ad ad

राजनीति


घनश्याम भुसालमाथि गोकुल बास्कोटाको टिप्पणी : सही पार्टीमा लाग्नुपर्यो क्या (भिडियोसहित)

घनश्याम भुसालमाथि गोकुल बास्कोटाको टिप्पणी : सही पार्टीमा लाग्नुपर्यो क्या (भिडियोसहित)

नेपालखबर
जेठ २६, २०७९ बिहिबार २१:४६, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कटाक्ष गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीमाथि भुसालले गम्भीर आरोप लगाएका कारण पार्टीले स्पष्टीकरण सोध्नुपर्ने अवस्था आएको बास्कोटाले बताएका छन्।

एमाले स्थायी कमिटी सदस्य भुसालले एउटा टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष ओलीको आलोचना गरेका थिए। स्थानीय तह निर्वाचनमा अध्यक्ष केपी ओलीकै कारण कमजोर नतिजा आएको भुसालले बताएका थिए। त्यही कारण भुसाललाई एमालेको अनुशासन आयोगले स्पष्टीकरण सोध्न सचिवालयमा पत्राचार गरेको छ। यद्यपी सचिवालयको बैठक भने बसिसकेको छैन।

भुसालमाथि कारवाहीको तयारी भएसँगै एमालेभित्र खैलाबैला मात्र मच्चिएको छैन, केही नेताहरुले खुलेरै पार्टी निर्णयप्रति आपत्ति जनाएका छन्। कतिपयले भुसालको आलोचना गरेका छन्। यो प्रकरणमा एमालेभित्र दुई धार देखा परेको छ। अध्यक्ष ओली निकट नेता बास्कोटाले स्थानीय तहमा देशभर हारको जिम्मा केपी ओलीले लिने भए रुपन्देहीको पराजयको जिम्मा भुसालले लिनुपर्ने पनि बताए।

पूर्वमन्त्री एवं एमाले नेता बास्कोटाले नेपालखबरसँग कुरा गर्दै भुसालमाथि प्रश्न उठाए - जतिखेर पार्टीभित्र संकट पर्छ, उहाँ वेपत्तासँग कराउनुहुन्छ किन?’

घनश्याम भुसालमाथि गोकुल बास्कोटाको भनाइ उनकै शब्दमा–
तपाईहरुले घनश्याम भुसालको कुरा उठाउनुभयो, उहाँको पनि दायित्व हुन्छ। उहाँपनि हिजोको उपमहासचिव हो, आजको स्थायी कमिटी सदस्य हो। माथिल्लो संरचनाभित्रको मान्छे हो। जतिखेर पार्टीलाई संकट पर्छ, उहाँ वेपत्तासँग कराउनुपर्ने किन ?

खाली औंला ठड्याउने केही साथीहरु नितान्त पार्टीभित्र प्रतिपक्ष सोचले मात्र सोच्छन्। ल ठीक छ, अरु हारेको जति दोष केपी ओलीले लिने हो भने रुपन्देही हारेको दोष कसले लिने त? घनश्यामजीले लिने कि नलिने? अध्यक्षको कारणले मात्र हारिएको हो भने रुपन्देही किन हारियो त ? त्यसको जवाफ त उहाँले बोक्नुपर्यो नि। त्यो चाहिँ जवाफ नदिने?

उहाँको विचारलाई दबाउन खोजिँदैन, तर आलोचना र अराजकताबीचमा भिन्नता हुन्छ। बढ्तै अराजकता देखाएपछि उहाँलाई पार्टीले सचेत गराउन खोजेको होला। किनभने, उहाँ अध्यक्षको राजीनामा माग्दै हुनुहुन्छ। उहाँको व्यक्तिगत कुरा हो नि त यो।

टिकट छान्दा पनि दोषी ओली, उम्मेदवारी छान्दा पनि दोषी ओली, मान्छेले भोट हाल्दैनन्, त्यसमा पनि दोषी ओली, अनि सही चाहिँ को त ? सही अरु नै कोही अदृश्य छ भन्ने उहाँ ( घनश्याम) लाई लागेको छ भने, उहाँ त्यही सहीतिर लाग्नुपर्यो क्या।

वाम एकताको पक्षमा म पनि छु। मैले विरोध गरेँ त? सधैँ गुटबन्दीभित्र रमाउने, कोटरीभित्र रमाउने, बौद्धिक विलासिताको कुरा गरेर बरालिनु ठीक छैन नि त।

परिभाषित काममा लाग्ने, उहाँको जे जिम्मा छ त्यो काम गर्ने मेरो जे जिम्मा छ, त्यही काम गर्ने हो। त्यति भएपछि टन्टै साफ भयो। आधा समस्या समाधान भयो। जम्मैतिर हात हाल्न खोज्ने ? जम्मैतिर हुँडल्न खोज्ने? जिम्मा कहीँको नलिएपछि के हुन्छ ? सफल भए सबै मैले गर्दा भयो, असफल भए खै मलाई रमिते बनाएका थिए के हो के भन्दाखेरि अन्तिममा आफैँ रमिते भए। त्यो गर्न मिल्छ त ?

जवाफदेहितासहितको आलोचना गरौं। समाधानसहितको प्रश्न उठाऔं। प्रश्नका निम्ति प्रश्न नउठाउँ। उहाँले अध्यक्षको माजीनामा मागिरहनुहुन्छ भने, त्यो के कारणले माग्नुभयो? चुनाव हारेकै कारण राजीनामा माग्ने हो भने त सबैभन्दा बढी हार त एमालेलाई फुटाएर जानेहरुको भयो नि। प्रतिशतका हिसावले ३ प्रतिशत पनि छैन। अरुले हालिदिएको भोटको प्रतिशत हो त्यो। त्यहाँभित्र एकता देख्नुहुन्छ ?

माओवादी जीतको कुरा गर्नुहुन्छ भने पहिला एक्लै १०६ जितेको थियो, पूरा गठबन्धनको जोडेर १२१ पुग्या छ। त्यहाँ चाहिँ घनश्यामजी के देख्नुहुन्छ? विशाल वामपन्थी एकताको बोट देख्नुहुन्छ? त्यहाँ कुनै कमीकमजोरी छैन?

एकपक्षीय, एकांकी बनेर पार्टी नेतृत्वलाई खुइल्याइएको छ। खासमा यो उहाँको विशेष तै भयो। उहाँ सीपी मैनालीतिर लाग्नुभयो, ठीक छ। जब सीपी नेता हुनुभयो, फेरि उहाँ वामदेवतिर लाग्नुभयो। वामदेव नेता हुनुभयो, फेरि उहाँ वामदेवलाई छोडेर झलनाथतिर लाग्नुभयो। झलनाथ हुनुभयो, फेरि उहाँ माधवतिर कुद्नुभयो। अब माधवहरुले पनि फुटाएर गए, के–के १० भाइ निकाल्नुभयो। १० भाइको पनि कुरा सकियो, अनि फेरि यतै बस्नुभएको छ। एमालेमै बस्नुभएको छ। यही पार्टीको नेता हुनुहुन्छ।

अनि महाधिवेशनलाई मेला भन्नुहुन्छ। अनेक के–के भन्नुहुन्छ। त्यसको पनि अपमान गर्नुहुन्छ। त्यहीँ चुनावमा लडेर उहाँ जित्नुहुन्छ। ल ठीकै छ, ओलीले नाम पढे रे, उनको पनि नाम पढेका थिए, त्यो मन परेको थिएन। उनी पदमा उठेका थिए हराइदिए, केन्द्रीय सदस्य जिताइदिए के भयो त त्यो? त्यसकारणले उहाँ स्थायी सदस्य हुनुभयो। केपी ओलीले पदमा हारेपछि स्थायी समितिमा राख्नु आग्रह हो कि पूर्वाग्रह हो? अपराध हो कि राख्नु नै गल्ती हो?

