राजनीति


कम्युनिष्ट मिल्न खोज्दा कांग्रेसमा हलचल

कम्युनिष्ट मिल्न खोज्दा कांग्रेसमा हलचल

केशव सावद
असार २१, २०७९ मंगलबार १६:५३, काठमाडौँ

सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलहरुबीच ‘वाम एकता’ का लागि छलफल चलेपछि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस झस्किएको छ। संघीय र प्रादेशिक निर्वाचन नजिकिँदै गर्दा ‘वाम एकता’ का लागि कम्युनिष्ट पार्टीहरुका बीचमा उठबस बढेपछि कांग्रेस झस्किएको हो।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको तयारी हुँदै गर्दा चुनावी तालमेलको विपक्षमा खुलेरै लागेका कांग्रेसका नेताहरु ‘वाम एकता’ रोक्न प्रयासरत देखिएका छन्। उनीहरु ‘वाम एकता’ रोक्न सार्वजनिकरुपमै पाँचदलीय गठबन्धन टुटे देश दुर्घटनामा जाने खतरा रहेको अभिव्यक्ति दिन थालेका छन्।

चुनावी तालमेल हुनै लाग्दा साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई ‘चमेरा’ को संज्ञा दिएका उपसभापति धनराज गुरुङ अहिले गठबन्धनको औचित्य अझै समाप्त नभएको बताइरहेका छन्।

उनले मंगलबारमात्रै पाँच दलीय गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौँमा आयोजना गरेको स्व। नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा उनले गठबन्धनरुपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने दाबी गरेका हुन्।

‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौँ। जहाज उडिसकेको छ। आकाशमा छ,’ गुरुङले भने, ‘तर ल्यान्डिङ भएको छैन। अब हामीले त्यो जहाजलाई सेफ ल्यान्डिङ कसरी गर्ने भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरुले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ।’

आगामी मंसिरपछि मात्रै सम्भवतः गठबन्धन रुपी विमानले सुरक्षित अवतरण गर्ने उनको भनाइ थियो। उपसभापति गुरुङले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरुले एकअर्काप्रति आरोप–प्रत्यारोप गर्न नहुनेमा जोड दिए।

पाँचदलीय गठबन्धनमा रहेका दलहरुले कांग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिने उनको जिकिर थियो। यसअघि उपसभापति गुरुङ स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्न नहुने अडानमा देखिएका थिए।

पार्टीको शुभेच्छुक संगठन निजामती कर्मचारी युनियनको महाधिवेशन सम्बोधन गर्दै उपसभापति गुरुङले तत्कालीन समयमा २०७९ साल चुनावी वर्ष रहेको र कांग्रेसरूपी हात्ती चुनावी मैदानमा लम्किन थालेपछि बानेश्वरमा केही दिन कुकुरहरू भुके पनि एमसीसी पास गरेरै छाडेको बताएका थिए।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै सहभागी उक्त कार्यक्रममा गुरुङले भनेका थिए, ‘दुईचार दिनमात्र अगाडि कांग्रेसरूपी हात्ती लम्किएर बानेश्वर पुग्दै गर्दा केही कुकरहरू भुक्ने काम पनि भए तर एमसीसी पास भयो। ०७९ साल निर्वाचन वर्ष हो। इलेक्सन इयर हो। त्यसैले कांग्रेसरूपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ। कांग्रेस चुनावको मैदानमा लम्किँदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरू हात्तीको कानमा ओत लाउन खोज्दै छन्। हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन। चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरु हात्तीको कान दुर्गन्धित बनाउँछन्। त्यसैले जनताबीच कांग्रेस एक्लै जान्छ आफ्नो रोडम्यापमा।’

त्यसलगत्तै सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले आफूहरूलाई हेप्न थाले गठबन्धनको विकल्प खोज्नुपर्ने बाध्यता आउने अभिव्यक्ति दिएका थिए। गत चैत ६ गते प्रेस सेन्टर नेपालले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस उपभापति गुरुङको अव्यिक्तिप्रति चित्त दुखाएका थिए।

‘यदि नेपाली कांग्रेसले हामीलाई केही केही नेताले भन्छन् नि एकजना गुरुङजी छन् नि, हात्तीको उसमा चमेरा कि के भन्या छन्? त्यस्तै भाषा क्या, बडो सुन्नै गाह्रो पर्ने भाषा बोल्ने तिनलाई भन्या हो, त्यस्तालाई,’ प्रचण्डले भनेका थिए, ‘त्यसै गर्छन् भने त हामीले विकल्प खोज्नुपर्ने बाध्यता आउँछ। तर, अहिले हामीले त्यता सोचेका छैनौं, अहिले गठबन्धनलाई नै लिएर जाने हो भन्न खोज्या हो।’

गुरुङको युटर्न
पछिल्लो समय ‘वाम एकता’ को प्रयास भइसकेपछि कांग्रेस उपसभापति धनराज गुरुङ पनि पाँचदलीय गठबन्धन जोगाएरै अघि बढ्नुपर्ने पक्षमा देखिएका छन्।

कांग्रेस महामन्त्री कांग्रेस महामन्त्री गगन थापा आसन्न निर्वाचनमा ‘वाम एकता’ हुन नदिने प्रयत्न गर्नुलाई वान्छनीय नै मान्छन्।

‘अंकगणितका हिसाबले कम्युनिष्ट एकता हुँदा कांग्रेसले क्षति व्यहोर्ने कुरा रहन्छ। त्यो नहोस् भनेर चाहना राख्नु, प्रयास गर्नु वान्छनीय कुरा हो,’ उनले नेपलखबरसँग भने, ‘कांग्रेसले कम्युनिस्ट एकता नहोस् भन्ने चाहना राख्छ। प्रयत्न पनि गर्छ। यो चुनाव जित्नका लागि अरणनीतिक कुरा होइन।’

महामन्त्री थापाले निर्वाचनबाट पहिलो दल बन्नका लागि कांग्रेसलाई आफ्नै ताकत र मतदाताको विश्वास जितेर बलियो बनाउनुपर्नेमा जोड दिए। ‘अनिमात्र वैकल्पिक गठबन्धन बन्दा सुरक्षित रहन्छौँ,’ उनले भने, ‘बलियो पार्टीको हैसियत बनाउन सकिएन भने जहिल्यै जोखिममा हुन्छौँ।’

यसैबीच चौधौं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला पनि यतिबेला गठबन्धनको विरोधमा बोलेका छैनन् । उनले गठबन्धन गर्नुपर्छ पनि भनेका छैनन् । कोइराला यसबारे मौन बसेका छन् ।

स्थानीय तह निर्वाचनमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि व्यक्त गर्दै आएका सभापति देउवानिकट मानिने सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायर भने पाँचदलीय गठबन्धन दीर्घकालीन नहुने बताउँछन्।

‘गठबन्धन परिस्थितिले बनाएको हो, यसमा सबैको स्वार्थ छ,’ उनले नेपालखबरसँग भने, ‘इमान्दारिता भएन भने दीर्घकालीन रुपमा धेरै अगाडि जाँदैन।’

आगामी निर्वाचनमा पनि चुनावी तालमेल गरिए साझेदार दलहरुले आ–आफ्नो हैसियतअनुसार भाग खोज्नुपर्ने प्रदेश सभापति बलायरको भनाइ छ। ‘फेरि पनि तालमेल गर्नैपर्ने हो भने सबैले हैसियतअनुसार माग्नु पर्यो। आफूलाई भन्दा पनि कुन लिडरलाई कहाँ चाहियो खुलेर भन्नुपर्यो,’ उनले भने, ‘कोटा मागेर हुन्न। मिलाएर तालमेल गर्यो भने ठीकै हो नत्र कोल्याप्स हुन सक्छ।’

सभापति देउवानिकट केन्द्रीय सदस्य नृप वडले पनि ‘वाम एकता’ हुँदैमा कांग्रेसलाई केही असर नगर्ने प्रतिक्रिया दिए। कम्युनिस्ट नेतृत्वको दुईतिहाइको सरकारको काम जनताले हेरिसकेका कारण ‘वाम एकता’ हुँदैमा कांग्रेसलाई घाटा नहुने उनको बुझाइ छ।

‘वाम गठबन्धन हिजो पनि थियो। दुईतिहाइको सरकार बन्यो। तर, त्यो सरकारको परिणाम के भयो भन्ने कुरा देशका जनताले भोगेका छन्। सिकेका छन्। बुझेका छन्,’ वडले भने, ‘त्यस कारण केही फरक पर्दैन। वाम गठबन्धन भयो भने पनि केही असर गर्दैन।’

यद्यपि, पाँचदलीय गठबन्धनलाई निरन्तर दिन सबैका लागि राम्रो हुने उनको भनाइ छ। ‘पाँच दलीय गठबन्धन जुन चलिराखेको छ यसलाई निरन्तरता दिँदा बेस हुन्छ,’ केन्द्रीय सदस्य वडले भने।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .