तथा भारतीय प्रहरीलाई नेपालसँग सीमा जोडिएका उत्तरप्रदेशका महाराजगञ्ज, सिद्धार्थनगर र बलरामपुरमा उच्च सतर्कतामा राखिएको छ।

लुम्बिनी र उत्तरप्रदेशबीच ५९९.३ किलोमिटर लामो खुला सीमा छ। उत्तरप्रदेशका पिलिभित, लखिमपुर खेरी, बहराइच, स्रवस्ती, बलरामपुर, सिद्दार्थनगर र महाराजगञ्ज जिल्लासँग नेपालको सीमा जोडिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .