ad ad

राजनीति


निर्वाचन परिणाम तथ्यांक विश्लेषण : पुरुषभन्दा महिला कम उमेरका, पिछडिएका प्रदेशबाट बढी युवा निर्वाचित

निर्वाचन परिणाम तथ्यांक विश्लेषण : पुरुषभन्दा महिला कम उमेरका, पिछडिएका प्रदेशबाट बढी युवा निर्वाचित

देशभरिबाट निर्वाचित पालिका प्रमुखहरुको लैङ्गिक र उमेर अवस्था


जेवी पुन मगर
असार ४, २०७९ शनिबार ११:१६, काठमाडौँ

हाम्रोजस्तो देशमा स्थायित्वको नाममा कुनै दललाई जनमतको बलमा शक्तिशाली बनाइदिए तिनले झन बढी बित्यास पार्छन् भन्ने मतदाताले बुझेका छन्। त्यसैले यसपालिको स्थानीय निर्वाचनमा मतदाताले सबैलाई गच्छेअनुसार भागबन्डा लगाइदिएर सन्तुलनमा राखेका छन्। यो निर्वाचन धेरै अर्थमा विशेष हुन गयो। 

दलभित्र रजाइँ गरिरहेका पाका नेतृत्वलाई ‘जनता ठग्ने दिन गए, प्रपञ्च छाड, काम गर‘ भन्ने प्रष्ट सन्देशसहित मतदाताले कसैलाई शीर्षासनमा बसाउने काम गरेनन्।

बरु दलीय आवद्धताबिनाका उम्मेदवारहरुलाई जिताएर ‘जोरी खोजे हाम्रो शक्ति देखाइदिन्छौँ’ भन्दै नेतृत्वलाई आफ्नो जनाधार नबिर्सन खबरदारी पनि गरे।

त्यस्ता खबरदारी कहाँ र कसरी प्रकट भए? नेपालखबरले निर्वाचन आयोगबाट प्राप्त निर्वाचित मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षहरुको तथ्यांकमाथि साङ्गोपाङ्ग नजर लगाएको छ।

विवादका कारण बुढीगंगा नगरपालिका, बाजुराको निर्वाचन परिणाम नआइसकेको हुनाले यहाँ ७५२ पालिकाको मात्र तथ्यांक विश्लेषण गरिएको छ।

तथ्यांक– १
युवाको हातमा सत्ताको बागडोर
देशभरिका मतदाताले स्थानीय सरकारमा छानेर पठाएका एउटा खास उमेर समूहका उम्मेदवारहरुको बाहुल्य हेर्दा यसपालि मतदाताले आफ्नो सार्वभौम अधिकारको चेतपूर्वक उपयोग गरेको देखिन्छ। यसपालि निर्वाचित हुने जनप्रतिनिधिहरुको औसत उमेर मेयरतर्फ महिलाहरुको ४५ छ भने पुरुषको ४९। 

त्यसैगरी उपमेयरमा महिलाको ४५ र पुरुषको ५१ वर्ष औसत उमेर छ। अध्यक्ष र उपाध्यक्षमा पनि पुरुषको तुलनामा महिलाको उमेर कम देखिन्छ। महिला अध्यक्षहरुको औसत उमेर ४६ र पुरुषको ४७ छ भने उपाध्यक्षमा महिला ४१ र पुरुषको ४५ वर्ष छ। 

तथ्यांक– २
पुरुषभन्दा महिला कम उमेरका 
जनता समाजवादी पार्टी नेपालबाट पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा विजयी २१ वर्षीय वशिष्ट कुमार यसपालि निर्वाचित सबैभन्दा कान्छा जनप्रतिनिधि हुन्। यस वर्ष २३ देखि ३७ वर्ष उमेर समूहबाट निर्वाचित हुने महिला जनप्रतिनिधिको संख्या ३५ जना छ। यही उमेर समूहबाट पुरुष भने २१ जना मात्र निर्वाचित भएका छन्।

जतिजति उमेर समूह बढ्दै जान्छ, त्यतित्यति पुरुषहरुको संख्या बढ्दै र महिलाहरुको घट्दै जान्छ। यसले तन्नेरी पुरुषको तुलनामा महिलाहरुको संख्या उत्साहबद्र्धक देखिन आउँछ।​

तथ्यांक– ३
प्रदेशगत रुपमा महिला र पुरुष प्रतिनिधिहरुको उमेर र दलीय सम्बन्ध
प्रदेश–१, साल्पासिलिछो गाउँपालिका भोजपुरबाट नेपाली कांग्रेसको टिकट लिई जितेकी २३ वर्षीया अस्मिता कुलुङ राई देशभरबाट निर्वाचित उपाध्यक्षमध्ये सबैभन्दा कान्छी हुन्। मेयरमा राजपुर नगरपालिका रौतहटका नेपाली कांग्रेसबाट निर्वाचित मो. राजिक आलम (२७ वर्ष) र उपमेयरमा कांग्रेसकै दिपायल सिलगढी नगरपालिका, डोटीबाट निर्वाचित २५ वर्षीय कलावती महर (साउद) कान्छा जनप्रतिनिधि हुन्।

सबैभन्दा कम उमेरका वशिष्ट कुमार मधेशबाट निर्वाचित भएझैँ सबैभन्दा जेठा ब्रम्हापुरी गाउँपालिका सर्लाहीका अध्यक्ष राम पदारथ साह तेली (८० वर्ष) पनि मधेश प्रदेशबाटै निर्वाचित भएका छन्। उनी कांग्रेसबाट निर्वाचित हुन्। त्यसपछि प्रदेश–१ हल्दीबारी गाउँपालिका, झापाबाट उपाध्यक्ष पदमा निर्वाचित राप्रपाकी लक्ष्मीदेवी मैनाली (७७), लुम्बिनी प्रदेश, लमही नगरपालिका दाङबाट मेयर पद जित्ने कांग्रेसका जोगलाल चौधरी (७७) र इलाम नगरपालिकामा उपमेयरमा कांग्रेसबाट निर्वाचित विष्णुकुमारी लिम्बु (७४) यसपालिका पाका जनप्रतिनिधि हुन्।

सबै तथ्यांक संश्लेषण गर्दा देखिने चित्र के हो भने यसपालि हाम्रो समाज र कानुनले युवा भनेर चिन्ने उमेर समूहका उल्लेख्य उम्मेदवारहरुलाई मतदाताले स्थानीय शासनसत्ताको बागडोर सम्हाल्ने अभिमत दिएका छन्। यसमा पुरुषको तुलनामा महिला र विकसितभन्दा पिछडिएका प्रदेशबाट युवाहरुको संख्या ज्यादा देखिन्छ। यस्तो परिणामको पछाडि के कति कारणले भूमिका खेलेको छ, यसको जस कसलाई जान्छ त्यो छुट्टै अध्ययनको विषय हो तर यो परिणाम देखिनेगरीको परिवर्तन हो।

पुछारतिरबाट उक्लिँदै गरेको चेत
हुन त ४६० वटा गाउँपालिका अध्यक्ष पदमा जम्मा १२ जना महिला मात्र निर्वाचित भएका छन्। २९२ मेयरको सिटमा जम्मा १३ जना महिलाले मात्र उक्त पद हात पारेका छन्। यो तथ्यांकले प्रमुख पदमा महिला नेतृत्व आउन अझै पनि सहज अवस्था नरहेको देखाउँछ। महिलाले जित्न नसकेर नभई दलहरुले मेयर र अध्यक्ष पदमा महिलालाई उम्मेदवार नै नबनाएकाले यस्तो असमान स्थिति उत्पन्न भएको हो। 

तर उम्मेदवारी पाएर जितेका महिला प्रतिनिधिहरुको तथ्यांक विश्लेषण गर्दा केही यस्ता आशलाग्दा सूचक देखिन्छन्। जसले ‘भोलिको दिन’का लागि आश्वस्त पार्न मद्दत पुर्याउँछन्। युवामय महिलाहरुको राजनीतिप्रति देखिएको आकर्षण उत्साह जगाउने खालको छ। 

त्यसमा पनि मानव विकास सूचकांकको पुछारमा पर्ने प्रदेशहरुमा महिला अगाडि छन्। सुदूरपश्चिम प्रदेशमा पर्ने पन्चदेवल विनायक नगरपालिका, अछामबाट कांग्रेसको टिकट लिई मेयर पदमा निर्वाचित भएकी ३१ वर्षीया अम्बिका कुमारी चलाउने देशभरिबाट चुनिएका महिला मेयर (१३ जना) र अध्यक्ष (१२ जना) मध्ये सबैभन्दा कान्छी प्रतिनिधि हुन्। कांग्रेसबाटै चुनिएकी लम्कीचुहा नगरपालिका, कैलालीकी ३६ वर्षीया सुशीला शाही पनि यसै प्रदेशबाट कम उमेरकी मेयर हुन्।

सुदूरपश्चिम प्रदेशकी कलावती महर (२५ वर्ष) सँगै एमालेबाट जितेर आएकी अर्काे पिछडिएको प्रदेश मधेशको कल्याणपुर नगरपालिका सिरहाकी रेखाकुमारी यादव (२५) पनि २३२ जना महिला उपमेयरमध्ये कम उमेरका हुन्। भजनी नगरपालिका, कैलालीबाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीकी राजु तिरुवा (२६ वर्ष) पनि सुदूरपश्चिम प्रदेशकै प्रतिनिधि हुन्। 

देशभरका ३३५ जना महिला गाउँपालिका उपाध्यक्षमध्ये दोस्रो सबैभन्दा कम उमेरकी उपाध्यक्ष पनि सुदूरपश्चिम प्रदेशकै हुन्। उनी हुन्– नेपाली कांग्रेसबाट निर्वाचित सुर्नया गाउँपालिका बैतडीकी उपाध्यक्ष २४ वर्षीया मञ्जु बोहरा। 

स्रोतसाधनले सम्पन्न र साक्षरता दर ज्यादा भएका लुम्बिनी, बागमती, गण्डकीजस्ता प्रदेशको तुलनामा पिछडिएका सुदूरपश्चिम, मधेश र कर्णाली प्रदेशबाट निर्वाचित महिला मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्षहरुको औसत उमेर कम देखिन्छ। पुरुष प्रतिनिधिहरुको हकमा पनि यहि प्रवृत्ति देखिन्छ।

तथ्यांक– ४
निर्वाचित पालिका प्रमुखहरुको औसत उमेर 

स्वतन्त्र रोज्ने लहर 
सबैभन्दा बढी मतदाता रहेको देशको अनुहार देखिने बहुरंगी काठमाडौँका मतदाताले यसपालि दलीय आवद्धताबिनै चुनाव लडेका ३२ वर्षीय बालेन्द्र शाहलाई मेयर पदमा जिताए। काठमाडौँले ‘मधेशी समुदायलाई हेय दृष्टिले हेर्छ’ भन्ने भाष्य भत्काउनेगरी उपत्यकाबासीले मधेशी मूलका बालेनलाई जसरी स्विकारे, त्यो सबैलाई चकित पार्ने परिघटना थियो। 

त्यसैगरी धरानका मतदाताले त्यहाँको खानेपानी समस्या हल गर्न दस वर्षदेखि निरन्तर सडक संघर्षमा भिडिरहेका ३९ वर्षीय हर्कराज राईलाई दलको छहारीबिनै आत्मसात गरे। र, प्रष्ट सन्देश दिए– ‘हामी दल हैन स्थानीय मुद्दाप्रति इमान्दार व्यक्तिलाई आफ्नो नेता चुन्ने निर्णय गर्दछौं।’

पूर्वमा हर्कराज र मध्यबाट बालेन्द्र उदाएझैँ सुदूरपश्चिमको धनगढीबाट गोपाल हमाल (५८ वर्ष) पनि स्वतन्त्रबाट निर्वाचित भए। उनी पनि स्थानीय मुद्दामा निरन्तर खटिरहेका नेता हुन्।

देशभरबाट स्वतन्त्र पदबाट जितेर आउने (वडासदस्य सहित) को संख्या ३५० पुगे पनि मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्षमा निर्वाचित हुने स्वतन्त्रको संख्या जम्मा १७ छ। जसमध्ये मेयरमा ७ जना पुरुष तथा उपमेयरमा एक पुरुष र एक महिलाले जितेका छन्। त्यसैगरी अध्यक्ष पदमा ६ जना पुरुष र उपाध्यक्षमा दुई जना पुरुष निर्वाचित भएका छन्। आश्चर्यमा पार्ने तथ्य के हो भने यी मध्ये ६ जना कर्णाली प्रदेशबाट निर्वाचित भएका हुन् भने सुदूरपश्चिमबाट ३ जना।

स्वतन्त्रबाट निर्वाचित हुने एक मात्र महिला उपमेयर महोत्तरीको बर्दिबास नगरपालिकाकी ३४ वर्षीय तारादेवी पनि मधेश प्रदेशकै प्रतिनिधि हुन्। स्वतन्त्रबाट निर्वाचित हुने सबैभन्दा कम उमेरका से फोक्सुण्डो गाउँपालिका डोल्पाका उपाध्यक्ष पेम्बा वाङ्छेन गुरुङ (२९) हुन् भने सबैभन्दा बढी उमेरका डोल्पाकै डोल्पो बुद्ध गाउँपालिका कर्णालीबाट निर्वाचित अध्यक्ष कार्मा छोईवेल गुरुङ (६०) हुन्। 

यसपालिको निर्वाचन परिणामले ‘रक्सी र मासुमा मताधिकार बेच्ने’ उपमा बोक्न अभिशप्त नेपाली मतदाताले आफ्नो परम्परागत छविलाई उल्टाउनेगरी जनादेश दिएका छन्। केही विश्लेषकले दलका नेतृत्वले राजकाजमा देखाएको चरम लापरवाहीका कारण यसपालि तयार भएका ३५ लाख नयाँ र युवा मतदाताले परम्परागत ‘भोटिङ प्याटर्न’ बदल्न प्रमुख भूमिका खेलेको बताइरहेका छन्।

अर्काेतर्फ संसारभर छरिएर रहेका श्रमजीवी तन्नेरीहरुले ‘डिजिटल कनेक्सन’ मार्फत घरपरिवारलाई प्रभावमा पारी मनपर्ने उम्मेदवारहरुलाई जिताउन भूमिका खेलेको देखिन्छ। मतदाताका मनोदशा र प्रवृत्तिमाथि गहिरो अध्ययन हुन बाँकी नै छ तर केही बौद्धिकले पहिचानको राजनीति खत्तम भयो भन्दै लामो राजनीतिक संघर्षले ल्याएको संघीय गणतान्त्रिक व्यवस्थाप्रति वितृष्णा व्यक्त गरिरहेको बेला स्थानीय तहका मतदाताले पिछडिएको क्षेत्र, बहुसांस्कृतिक समुदाय, तन्नेरी महिला र युवाहरुलाई स्थानीय शासनसत्ताको तालाचाबी सुम्पिन खोजेको देखिन्छ। 

स्थानीय निर्वाचनको तन्नेरीमय परिणामले सन्निकट प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार चयनमा दलहरुलाई ठूलो दबाब सिर्जना गर्ने हुनाले यसलाई नेपाली राजनीतिले सही दिशा पक्रिरहेको सुखद परिघटनाको रुपमा लिन सकिन्छ।

डेटा भिजुअलाइजेसन: विवेकराज मौर्य 

(नोटः प्राविधिक सीमितताका कारण केही अंकहरुलाई नेपालीकरण गर्न नमिलेको हुनाले अंग्रेजीमै राखिएको छ।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .