ad ad

राजनीति


एमालेले मानसिक यातना दियो, ओलीले गुटबन्दी छाडेनन् : द्वारिकलाल चौधरी

‘एमालेले जिम्मेवारीविहीन बनायो, मासुभात खाँदै भोट माग्न हिँड्ने कुरा आएन’
एमालेले मानसिक यातना दियो, ओलीले गुटबन्दी छाडेनन् : द्वारिकलाल चौधरी

तस्बिर : प्रचण्डकाे सचिवालय।


नेपालखबर
असोज १६, २०७९ आइतबार ११:४४, काठमाडौँ

नेकपा एमालेको सुनसरी जिल्ला प्रमुख भएर काम गरिसकेका चर्चित नेता द्वारिकलाल चौधरी आइतबार अकस्मात खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर माओवादीमा प्रवेश गरे। अघिल्लो दिनसम्म माओवादीमा प्रवेश गर्ने समाचार झूठा रहेको बताइरहेका चौधरीले आइतबार बिहान नेपालखबरसँग भने,‘मैले माओवादीमा ज्वाइन नै गरिसकें त।’

नेकपा एमालेबाट तीन कार्यकाल स्थानीय तह जितेका चौधरी इटहरी उपमहानगरपालिकाका निर्वमान मेयर हुन्। गत बैशाखमा सम्पन्न स्थानीय चुनावमा भने एमालेले उनलाई टिकट नदिई यामकुमार सुब्बालाई दियो, जो कांग्रेसका हेमकर्ण पौडेलसँग झण्डै ५ हजार मतान्तरले हारे। उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरीले गठबन्धनका उम्मेदवार केशवकुमार विष्टलाई झण्डै दोब्बर मतान्तरले हराइन्।

सुनसरी एमालेमा स्थानीय चुनावअघि देखि नै आन्तरिक विवाद देखिँदै आएको छ। यही आन्तरिक विवादकै कारण एमालेले धरान र इटहरी उपमहानगरपालिका दुबैमा प्रमुख पद गुमाएको विश्लेषण पार्टीभित्र भइरहेका बेला फेरि एकचोटि इटहरी एमालेमा पहिरो गएको छ।

चुनाबको स्थानीय थारु समुदायमा भिजेका एमाले नेता द्वारिकको एमाले परित्याग गर्ने घोषणाले पार्टीभित्र खैलाबैला मच्चिएको छ। माओवादीनेताहरुले आफ्नो पार्टीमा ल्याउँदै गर्दा चौधरीलाई केन्द्रीय तहको जिम्मेवारी दिने बताएका छन्।

आइतबार पार्टी प्रवेश कार्यक्रममा माओवादी नेताहरु राम कार्की, निर्मल बराल र मुक्साहाङ मेन्याङ्बा् लगायतको सहभागिता देखिएको थियो।

तपाईलाई अब गठबन्धनले संघमा टिकट दिन्छ कि प्रदेशमा भन्ने नेपालखबरको प्रश्नमा चौधरीले भने, ‘अब कहाँ दिन्छन्, त्यो पार्टीको कुरा भो।’

चौधरीले थपे, ‘हिजो अस्तिसम्म म जुन पार्टीमा थिएँ, त्यहाँ मैले भनें– मलाई पार्टीको कुनै पनि जिम्मेवारी छैन। त्यत्तिकै तिमीहरुले मासुभात दिएको भरमा मासुभात खाँदै, झण्डा बोक्दै भोट माग्दिन्छु? आम सर्वसाधारणजस्तो हो? मान्छेको जिम्मेवारी हुनुपरेन?’

आखिर इटहरीका पूर्वमेयर चौधरीले चार दशकभन्दा बढी समय बिताएको नेकपा एमाले किन छाडे त ? नेपालखबरको प्रश्नको जवाफ चौधरीकै शब्दमा–    

प्रथमतः म लामो समयदेखि, खास गरी नेकपा एमालेको दशौं महाधिवेशनयता पार्टीको कुनै सांगठानिक जिम्मेवारीमा थिइनँ। गत बैशाखमा पालिकाको निर्वाचनका बेला कुनै जिम्मेवारीमा नहुँदा पनि मैले आफ्नो पार्टीलाई जिताउन कुनै कसर बाँकी राखिनँ। त्यति गर्दा पनि मूल्यांकन उल्टो भयो। चुनावी परिणाममा मेयर एमालेले जितेनन्, उपमेयरमा मात्रै आए। मेयर नआउनुमा प्रमुख कारक मेरो क्रियाकलापलाई राखेको रहेछ। मलाई दिनैपिच्छे अपमानित गर्ने र हुर्मत लिनेखालका कामहरु जिम्मेवार नेतृत्व र कार्यकर्ताहरुबाट भयो।

दोस्रो, संगठन बनाउने भन्दा पनि गुट निर्माण गर्ने काम भयो। अध्यक्ष जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले हिजो गुटबन्दी गर्नु बेग्लै कुरा हो, अब त गुटबन्दी छोड्नुपर्ने हो नि। तर, अहिले पनि पार्टीका केन्द्रीय अध्यक्षले गुटबन्दी छोड्नुभएको छैन। यो कुरा हामी सबैले अनुभूत गर्न पाउँछौं।

तेस्रो, नेकपा एमालेको विधानले पार्टी सदस्यको योग्यता तोकेको छ। यो कुनै पनि हिसाबले योग्य नभएको व्यक्तिलाई चुनावका लागि पार्टीमा प्रवेश गराउने काम भएको हामीले देख्यौं। अहिले तराई मधेसबाट नेपालकै राजनीतिमा बदनाम भएका मान्छेहरुलाई एमालेमा ल्याइराखेका छन्। म कसैको नाम उल्लेख गर्न चाहन्नँ, तपाईहरुलाई थाहै छ।

पार्टीमा भइरहेका इमान्दार मान्छेहरुलाई चाँहि नेतृत्वलाई देवत्वकरण नगरेका कारण पार्टीभित्रको ज्यानी दुस्मन ठानेर उपेक्षा गर्ने र मानसिक यातना दिने काम भइरहेको छ। त्यसैले मैले विद्रोह गरें। अरु साथीहरु पनि एमालेभित्र यो पीडा खपेरै बसिरहनुभएको छ। मलाई लाग्छ उहाँहरुले पनि आउँदा दिनमा विद्रोह गर्नुहुनेछ।

यत्रो कम्युनिस्ट पार्टीको उहाँ अध्यक्ष हुनुहुन्थ्यो। उहाँले न आफ्नो नेतृत्वको संघीय सरकार जोगाउन सक्नुभो, न प्रदेश सरकार जोगियो। पार्टीलाई नै मिलाएर राख्न सक्नुभएन।

कतिपयले त पद र अवसरका लागि पनि निर्णय गरेको होला भन्दिन सक्छन् मान्छेहरुले। अहिले त कस्तो छ भने सँगै रहँदा र सहयात्रा गर्दाखेरि महान भन्ने, सहयात्रा छुट्यो भने वामपन्थीहरुमा रेकर्ड नै छ– दक्षिणपन्थी अवसरवादी पथभ्रष्ट हावा भन्दिने। मानिसले टिकटसँग जोडेर हेर्न सक्छन्।

तर, एउटा जिम्मेवार व्यक्ति चुप लागेर बस्न सक्दैन। ऐतिहासिक धर्म इत्यादिको कुरा गर्दाखेरि एउटा योद्धा लडाइँमा चुप लागेर बस्न सक्दैन। बरबरिकलाई कसैले पनि निम्ता गरेको थिएन। अन्तिममा उसले मलाई कसैले पनि निम्ता नगर्ने? जो कमजोर हुन्छ, यसको पक्षबाट लड्छु भनेको थियो। त्यसैले अब यस्तो निर्णय धेरैले गर्दै जानुहुनेछ।

हिजो स्थानीय चुनावमा त महाधिवेशन भएको ४–५ महिनामात्र भएको थियो। साथीहरुको व्यवस्थापन गर्नलाई केही समय लाग्ने भो इत्यादि भनियो। अहिले पालिकाको निर्वाचनपछि पनि पार्टीभित्र धेरैको कामको जिम्मेवारी बाँडफाँट गर्दिएको छ। त्यसमा मैले कहीँ कतै कुनै जिम्मेवारी पाउन सकिनँ। म यसरी जिम्मेवारीविहीन भएर त बस्न सक्दिनँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .