राजनीति


दुई उपमहानगरले जाेगाए शंकर पोखरेलको प्रतिष्ठा

दुई उपमहानगरले जाेगाए शंकर पोखरेलको प्रतिष्ठा

सुदीप भण्डारी
जेठ १२, २०७९ बिहिबार १४:५५, बुटवल

शंकर पोखरेलको गृहजिल्ला दाङमा उनको पार्टी नेकपा एमाले संख्यात्मक रुपमा कमजोर देखिएका छ। जिल्लाका ७ वटा गाउँपालिका मध्ये एउटामा उपाध्यक्ष जितेको छ। अध्यक्ष जितेको छैन। त्यस्तै लमही नगरपालिकामा पनि एमाले पराजित भएको छ। ४ वटा गाउँपालिका र लमही नगरपालिका नेपाली कांग्रेसले जितेको छ भने माओवादी केन्द्रले ३ वटा गाउँपालिकाको जितेको छ। 

अन्य पालिका हारेर संख्यात्मक हिसाबले दाङमा एमाले कमजोर देखिएको छ, तर दुईवटा महत्वपूर्ण शहर तुलसीपुर र घोराही उपमहानगर जितेर एमाले जिल्लामा गुणात्मक रुपमा बलियो भएको छ। 

घोराही उपमहानगरपालिकामा यसअघि नै एमालेबाट नरुलाल चौधरीले मेयर र हुमा डिसीले उपमेयर जितिसकेका छन्। 

अर्को उपमहानगर तुलसीपुरमा पनि एमाले विजयी भएको छ। यहाँ टीकाराम खड्का मेयर र स्यानी चौधरी उपमेयरमा विजयी भएकी छन्। अरु पालिकामा पराजय भएपनि दुई उपमहानगरको विजयले एमाले महासचिव तथा लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेलेको प्रतिष्ठा बढाएको छ।  

तुलसीपुरमा एमालेले बहुमत वडा समेत जितेको छ। १९ वटा वडा मध्ये १० वटा एमालेले जितेको छ। कांग्रेस ५ वटा वडामा मात्र विजयी भएको छ। माओवादी केन्द्रले ३ वटा र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। घोराहीमा १९ मध्ये एमालेले १३ वटा वडा जितेको छ। 

तुलसीपुरमा गठबन्धनको तर्फबाट कांग्रेसका गेहेन्द्र गिरि मेयर र एकीकृत समाजवादीका जोगबहादुर राना उपमेयरका उम्मेदवार थिए। घोराहीमा माओवादी केन्द्रका हेमराज शर्मा मेयर र कांग्रेसका भुपबहादुर डाँगी उपमेयरका उम्मेदवार थिए। 

दलले गठबन्धन गर्दा पनि एमाले दुई उपमहानगरमा बलियो बनेको छ। 

गठबन्धन हारेकोमा सबै भन्दा बढि चोट कांग्रेसलाई परेको छ। दुई शहरमा भएको हारबारे कांग्रेसले गम्भीर रुपमा समीक्षा गर्ने जिल्ला सभापति शंकर डाँगीले बताए। 

‘अहिले नै यसो भयो भनेर नभनून्, एउटा बैठक बसेर गठबन्धनको धारणा सार्वजनिक गर्छौं’ उनले भने। 

तुल्सीपुर र घोराहीमा एमाले विजयी हुनु मुख्य कारण शंकर पोखरेलको व्यक्तिगत प्रभावलाई मानिएको छ। पोखरेलको मुख्यमन्त्री कालका कारण दुई उपमहानगर एमालेलाई फाइदा भएको राजनीति शास्त्रको प्राध्यापन गरिरहेका सुदीप गौतमले बताए। 

‘राजधानी ल्याएको एउटा कुरा भयो। यहाँ बजेट ल्याएको कुराको फाइदा एमालेले लियो’ उनले भने। 

स्थानीय चुनावमा पोखरेल दुई उपमहानगरमै केन्द्रित भएका थिए। जसका कारण अन्य पालिकामा भने नतिजा कमजोर नै आयो। प्रदेशको राजधानी तोकिएको राप्ती गाउँपालिका र नजिकको लमही नगरपालिकामा भने एमाले पराजित भएको छ। 

अघिल्लो पटक एकल चुनाव लडेका कांग्रेस र माओवादी केन्द्रले यस पटक गठबन्धन गर्दा पनि उपमहानगर जित्न सकेनन्। 

दाङमा कांग्रेसका कार्यकर्ताले गठबन्धन गर्न खोजेका थिएनन्। केन्द्रबाट लादेका कारण गठबन्धन गर्नुपरेको थियो। दाङ १० वर्षे द्वन्द्वले प्रभावित जिल्ला हो। त्यसबाहेक द्वन्द्वका कारण रुकुम रोल्पा लगायतका जिल्लाबाट विस्थापित भएका ठूलो संख्याका मानिसहरु दाङमा छन्।

द्वन्द्वको घाउ सम्झेर दुई पक्षका मतदाताले एकले अर्कालाई स्वीकार्न सहज नभएकाले पनि गठबन्धन असफल भएको हुन सक्ने विश्लेषण गरिएको छ। 

२०७४ सालको चुनावमा पनि दुवै उपमहानगरपालिकामा एमाले नै विजयी भएको थियो। त्यसबेलाको नतिजाको हिसाब किताब गरेर जितिन्छ भन्ने आत्मविश्वास गठबन्धनका दलमा बढि देखिएको राजनीति शास्त्रको प्राध्यापन गर्ने गौतम बताउँछन्।

‘अघिल्लो तर्फको नतिजा हेरेर गठबन्धनका दलमा जितिहालिन्छ भन्ने भयो। त्यो अनुसार भएन’ उनले भने ‘अर्को तर्फ गठबन्धनका दलले मतदाता शिक्षा राम्रोसँग दिन सकेनन्। उनीहरु जतिले हारेका छन् त्यो भन्दा बढि मत बदर देखिन्छ।’ 

दुवै उपमहानगरमा कांग्रेसका पुरानै अनुहार दोहोरिँदा पनि एमालेलाई फाइदा भएको हो। तुलसीपुरका मेयरका उम्मेदवार गेहेन्द्र २०५६ सालमा सांसद जितेका थिए। उनी अघिल्लो पटक पनि मेयरका प्रतिस्पर्धी हुन्। 

घोराहीमा उपमेयर उठेका भुपबहादुर डाँगी अघिल्लो पटक मेयरका प्रतिस्पर्धी हुन्। पुरानै तर पराजित उम्मेदवार हुँदा पनि नयाँ पुस्तालाई आकर्षित गर्न नसकेको विश्लेषण गरिएको छ। 

दुई उपमहानगरको पराजयले माओवादी केन्द्रका कृष्णबहादुर महरालाई धक्का लागेको छ। जिल्लाका पश्चिमका पालिकाहरु जिताएर खुशी भएका कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरिलाई उपमहानगरको नतिजाले निराश बनाएको छ। 

२०७४ सालको चुनावमा एमालेबाट जितेका दुई जना प्रतिनिधि सभा सदस्य माधव नेपालको एकीकृत समाजवादीमा गएका थिए। तर एकीकृत समाजवादीले दाङमा स्थानीय चुनावमा प्रभाव देखाउन सकेन। यसबाट एकीकृत समाजवादीको नेता मेटमणि चौधरीलाई पनि कमजोर बनाएको छ। 

पालिकाहरुमा संख्यात्मक रुपमा कमजोर देखिएको एमाले वडाध्यक्ष जित्नेमा जिल्लामा पहिलो स्थानमा छ। दाङका कुल सय वटा वडा मध्ये एमालेले ४० वटा वडा जितेको छ। कांग्रेसले ३७, माओवादी केन्द्रले १९, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १/१ र स्वतन्त्र उम्मेदवारले दुई वटा वडा जितेका छन्। 

दुई उपमहानगर र जिल्लामा धेरै वडा जित्दा एमाले महासचिव शंकर पोखरेलले आफ्नो निर्वाचन क्षेत्र सुरक्षित राख्नुका साथै पार्टी भित्र पनि बलियो रहेको सन्देश दिएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .