ad ad

राजनीति


‘दम्भ र अहंकारले राणा र राजा सकिए, पेलेर जान खोजे देउवा पनि धेरै टिक्दैनन्’

‘दम्भ र अहंकारले राणा र राजा सकिए, पेलेर जान खोजे देउवा पनि धेरै टिक्दैनन्’

नेपालखबर
असार १६, २०७९ बिहिबार १८:४१, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षीय नेताहरुको भेला अहिले बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसिरहेको छ।

उक्त बैठकमा नेता शेखरदेखि महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुसहितका नेताहरु सहभागी छन्। 

यो भेलामा केही जिल्ला सभापतिहरू पनि सहभागी भएका छन्। चौधौं महाधिवेशन भएको ६ महिना बितिसक्दा पनि पार्टीलाई संस्थागत रुपमा नचलाएर देउवाले पुरानै चरित्र दोहोर्‍याएको भन्दै शेखर समूह आक्रोशित छ।

त्यही आक्रोशको एउटा रुप अनुपम फुडल्यान्डको भेलामा सहभागी कांग्रेस बाजुरा सभापति रामसिंह रावल प्रकट गरेका छन्। 

उनले यो भेलाले बिग्रिने दिशातिर गएको पार्टीलाई दुरुस्त बनाउने तर्क रावलले गरेका छन्। 

'यो भेलाले पार्टीलाई ठीक र दुरुस्त बनाउँछ। पार्टीको यो भेलाले आगामी निर्वाचनमा बहुमत ल्याउन पनि बाटो देखाउँछ', उनले भने, 'पार्टीलाई संस्थागत रुपमा चलाउन गरिएको आग्रहविपरीत देउवाले दम्भ र अहंकार देखाए भने गाह्रो हुन्छ।'

उनले दम्भ र अहंकारका कारण राणादेखि राजसम्म नकिटेको बताए। 'दम्भ र अहंकारले राणा, राजा अनि अहिले ज्ञानेन्द्र शाह पनि टिकेनन्', उनले भने, 'उहाँले एकलौटी गर्नु भएको छ। स्थानीय तहको चुनावमा पनि मनपरी रुपमा प्रदेश समितिलाई पनि निर्देशन दिने काम भयो। आफ्नो मान्छेले टिकट पाएमा ती कार्यकर्तालाई पक्षपोषण गर्ने तर अर्को खेमाकोले टिकट पाउँदा हराउने काम भएको छ।'

उनले यो किसिमको संस्कृतिले पार्टीलाई ठीक ठाउँमा नलाने पनि बताए।

'यो पार्टी बनाउन धेरैले रगत बगाएका छन्। दु:ख पाएका छन्। यो पार्टीको माया गर्ने मान्छेले नबिग्रियोस् भनेका हुन्', उनले भने, 'पार्टी दुर्घटनामा नपरोस् भन्नका लागि सचेत गराउन यो भेला गरिएको हो। यो कुरा पार्टीले बुझ्न सक्नुपर्छ। वास्तविक कांग्रेस बनाएर बहुमत ल्याउने दबाब दिन यो भेला गरिएको हो।'

रावलले हिजो देउवाले कांग्रेस छाडेर गएको प्रसंग पनि निकाले। 'जुन मान्छे निस्केर गएपछि फर्केर आएको हो, उसले दम्भ गर्नु हुँदैन। पद ठूलो होइन संस्कार ठूलो हो', उनले भने, 'पार्टीमा त्याग ठूलो हो। हाम्रो पार्टीको सभापतिलाई यो कुरा हेक्का हुनुपर्छ, संस्थागत रुपमा चले मात्रै राम्रो हुन्छ।'

उनले आफू पनि बाजुराको सभापति रहेको बताउँदै संस्थागत ढंगले जान सक्ने हिम्मत देउवामा नरहेको जिकिर गरे। 'संस्थागत रुपमा नचल्ने उनको कायरता हो। संस्थागत हिसाबले जानुपर्छ', उनले भने, 'ठीक ढंगले पार्टी जाओस् भन्छु म, यदि पेलेर जान खोजे म जस्तालाई सह्य हुँदैन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .