स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदा गठबन्धनको दल नेपाली कांग्रेसले अग्रता फराकिलो बनाउँदै लगेको छ।
कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ।
यो समाचार तयार पार्दासम्मको परिणाम अनुसार कांग्रेसले २ सय २५ स्थानीय तहमा अग्रता लिएको छ। यस्तै एमालेले १ सय ५१ तहमा अग्रता लिएको छ।
गठबन्धनको अर्काे घटक माओवादी केन्द्रले भने अहिलेसम्म ८५ स्थानीय तहमा अग्रता कायम राखेको छ।
गठबन्धनको अर्काे घटक नेकपा एकीकृत समाजवादी पार्टी १० तहमा अग्रता कायम गर्दा जनता समाजवादी पार्टी (जसपा)ले १४ स्थानमा अग्रता लिएको छ।
२०७४ मा एमालेले २ सय ९८ स्थानीय तह जितेर पहिलो दल बनेको थियो, तर २०७९ को स्थानीय तह निर्वाचनमा भने एमालेले पुरानो बर्चस्व जोगाउन कठिन देखिएको छ।
यस पटकको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ।
एमालेले पनि राप्रपा नेपाल, नेपाल परिवार दल लगायतसँग गठबन्धन बनाएको छ।
निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको नतिजा अनुसार अहिलेसम्म १३ तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। जसमा एमालेले ६ तह जितेको छ।
नेपाली कांग्रेसले ४, माओवादी केन्द्रले २, एकीकृत समाजवादीले २ तह जितेको छ।
यसैबीच काठमाडौं महानगरसहित जनकपुर उपमहानगरपालिका, काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारलाई चुनौति दिइरहेका छन्।
७ सय ५३ वटै स्थानीय तहमा शुक्रबार निर्वाचन थियो।
अहिलेसम्म देशका ५ सय २३ स्थानीय तहको मतगणना भइरहेको छ। आयोगका अनुसार विभिन्न कारणले २ सय ३० तहको भने मतगणना भएको छैन।
शुक्रबार रातीदेखि केही स्थानीय तहमा मतगणना सुरु भएपनि अधिकांश तहको शनिबार बिहानबाट मतगणना भएको हो।
काठमाडौं, भरतपुर, विराटनगर, बीरगञ्ज, पोखरा र ललितपुरको मतगणना निकै ढिलो भइरहेको छ।
प्रतिक्रिया