भिडिओ :

फेरि पनि यो कुरा गर्नुहुन्छ भने उहाँहरु बनाउन होइन, क्रान्तिकारी कुरा उठाएर दक्षिणपन्थीको सेवा गर्ने क्रान्तिकारी काइदा हो। त्यो काम पनि नगरौँ न त। तपाईँ जहाँ लाग्नुभएको छ, आफैंमाथि विश्वास छैन भने तपाई के चेन्ज गर्नुहुन्छ? तपाईँको सामर्थ्य, क्षमतामाथि भरोसा छैन भने तपाईँको जीवनचक्र कसरी चल्छ त? यो पार्टीको जीवनचक्रभित्र उहाँपनि हुनुहुन्छ नि त।

हजारौं नेताहरुले उहाँलाई मन पराउँछन्। हजारौंले आलोचना पनि गर्लान्। म त उहाँको भूमिकै देख्दिनँ, यसो त भन्या छैन। तर, उहाँ पनि सीमामा, मर्यादामा बस्नुपर्यो। उहाँकै भाषामा कोतपर्व हुनेवाला छ भने कोतपर्वको नाइके को त त्यसो भए? उहाँ हो? नयाँ जंगबहादुर उहाँ हो? को हो त? यो बढ्ता भयो भन्ने कुरा हो। त्यसैले स्पष्टीकरण सोध्या हो।

उहाँ एकपक्षीय हुनुभएन। ठीक छ, केपी ओलीको कमजोरी देख्नुहुन्छ भने उहाँले बैठकमा राख्नुपर्यो नि। बाहिर बोल्दा केपी ओलीको मात्र खेदो गर्नुहुन्छ। एमालेको यो हालत हुनुमा उहाँले केपी ओली दोषी देख्नुभएको छ। यो हालत कुन तहको छ, त्यसको पनि मापन गरौं। उहाँले कल्पना गरेको जस्तै हालत चौपट हो? वा अलिकति खस्केको हो? मूल्यांकन गर्ने पनि एउटा आधार हुन्छ क्या। अतिरञ्जनापूर्ण नगरौं।

ल पार्टी विभाजन भयो, केपी ओली मात्र दोषी हो कि? आफ्ना पार्टीका विरुद्ध अर्काे पार्टीसँग मिलेर उहाँ आफैँ पनि हस्ताक्षर धस्काएर हिँड्न कुन मर्यादामा रहनुभयो? पार्टीभित्रको फ्रेमवर्क, लक्ष्मणरेखा उहाँले उल्लंघन गरेको कुराले उहाँ दोषी हो कि होइन ? प्रश्न त अरुलाई पनि उठाउन आउँछ।

तर पनि दन्तबझान नगरौं। उहाँले भनेको जस्तो क्राइसिस महसुस भएको छ भने क्राइसिसमा बढी एकता प्रदर्शन गर्ने कि बढी भ्रम छरेर उल्टो निहुँ खोज्दै सेबोटेजको बाटो समात्ने? उहाँको पनि वैचारिक मात्र अधिकार रहन्छ कि सांगठनिक उत्तरदायित्व पनि रहन्छ? कम्युनिष्ट पार्टीमा मार्क्सवाद लेनिनवाद भन्ने हो भने दुईवटै कुरा मिसाएर हेर्नुपर्यो। दर्शन, विचार सिद्धान्तको मात्र कुरा गर्ने कोरा मार्क्सवादी हुने कि, व्यवहारको पनि प्रश्नमा रुपान्तरित भएर जाचिँदै जाने भन्ने प्रश्नमा घनश्यामजीले पनि जवाफ दिनुपर्यो।

ओलीले एमाले बिगारेका छन्, छानबिन हुनुपर्छ : घनश्याम भुसाल

घनश्यामलाई कारबाहीको सिफारिसपछि योगेशको टिप्पणी : आवेग र उत्तेजनाले सही ठाउँमा पुर्‍याउँदैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .