राजनीति


सिट बाँडफाँटको सकस : गठबन्धनको बैठकअघि तीन दलको छुट्टै छलफल

सिट बाँडफाँटको सकस : गठबन्धनको बैठकअघि तीन दलको छुट्टै छलफल

सागर न्यौपाने
असोज ६, २०७९ बिहिबार २२:६, काठमाडौँ

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बीच शुक्रबार बिहान छुट्टै छलफल हुने भएको छ। पाँच दलीय गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँटमा सहमति नजुटिरहेका बेला तीन दल छुट्टै छलफल गर्न लागेका हुन्।

स्रोतका अनुसार गठबन्धन बैठकमा पेस गर्ने सिट संख्याबारे सहमति गर्न बैठक तय भएको हो। बैठक बस्ने स्थान भने सार्वजनिक भएको छैन।

‘गठबन्धनका शीर्ष नेता र कार्यदल सदस्यबीचको बैठक बस्नुअघि हामी तीन दल बिहान छलफल गर्छौँ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘त्यसपछि मात्र गठबन्धनको सयुक्त बैठक बस्छ।’ 

शुक्रबार दिउँसो २ बजे शीर्ष र कार्यदल सदस्यको बैठक बस्ने अर्का नेताले जानकारी दिए। नेताहरुले शुक्रबार सिट बाँडफाँटबारे सहमति गर्ने तयारी गरेका छन्।

बिहीबार बसेको बैठकमा सिट संख्याबारे कुरा भए पनि कांग्रेसले अडान कायमै राखेर सिट संख्याका विषयमा लचक हुन तयार नभएपछि तीन दल पहिले आपसमा आधिकारिक निर्णय गरेर मात्र गठबन्धन बैठकमा बस्न लागेका हुन्।

उनीहरु शुक्रबारको बैठकमा वारपार हुनुपर्ने पक्षमा छन्।

‘पहिला हामी तीन दलबीच एउटा समझदारी बनाउँछौँ,’ अर्का नेताले भने, ‘भोलि वारपार गरेर जानुपर्छ।’

तीन दलले निर्वाचनकै विषयमा केन्द्रित हुने र गठबन्धन बैठकमा प्रस्ताव गर्ने संख्याबारे छलफल गर्न लागेका हुन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४० र जसपाले ३२ सिट दाबी गरेका छन्।

बिहीबारको बैठकमा समयसीमा तोकेर छलफल गरी सिट बाँडफाँट टुंगो लगाउनपर्ने कुरा उठेको थियो।

‘हामीले समयसीमा तोकेर छलफल गरौं र हाम्रोतर्फबाट टुंगो लगाऊँ भनेका छौँ,’ कार्यदल सदस्यले भने, ‘धेरै समय लगाउँदा र दैनिक छलफल मात्र हुँदा निर्वाचन क्षेत्रमा खटिन पाइएन, त्यसपछि भोलि निर्णायक बैठक बसेर टुंगो लगाउने कुरा भएको छ।’

कांग्रेसले आफ्नो दाबी प्रस्ताव नगर्दा आफूहरुले सिट दाबी गर्न नपाएको अन्य तीन दलका नेताहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .