ad ad

राजनीति


१० बुँदे पक्षधरले ‘माफी माग्नपर्ने’ हल्ला काल्पनिक मात्र हो : एमाले

उपमहासचिव गुरुङ भन्छन्– मापदण्ड तोकेका छौं, जो लोकप्रिय छ उसैले टिकट पाउँछ
१० बुँदे पक्षधरले ‘माफी माग्नपर्ने’ हल्ला काल्पनिक मात्र हो : एमाले

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०७९ शुक्रबार ८:३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० बुँदे पक्षधरका नेताहरुको विषयमा भएको हल्ला काल्पनिक र बजारले गरेको प्रश्न मात्र भएको दाबी गरेको छ। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको पार्टीको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जित सुनिश्चित भएको व्यक्तिलाई पार्टीले टिकट दिने उल्लेख गरे। 

‘१० बुँदे पक्षधरको हकमा आत्मालोचना सहित माफी मागेको खण्डमा मात्र टिकट दिने भन्ने हल्ला के हो?’ भन्ने संचारकर्मीको प्रश्नमा जवाफ दिँदै गुरुङले भने,‘यो काल्पनिक प्रश्न हो। यो बजारले गरेको हल्ला र प्रश्न मात्र हो।’

उनका अनुसार बिहीबारको सचिवालय बैठकमा १० बुँदे वा माओवादीबाट आएकाहरुको बारेमा कुनै छलफल नभएको उनले बताए। ‘हामीले आज १० बुँदे वा माओवादीबाट एमालेमै बसेकाहरुको हकमा के गर्ने भनेर यस्तो विषयमा हाम्रो एजेण्डा नै थिएन्।’

१६५ वटै निर्वाचन क्षेत्रको उम्मेदवारका विषयमा केन्द्रीत रहेर छलफल भएको उनले बताए। ‘हाम्रो एजेण्डा त के थियो भने, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा को को उम्मेदवार हुन सक्छन्,’ पार्टी प्रचार विभाग प्रमुख समेत रहेका गुरुङले भने, ‘हामीले मापदण्ड तोकेकै छौं, अरु मापदण्ड जे जे भएपनि पहिलो मापदण्ड के हो भने, जो लोकप्रिय छ, जसले हाम्रो विजयलाई सुनिश्ति गर्न सक्छ त्यसलाई हामीले प्राथमिकता दिने हौं।’

कोही व्यक्ति भर्खर आएको वा पहिल्यैको भएको भन्दा पनि परिस्थिति हेरेर टिकट दिनेगरी छलफल भएको उनले बताए। 

‘कुनै व्यक्ति भर्खरै आएको भएपनि त्यहाँको परिस्थितिले हामी धेरै कमजोर छौं भने त्यहाँ हामीले साथीहरुलाई ढोका खोलेका छौं,’ गुरुङले भने, ‘यस्तो निर्णयहरुको बारेमा कुन व्यक्ति कहिले आएको भन्ने भन्दा पनि तल्ला कमिटीबाट आएका नामहरु कम्पाएल गरेर महासचिवले बैठकमा पेश गर्नुभएको छ। त्यसको आधारमा आवश्यक छलफल गरेर निरन्तर अघि बढाउँछौं।’

टुंगिएन प्रत्यक्ष उम्मेदवार, समानुपातिकको जिम्मा ओलीलाई
बिहीबार मध्यरातसम्म अध्यक्ष केपी शर्मा ओली निवास बालुवाटारमा बसेको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको सूची तयार गरेन्।

संभावित उम्मेदवारहरुको बारेमा छलफल चलाएपनि कुनै ठोस निर्णय नभएको गुरुङले बताए। 

उनका अनुसार अर्को बैठकले यसबारे निर्णय लिनेछ। ‘२१ वा २२ गते बस्ने सचिवालय बैठकबाट हामी उम्मेदवारको टुंगो लगाउँछौं,’ गुरुङले बैठकपछि संचारकर्मीसँग भने। 

त्यस्तै, सचिवालय बैठकले समानुपातिक सांसदको सूची थपघटको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। ‘हामीले जे लिस्ट तयार पारेको थियौं वा प्रस्ताव गरेको थियौं त्यसमा अध्यक्ष ज्यूलाई आवश्यक थपघट गर्न सक्ने अधिकार प्रत्यायोजन गरेका छौं,’ गुरुङले भने। 

एमालेले यसअघि समानुपातिक निर्वाचनतर्फको बन्दसूची असोज ३ मा बुझाएको थियो। बन्दसूची हेरफेर गर्न आयोग १६ असोजसम्मको मिति तोकेको छ। 

आयोगको कार्यक्रम अनुसार आगामी २३ असोजमा मनोनयन दर्ताको कार्यक्रम छ। त्यसअघि राजनीतिक दलहरु उम्मेदवार टुंगो लगाउने कसरतमा लागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .