ad ad

राजनीति


भारतदेखि स्वीटजरल्याण्डसम्म बालेनको चर्चा

भारतदेखि स्वीटजरल्याण्डसम्म बालेनको चर्चा

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार १९:५२, काठमाडौँ

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाह राष्ट्रिय चर्चाको विषय बनिरहेका छन्। स्थानीय तह निर्वाचनका स्वतन्त्र उम्मेदवार बालेनले ६१ हजार ६६७ मत सहित महानगर प्रमुखमा निर्वाचित भएको घोषणा शुक्रबार बिहानै भएको हो।

संघीय राजधानी काठमाडौमा परम्परागत राजनीतिक शक्तिका सशक्त उम्मेदवारलाई फराकिलो मतअन्तरले हराउँदै बालेन्द्र महानगरको प्रमुख पदमा विजयी भएको विषयलाई मुलुकभित्रका संचारमाध्यमले मात्र नभएर अन्तर्राष्ट्रिय मिडियाले समेत पछ्याएका छन्।

भारतको चर्चित पत्रिका जागरण अनलाइन संस्करणमा रैपर बालेंद्र शाह बनाए गए काठमांडू के नए मेयर, ढाई साल पहले किया था प्रत्याशी बनने का एलान शीर्षकको समाचार आएको छ। जुन समाचार भारतीय न्यूज एजेन्सी एनआईले तयार पारेको हो।

समाचारमा बालेन्द्रले भारतीय विश्वविद्यालयबाट स्नातक डिग्री हासिल गरेको कुरालाई उपशीर्षकमा समेटिएको छ। ‘बालेन्द्रले काठमाडौंको भिएस निकेतनबाट उच्च माध्यमिक शिक्षा पूरा गरे र हिमालयन ह्वाइट हाउस कलेजबाट इन्जिनियरिङ गरेका छन्। उनले भारतको एक विश्वविद्यालयबाट स्नातक डिग्री लिएर नेपालको विभिन्न जिल्लामा काम गरेका छन्’ समाचारमा बालेन्द्रको शैक्षिक पृष्ठभूमिबारे भनिएको छ।

समाचारमा बालेन्द्रले लौरो चुनाव चिन्हसहितको प्लेकार्ड लिएको तस्बिर राखिएको छ।

अंग्रेजी भाषाको दि प्रिन्ट अनलाइनले पनि बालेन्द्र निर्वाचित भएको समाचार छापेको छ। 'Nepali rapper Balendra Shah becomes new Mayor of Kathmandu' शीर्षकको समाचारमा बालेन्द्रको कालो चस्मा लगाएको तस्बिर सहितको समाचार दिइएको छ।

र्‍यापर बालेन्द्र शाह काठमाडौंको मेयरको निर्वाचित भएको समाचार युरोपेली मुलुक स्पेनको EFE न्यूज एजेन्सीले समेत प्रकाशित गरेको छ। समाचारको लिडमै बालेन्द्रको जितलाई नेपालको राजनीतिक वर्गका लागि चेतावनीको रुपमा ब्याख्या गरिएको लेखिएको छ।

‘काठमाडौंको मेयर पदमा शुक्रबार एक स्वतन्त्र उम्मेदवार, र्‍यापर र इन्जिनियरले परम्परागत दलका आफ्ना अनुभवी प्रतिद्वन्द्वीहरू विरुद्ध जित हासिल गरेका छन्, यो जित नेपालको राजनीतिक वर्गका लागि चेतावनीको रूपमा व्याख्या गरिएको छ’ समाचारमा भनिएको छ।

स्वीट्जरल्याण्डको स्वीस ब्रोडकास्टिङ् कर्पोरेशनको अनलाइनमा समेत सोही समाचार प्रकाशित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .