ad ad

राजनीति


स्वास्थ्यमन्त्री खापुङ भन्छन् : गाउँमा डाक्टर जानै मान्दैनन्

स्वास्थ्यमन्त्री खापुङ भन्छन् : गाउँमा डाक्टर जानै मान्दैनन्

नेपालखबर
असार १६, २०७९ बिहिबार १६:३५, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरु दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन्।

बिहीवार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन्। उनले अहिले देशका विभिन्न जिल्लाहरूबाट दरबन्दी खालि रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरेपनि स्वास्थ्यकर्मीहरु जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताए।

मन्त्री खापुङले गाउँ क्षेत्रमा अहिले पनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरू जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको बताए।

उनले सबै स्वास्थ्यकर्मीहरुले जुनकुनै बेला कुनै क्षेत्रमा पनि जानुपर्नेछ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको बताए। अहिले सरकार संघीयताको कार्यान्वयनमा रहेको उल्लेख गर्दै समायोजनमा पनि अनेक समस्या सिर्जना भइरहेको बताए।

उनले भने, ‘स्वास्थ्यमन्त्री भएको दुई दिन मात्र भएको छ। यो दुई दिनको अवधिमा धेरै मान्छे जिल्लाहरुबाट डाक्टर पठाइदिनुपर्यो दरबन्दी यति छ भनेर आउनुभएको छ। नर्स पठाइदिनुपर्यो दरबन्दी यति छ, भनेर आउनुभएको छ। कोही जान तयार हुनुहुन्न। हामी गाउँ क्षेत्रमा त डाक्टर पठाउनै सक्दैनौँ। नर्स पठाउन सक्दैनौँ। अहिले संघीयताको कार्यान्वयनमा पनि छौँ हामी। भर्खरै समायोजन भएको छ र समायोजनमा पनि अनेक समस्या छन् भन्ने कुरा कर्मचारी र प्राविधिक साथीहरूबाट नै हामीकहाँ आइरहेका छन्। समायोजन भइसकेपछि सरुवा गर्ने एक ठाउँबाट अर्को ठाउँमा पठाउने सीमा पनि छन्।’

मन्त्री खापुङले स्वास्थ्यकर्मीहरुको जुनकुनै क्षेत्रमा जान हिचकिचाहट नगर्ने प्रवृतिको विकासले संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा थप बल पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘कुनैपनि चिकित्सक, कुनै क्षेत्रमा काम गर्न योग्य नर्स वा कोहीपनि प्राविधिक सकेसम्म कुनैपनि ठाउँमा जान मानसिकता बनाउँदा राम्रो हुन्छ। त्यो बनाउनसक्यौँ भने सेवा पनि पुग्छ। हामीले लडेर ल्याएर बनाएको संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा हाम्रो थप बल पुग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .