ad ad

राजनीति


एसएसपी बढुवामा देउवाको हस्तक्षेप, काठमाडौं नै प्रहरी प्रमुखविहीन

एसएसपी बढुवामा देउवाको हस्तक्षेप, काठमाडौं नै प्रहरी प्रमुखविहीन

नेपालखबर
असार २०, २०७९ सोमबार १३:३९, काठमाडौँ

बढुवा सिफारिस समितिले गत साता नै ३२ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गर्ने तयारी गरेको थियो। तर, अन्तिम समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेपछि बढुवाको सिफारिस रोकियो। 

त्यतिबेला गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच एकसाथ एसपी भएका ३३ जना र त्यसअघिका डिल्लीराज बिष्टमध्येबाट एसएसपी बढुवा गर्ने सहमति भएको थियो। 

तर, प्रधानमन्त्री देउवाले पछिल्लो ब्याचबाट पनि बढुवा गर्नुपर्ने भनेपछि रोकिएको स्रोतले नेपालखबरलाई बतायो। गृहमन्त्री अघिल्लो ब्याचबाटै बढुवा गर्न चाहने र प्रधानमन्त्री पछिल्लो ब्याचबाट पनि ल्याउनुपर्ने भनेपछि बढुवाको विषय नै ओझेलमा परेको छ। 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले देउवामार्फत पछिल्लो ब्याचबाट बढुवा गर्न दबाब दिएका हुन्। खड्का एसपी भूपेन्द्र खत्रीलाई जसरी पनि एसएसपी बढुवा गर्नुपर्ने पक्षमा छन्। खत्री भने पछिल्लो लटका एसपीको पनि वरीयतामा पछाडि छन्। 

यसअघि डीआईजी बढुवामा आफूलाई धोका दिएको भन्दै खड्काले यसपटक बढी दवाब दिएको गृह स्रोतले बतायो।

खड्काले यसअघि एसएसपी राजेशनाथ बास्तोलालाई डीआईजीमा बढुवा गर्नुपर्नेमा जोड दिएका थिए। त्यसअघि खड्काकै दबावमा बास्तोलालाई कर्णाली प्रदेशको निमित्त प्रमुख हुने गरी सरुवा गरिएको थियो। 

डीआईजीमा छुटेपछि उनलाई फेरि प्रदेश नं १ सारियो। डीआईजी बढुवासँगै प्रदेश प्रमुखमा अर्को व्यक्ति आउने र आफूले इञ्चार्ज नपाउने भएपछि बास्तोला खड्का मार्फत नै प्रदेश नं १ को तालिम केन्द्र बिराटनगर पुगेका हुन्। दुई महिनामै दोस्रो पटक इञ्चार्जमा उनी सरुवा भएका हुन्।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयबाट प्रधान कार्यालयमा सरुवा भएपनि उनी दरबन्दीमा भन्दा बढी काजमा अन्तै काम गरिरहेका छन्। अहिले उपसभापति खड्का भूपेन्द्र खत्रीलाई एसएसपी बनाइछाड्ने लाइनमा छन्। 

देउवा र खड्काको यही दबाबका कारण एसएसपी बढुवामा ढिलाइ भएको गृह स्रोत बताउँछ। 

गृहमन्त्री र प्रहरी महानिरीक्षक ०५३ देखि ०५५ सालसम्ममा भर्ना भएका र ०७४ साउनमा एकसाथ एसपी भएका हुन्। यी मध्ये १८ जना राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएका र १६ जना प्रहरी निरीक्षकमै भर्ना भएका हुन्। 

यता देउवा र खड्काले भने ०५६ सालमा भर्ना भएर ०७५ जेठमा एसपी बढुवा भएकालाई ल्याउन दबाव दिएका छन्। 
यो ब्याचमा विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, सोमेन्द्रसिंह राठौर, सविन प्रधान, दिनेशराज मैनाली बढुवाका दाबेदार छन्।

खड्काले बढुवा गर्ने पर्ने भनिएका भूपेन्द्र खत्री भने उनीहरुभन्दा पछाडि छन्। खत्रीलाई बढुवा गरिए उनीभन्दा अगाडीका पनि आउने भएकाले अरुले पनि यो ब्याचबाट बढुवा गर्न बालुवाटारमा लबिङ गरिरहेका छन्। 

नेपाल प्रहरीमा ३२ एसएसपी रिक्त भएका छन्। एसएसपी रिक्त हुँदा महत्वपूर्ण विभाग र कार्यालयहरु प्रमुख विहीन भएका छन्। 

यी कार्यालय बने इञ्चार्जविहीन
एसएसपी बढुवामा ढिलाइ हुँदा काठमाडौं नै प्रहरी प्रमुखविहीन भएको छ। काठमाडौं परिसरका प्रमुख रहेका सुदीप गिरी डीआईजीमा बढुवा भएका छन्। उनी डीआईजी भएर प्रदेश नं १ को प्रमुखमा पदस्थापन भएका छन्। अहिले काठमाडौंमा एसपी दिनेशराज मैनालीले नेतृत्व गरिरहेका छन्। 

उपत्यका अपराध महाशाखा पनि रिक्त छ। महाशाखा प्रमुख समेत रहेका बसन्त कुँवर डीआईजीमा बढुवा भएका हुन्। उनको पनि सोमबार नै बिदाइ गरिँदै छ। उपत्यकाको अपराध अनुसन्धान गर्ने महत्वपूर्ण कार्यालय नै प्रमुखविहीन बनेको हो। 

यस्तै ट्राफिक महाशाखा पनि नेतृत्वविहीन भएको छ। महाशाखा प्रमुख उमेशराज जोशी डीआईजी भएर अन्तै पदस्थापन भएका छन्। 

विमानस्थल सुरक्षा कार्यालयमा पनि प्रहरी प्रमुख छैनन्। भीम ढकाल बढुवा भएसँगै अन्तर्राष्ट्रिय विमानस्थल नै सुरक्षा प्रमुखविहीन भएको हो।

मानव बेचविखन अनुसन्धान ब्यूरो, विपद व्यवस्थापन कार्यालय, प्रहरी शिक्षालय भरतपुर पनि प्रमुखविहीन भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .