आफूद्वारा प्रस्तावित 'राष्ट्रिय स्वतन्त्र पार्टी'लाई निर्वाचन आयोगले मान्यता दिएपछि अध्यक्ष रवि लामिछानेले खुसी व्यक्त गरेका छन्।
शुक्रबार निर्वाचन आयोगमा आफ्नो दल दर्ता भएपछि प्रमाणपत्र लिएर बाहिरिने क्रममा उनले अब जनतामाझ जाने बाटो पनि खुलेको बताएका छन्।
'हामीले प्रस्ताव गरेको 'राष्ट्रिय स्वतन्त्र पार्टी' र चुनाव चिह्न घण्टीलाई निर्वाचन आयोगले स्वीकारेको छ', उनले भने, 'अब स्वतन्त्र नामलाई लिएर विरोध गर्नुको अर्थ रहेन। घण्टी भने हामीले गोलाकारभित्रको बजाउन पाउने भएका छौँ।'
रविले आफ्नो दल दर्ता भइसकेपछि स्वतन्त्र अभियानसहित चुनावी तयारीमा लागेका सबैलाई स्वागत गर्न तयार रहेको बताए।
'हामीसँग मिल्न चहाने सबै स्वतन्त्र राजनीतिक अभियन्ताहरुलाई स्वागत गर्न तयार छौँ। अब हामी त्यही अनुसार वार्ता पनि थाल्छौँ', उनले भने, 'विचार मिल्ने व्यक्ति र समूहसँग संवादसँगै अब जनताको घर दैलोमा पुगेर चुनावी तयारी थाल्छौँ।'
उनले आफ्नो पार्टीको केन्द्रीय कमिटीबारे केही खुलाएनन्। 'त्यसबारे अझै केही बोलिहाल्न हतार हुन्छ', उनले भने, 'निर्वाचन आयोगमा पनि प्रमाणीकरण चलिरहेकाले केही दिनमा हामी हाम्रो कमिटीबारे विस्तृतमा भन्छौँ।'
Shares

प्रतिक्रिया