जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्षसहित चार जनाभन्दा बढी नेतालाई स्पष्टीकरण माग्ने भएको छ।
जसपा अध्यक्ष उपेन्द्र यादव पक्षको सोमबार बेलुका बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले डा. बाबुराम भट्टराई, कृषिमन्त्री महेन्द्र राय यादव, केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठ अर्का एक नेतालाई पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टिकरण माग्ने निर्णय गरेको हो।
‘पार्टीविरुद्ध गतिविधि गर्ने डा. बाबुराम भट्टराई, कृषिमन्त्री महिन्द्र राय यादव लगायत चारजनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ,’ बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘उनीहरुलाई सचेत गराउनेदेखि जिम्मेवारी खोस्नेसम्मको अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।’
याे पनि : बाबुराम र उपेन्द्रको हालत : न सम्बन्ध, न सम्बन्धविच्छेद
केही दिन अघि बानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा बसेको जसपा संसदीय दलको बैठकमा कृषिमन्त्री समेत रहेका महेन्द्र राय यादवले अध्यक्षबाट उपेन्द्र यादवलाई हटाउनुपर्ने प्रस्ताव राखेको एक सांसदले बताए।
‘१४ जना सांसद उपस्थित बैठकमै उहाँले अध्यक्ष उपेन्द्र यादवलाई हटाउने प्रस्ताव राख्नुभएको थियो, त्यही भएर अध्यक्षले मन्त्री फिर्ता बोलाउने निर्णय गराउनुभयो,’ ती सांसदले भने।
बैठकले सरकारमा रहेका चार जना मन्त्रीलाई पनि फिर्ता बोलाउने पनि निर्णय गरेको छ।
कारवाही र मन्त्री फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको छ।
जसपाका प्रमुख सचेतक प्रमोद साहले बहुमतले सो निर्णय गरेको जानकारी दिए।
‘केन्द्रीय कार्यसमिति बैठक असार मसान्तमा बोलाउने निर्णय गरेकोछ,’ साहले नेपालखबरसँग भने, ‘मन्त्री फिर्ता बोलाउने निर्णय पनि भएको छ।’
स्रोतका अनुसार सोमबारको बैठकमा १९ जना कार्यकारिणी सदस्य सहभागी थिए।
जसपामा ३२ जना कार्यकारिणी समिति सदस्य छन्।
कृषिमन्त्री समेत रहेका जसपाका नेता महिन्द्र राय यादवले आफूहरुलाई कुनै जानकारी नदिई बसेको बैठकबारे केही थाहा नभएको बताए।
‘हाम्रो जानकारीमा नभई कुनै बैठक बस्न सक्छ जस्तो लाग्दैन,’ यादवले नेपालखबरसँग भने।
याे पनि :
Shares
प्रतिक्रिया