ad ad

राजनीति


आगामी निर्वाचनमा महिलालाई प्रत्यक्ष र पुरुषलाई समानुपातिकमा ल्याउन माग

आगामी निर्वाचनमा महिलालाई प्रत्यक्ष र पुरुषलाई समानुपातिकमा ल्याउन माग

फाइल फोटाे


नेपालखबर
साउन २७, २०७९ शुक्रबार १६:५४, काठमाडौँ

विभिन्न पार्टीका महिला नेत्रीहरुले आगामी प्रदेश र संघको निर्वाचनमा महिलालाई प्रत्यक्षबाट बढी उम्मेदवार बनाउन हरेक राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण भएको बताएका छन्।

आगामी प्रदेश र संघको निर्वाचनमा सदस्यको निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता गराउनुपर्नेमा महिला नेत्रीहरुले जोड दिएका हुन्। 

आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सदस्यको निर्वाचनमा उम्मेदवारी दिँदा महिलालाई समानुपातिक सहभागिता गराउनुपर्नेमा उनीहरुको जोड छ।

पछिल्ला निर्वाचनमा प्रत्यक्षतर्फ महिला सांसद चुनिन नसक्नु राजनीतिक दलहरुले महिलाप्रति विश्वास गर्न नसक्नुको परिणाम भएको महिला सांसदहरु बताउँछन्।

प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारलाई बढी अवसर दिनुपर्ने र जित सुनिश्चितताका लागि पनि राजनीतिक दलहरुले आफ्नो भूमिका खेल्नुपर्ने उनीहरुको भनाइ छ।

महिला नेतृहरुले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा महिला सहभागिता कम देखिएको भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीमा भने हरेक पार्टीहरुले महिलालाई अघि सारेर जानुपर्ने बताए। महिलालाई प्रत्यक्षतर्फ प्रतिष्पर्धा गराएर पुरुषलाई समानुपातिकतर्फ ल्याउनुपर्ने उनीहरुको माग छ।

उनीहरुले हरेक निर्वाचनमा क्रमशः महिलाहरुको निर्वाचित संख्या घट्दै गएकोले महिलाहरुको लागि राजनीतिक दलहरुले एक आपसमा समझदारी गरेर महिला नेतृ उठेको स्थानमा महिला नेत्रीलाई नै उठाउनुपर्ने माग गरेका छन्। 

प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले संविधानको माग परिपूर्ति गर्नुपरेका कारण मात्रै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमार्फत अवसर दिइएको बताइन्। उनले अझैपनि राजनीतिक दलहरुले प्रत्यक्षमा महिलालाई विश्वास गरेर उम्मेदवार बनाउन नसकेको गुनासो गरिन्।

उनले महिलालाई समानुपातिक नभइ प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार बनाउन र जित सुनिश्चित गर्न आवश्यक रहेको बताइन्।

उपसभामुख भुसालले प्रत्यक्षबाट महिलाको उम्मेदवारी सबैभन्दा बढी दिएर महिला निर्वाचित गराएमात्र समानुपातिक निर्वाचन प्रणालीबाट महिलाको संख्या घट्ने बताइन्।

उनले समाजको मनोवैज्ञानिक दृष्टिकोणलाई परिवर्तन गर्नको लागि पनि प्रत्यक्ष निर्वाचनबाट महिलाहरु जान जरुरी रहेको बताइन्। उनले अहिले एकीकृत निर्वाचनको विधेयक तयार भइरहेको र अर्को निर्वाचनसम्म विधेयकको काम पूर्ण हुने बताइन्।

दलभित्रका महिला नेतृत्वहरुले महिला उम्मेदवारीको मुद्दालाई साझा मुद्दा बनाएर आफ्नो दल, आफ्नो निर्वाचन क्षेत्रभित्र उम्मेदवारी लिनको लागि आफ्नो भूमिकालाई परिवर्तन गर्न जरुरी रहेको पनि बताइन्।

उनले उम्मेदवारी दिने कुरा नभइ लिने कुरा भएकोले महिला नै यसमा सक्रिय बन्नुपर्ने बताइन्। उपसभामुख भुसालले महिलाले कुनै भयको जोखिम नलिइकन निर्वाचन लड्ने वातावरण तयार गर्ने जिम्मेवारी पनि महिला नेतृकै काँधमा रहेको बताइन्।

उनले उम्मेदवारीपछि विजय हुनको लागि पनि रणनीति बनाएर अघि बढ्नको लागि समय पर्याप्त रहेको बताइन्।

उपसभामुख भुसालले महिलाले प्रतिष्पर्धामा जान आफूलाई तयार गर्नुपर्ने भन्दै अहिलेको समयमा प्रतिष्पर्धा कोसँग गर्ने भन्नेकुरा दोस्रो भएकोले प्रतिष्पर्धामा उत्रिन आफ्नो भुमिकालाई परिवर्तन गर्ने र सशक्त ढंगबाट अघि बढाउने कुरालाई नै प्राथमिकतामा राख्नुपर्ने बताइन्।

उनले भनिन्, ‘अहिले नयाँ संविधान आएपछि उम्मेदवारको प्रावधानलाई हटाएर ३३ प्रतिशत महिला सांसदको व्यवस्था गरेको छ। जसले गर्दा समानुपातिक निर्वाचन प्रणालीतर्फ महिलाहरुले बढी अवसर प्राप्त गरेको देखियो। किनभने प्रत्यक्षमा उम्मेदवारी कम पाउने, पाएपनि विजयी हुने संख्या न्यून रहेको कारणले समानुपातिक निर्वाचन प्रणालीबाट ३३ प्रतिशत महिला सांसद पुर्याउनुपर्ने भएको हुनाले समानुपातिक निर्वाचन प्रणाली महिला नेतृत्वको लागि हो कि भन्ने नयाँ वहस प्रारम्भ पनि भयो। जुन कुरा समानुपातिक निर्वाचन प्रणालीले भनेको होइन। प्रत्यक्षबाट महिलाको उम्मेदवारी सबैभन्दा बढी दिएर बढी भन्दा बढी महिला निर्वाचित गरायौँ भनेमात्र समानुपातिक निर्वाचन प्रणालीबाट महिलाको संख्या घट्नसक्छ।’

त्यस्तै नेकपा एमालेकी सांसद विन्दा पाण्डेले हरेक दलका महिला नेतृहरुले आफूले प्रतिष्पर्धा गर्ने निर्वाचन क्षेत्रबाट लड्छु भन्ने दाबी गर्न आह्वान गरिन्।

उनले अहिले हुने निर्वाचनमा कम्तिमा पनि ५० प्रतिशत वा समानुपातिक महिला उम्मेदवारी दिने कुरा अहिलेका राजनीतिक दलहरुले गर्नुपर्ने बताइन्।

उनले संविधानको रक्षा गर्न बनेको दाबी गर्दै आएको गठबन्धनको सरकारले यदी महिलालाई संविधानले भनेबमोजिम अधिकार दिएर संविधानको रक्षा गर्ने हो भने संवैधानिक व्यवस्थाअनुसार समानुपातिक संख्यामा महिलाहरुको पनि उम्मेदवारी दिनेकुरा सोच्नुपर्ने बताइन्। उनले एक तिहाई निर्वाचन क्षेत्र आरक्षण वा समानुपातिक उम्मेदवार दुईमध्ये एकमा जानुपर्ने बताइन्। 

त्यस्तै नेपाली कांग्रेसकी महासमिति सदस्य एवं नेपाल महिला संघकी अध्यक्ष उषाकुमारी राउत मिश्रले कुनैपनि राजनीतिक दलले ५० प्रतिशतलाई उम्मेदवारी बनाउनैपर्ने बताइन्। उनले शक्तिशाली नेताहरुसँग महिलालाई प्रतिष्पर्धामा उतार्नु नहुने बताइन्।

उनले समानुपातिक निर्वाचन प्रणालीबाट पुरुषलाई ल्याएर भएपनि महिलालाई आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी र जित सुनिश्चितताको लागि राजनीतिक दलहरुले कदम चाल्नुपर्ने बताइन्।

उनले गठबन्धनको नाममा जित्न सक्षम महिलाको स्थानमा अर्को पार्टीलाई पठाउने परिस्थित नदोहोर्याउन पनि आग्रह गरे। अध्यक्ष राउतले महिला कुनै पनि तहमा बसेर काम गर्न सक्षम रहेको भन्दै चुनाव लड्नका लागि पैसा चाहिन्छ, तिमीसँग छैन भन्ने किसिमबाट महिलालाई पाखा लगाउन नहुने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .