जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अर्का अध्यक्ष उपेन्द्र यादवमाथि पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन्।
जसपा विभाजनतिर गइरहँदा मंगलबार काठमाडौंमा आयोजित आफूपक्षीय केन्द्रीय कार्य समिति बैठकमा ‘पार्टी पुनर्गठनको औचित्य र कार्यभार’ विषयक राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले यस्तो उल्लेख गरेका हुन्।
‘पार्टी एकता गर्दा विचार, सिद्धान्त र एजेण्डामा आधारभूत समानता कायम नगरिएको होइन, तर कार्यान्वयनको पाटोबाट त्यसको बुझाइमा एकरुपता देखिएन’, उनले प्रतिवेदनमा भनेका छन्, ‘कांग्रेस, कम्युनिष्टजस्ता परम्परावादी दलको विकल्प निर्माण गर्दै देशलाई आर्थिक विकास, सुशासन र समृद्धिको युगतिर अभिमुख गर्नु थियो। तर, पार्टी निर्माणको तरिका भने क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो।’
उनले देशका अन्य भाग र प्रदेशमा पार्टी निर्माणका लागि संगठित तथा संस्थागत प्रयत्न गर्ने हुटहुटी मूल नेतृत्वमा नै नदेखिएको आरोप उपेन्द्र यादवमाथि लगाएका छन्।
‘पार्टी एकताका ३ वर्ष किन फलदायी भएनन्? पार्टीभित्र के कस्तो समस्या आयो र त्यो गतिरोधमा पुग्यो? किन एकतापछिको एक आम चुनावसम्म, एक महाधिवेशनसम्म पनि एकता कायम हुन सकेन?’, उनले सोधेका छन्, ‘यसमा कसको, कुन पक्षको के कस्तो भूमिका रह्यो? आज हामी फेरि पार्टी पुनर्गठन गर्नुपर्ने निष्कर्षमा किन पुग्यौँ? यसको गम्भीर समीक्षा हुनु पर्ने देखिन्छ।’
उनले एकतायता पार्टी संगठन, व्यवस्थित र चुस्तदुरुस्त बन्न नसकेको पनि बताएका छन्। ‘पार्टी समायोजनकै बेलादेखि ‘पार्टी कब्जा गर्ने’ सोच हाबी भयो’, उनले भनेका छन्, ‘सबै पक्षको सम्मानजनक र यथोचित सहभागिता र प्रतिनिधित्व हुने गरी समय मै समायोजन सम्पन्न गर्न सहजीकरण गर्नु र सम्पूर्ण पार्टी पङ्क्तिलाई एकताबद्ध बनाई लक्ष्य उद्देश्यतर्फ निर्दिष्ट गर्ने भन्दा अनेक झमेला र अविश्वास सृजना गरी महिनौं अल्झाउने, कार्यकर्तामा निराशा र झर्को बढाउने र राजनीति तथा संगठनात्मक जीवनबाट पलायन हुन बाध्य पार्ने काम गरियो।’
दस्तावेजको पूर्णपाठ
Shares

प्रतिक्रिया