ad ad

राजनीति


बाजुराबाट चुनाव लड्ने तयारीमा वौद्धिक युवा अंगराज तिमल्सिना

बाजुराबाट चुनाव लड्ने तयारीमा वौद्धिक युवा अंगराज तिमल्सिना

डा. अंगराज तिमल्सिना।


नेपालखबर
साउन २८, २०७९ शनिबार १३:२४, काठमाडौँ

राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को भ्रष्टाचार विरोधी परियोजनाका ‘ग्लोबल प्रोग्राम इड्भाइजर’ हुन् डा. अंगराज तिमल्सिना। उनले अमेरिकास्थित ‘थिंक ट्यांक र्‍यान्ड कर्पोरेसन’अन्तर्गत ग्य्राजुएट स्कुलबाट आर्थिक नीति विश्लेषणमा फ्रान्सिस फुकुयामा मातहत रहेर विद्यावारिधि गरेका हुन्।

तिमल्सिनासँग त्यही थिंक ट्यांकमा रहेर द्वन्द्वोत्तर मुलुकको पुनर्निर्माणदेखि विकासशील मुलुकहरुको शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा पनि काम गरिसकेको अनुभव छ। सिंगापुरमा रहेर ६० भन्दा बढी मुलुकलाई सुशासन र भ्रष्टाचार विरोधी मामिलामा सघाउँदै आएका उनी यतिबेला नेपालमा छन्।

तिमल्सिना यूएनडीपीको जागिर छोडेर प्रतिनिधिसभा सदस्यका रुपमा राजनीतिमा ‘डेब्यु’ गर्ने चाहना राखेर छलफल र भेटघाटलाई तीब्रता दिँदै आएका छन्।

उनले नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसबाट राजनीति गर्न चाहेका छन्।

त्यसका लागि उनले केही समयअघि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष कांग्रेसबाट राजनीति गर्ने आफ्नो चाहना व्यक्त गरिसकेका छन्। भेटमा तिमल्सिनाले प्रधानमन्त्री देउवासँग टिकट दिए जागिर छोडेर कांग्रेसमा आउन तयार रहेको पनि बताइसकेका छन्।   

आफूजस्ता नयाँ अनुहारलाई पार्टीमा भित्र्याए कांग्रेसका लागि सकारात्मक हुने उनको भनाइ थियो। स्वतन्त्रको हावा चलेका बेला कांग्रेसका शुभचिन्तकले पार्टीले नयाँ अनुहार ल्याओस् भन्ने चाहिरहेको तिमल्सिनाको भनाइ थियो।

नेपालखबरसँगको कुराकानीका क्रममा आफूले राजनीतिमा आउन चाहेको कुरा प्रधानमन्त्री देउवा समक्ष राखेको तिमल्सिनाले जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूसँगको भेटमा मैले हामीजस्तालाई ल्याउनुभयो भने पार्टीका लागि पोजेटिभ नै हुन्छ भनेको छु,’ तिमल्सिनाले भने, ‘अहिले स्वतन्त्रको हावा चलेको छ। यस्तो समयमा कांग्रेसले पनि नयाँ अनुहार ल्याओस् भन्ने धेरैले चाहेका छन्।’

कांग्रेसमा नयाँ उर्जा आओस्, एकमत बनाउन सकियोस्, सबैको व्यवस्थापन होस् भन्ने चाहना आफ्नो रहेको पनि उनले बताए। तिमल्सिनाले कांग्रेसले टिकट दिए गृहजिल्ला बाजुराबाट प्रतिनिधिसभा निर्वाचन लड्न चाहेका छन्।

यद्यपि, टिकटको पहिलो हकदार भने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेको नै भएको उनको भनाइ छ। ‘बाजुराका लागि टिकट पाउने पहिलो अधिकार बद्रीजीको हो। तर, बाजुराका लागि मलाई टिकट दिइयो भने म जित्छु,’ तिमल्सिनाले भने।

कांग्रेसले आफूलाई अघि सारे पार्टीमा देखिएको गुट–उपगुट व्यवस्थापन गर्न सक्ने पनि उनले जिकिर गरे। ‘कांग्रेसमा देखिएका गुट–उपगुटको व्यवस्थापन गर्न सक्छु। किनकि मैले कसैलाई पनि चिढ्याएको छैन,’ उनले भने, ‘म युवा पुस्ताको प्रेरणा बुझ्छु। यो कुरा मैले कांग्रेसका अन्य पदाधिकारी र नेताहरुसँग पनि गर्दै आएको छु।’

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाजुराबाट नेकपा एमालेका नेता लालबहादुर थापा विजयी भएका थिए। २८ हजार ६५ मत ल्याएर उनी विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता कविराज पण्डितले २३ हजार १८१ मत प्राप्त गरेका थिए।

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा बाजुरामा अहिले पनि एमाले पहिलो शक्तिका रुपमा देखिन्छ। निर्वाचन आयोगका अनुसार एमालेले २७ हजार ८४४, कांग्रेसले २४ हजार ३०४, नेकपा माओवादी केन्द्रले ४ हजार २२९, नेकपा एकीकृत समाजवादीले १ हजार ६८९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १७२ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .