राष्ट्रपति विद्यादेवी भण्डारीका अगाडि काठमाडौंका मेयर बालेन्द्र शाह उभिइरहेको एउटा तस्बिर एकजना पत्रकारले सामाजिक सञ्जालमा पोस्ट गरे र लेखे– विना कुनै प्रतिक्रिया।
असार १६ गते सामाजिक सञ्जालमा देखिएको यो तस्बिर झट्ट हेर्दा भर्खरै को भेटवार्ता हो कि भन्ने मानिसहरुलाई भ्रम पर्न सक्छ । तर, यो तस्बिरको वास्तविकता अलि फरक छ।
मेयर बालेन्द्र शाहले चुनाव जितिसकेपछि राष्ट्रपतिसँग भेट गरेको दृश्य होइन यो। या चुनावअघिकै दृश्य हो। तर, बालेन्द्रले एक्लै शीतल निवासमा गएर भेटवार्ता गरेका पनि होइनन्।
शीतलनिवास स्रोतका अनुसार यो तस्बिर गत चैत ८ गतेको हो। त्यसबेला स्थानीय चुनाव भइसकेको थिएन। त्यो दिन विश्व पानी दिवस परेको थियो।
विश्व पानी दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका केही जलस्रोत विज्ञलाई शीतलनिवासमा आमन्त्रण गरेर छलफल गरेकी थिइन्।
त्यहाँ केही सरकारी सञ्चार माध्यमका पत्रकारसमेत १२ जना निम्तालु सहभागी थिए। कार्यक्रममा बालेन्द्र शाह पनि निम्त्याइएका थिए।
तस्बिरमा देखिएको दृश्यमा बालेन्द्रले उभिएर राष्ट्रपतिसमक्ष आफ्ना कुराहरु राखिरहेको देखिन्छ। तर, कोभिडको स्वास्थ्य प्रोटोकोल अनुसार दुरी कायम गरेर छलफल गरिएको शीतल निवास स्रोतको भनाइ छ।
सामाजिक सञ्जालमा आएको यो पुरानो तस्बिरमा सहभागी अन्यलाई नदेखाई बालेन्द्रलाई मात्रै देखाइएको शीतलनिवास स्रोतको स्पष्टीकरण छ।
Shares
प्रतिक्रिया