दलहरुको दोहोरो दाबीले सत्तारुढ गठबन्धनको सोमबार बिहानदेखि बसेको बैठकबाट सहमति जुट्न सकेन।
बिहान ८ बजेदेखि साँझसम्म बसेको बैठकमा ६ भन्दा धेरै स्थानमा दलहरुको दोहोरो दाबी कायमै रहेपछि सोमबार सहमतिमा हस्ताक्षर हुन सकेन।
गठबन्धन बैठकमा सहभागी एक नेताका अनुसार नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच २ सिटमा कुरो मिल्न बाँकी छ। दुवै दलले दाबी गरेपछि ती २ सिटमा सोमबार सहमित बनेन।
त्यसैगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पनि २ सिटमा दोहोरो दाबी कायमै छ। अर्कातिर कांग्रेस र माओवादीबीच पनि २ सिटमा कायम दोहोरो दाबी यथावत छ। यसबारे पनि मंगलबारको बैठकमा सहमति जुट्ने दाबी नेताहरुले गरेका छन्।
तर ती नेताका अनुसार गठबन्धनका दलहरुले दोहोरो दाबी भएकामध्य धेरै क्षेत्रमा सहमति जुटाएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले सिट बाँडफाँटमा सहमतिको रुपरेखा तयार पारे पनि दोहोरो दाबीले कुरो नटुंगिएको हो।
यद्यपि सहमति मस्यौदा तयार पार्न गठन गरेको कार्यदल,पाँचै दलका शीर्ष नेतृत्व र गठबन्धन संयन्त्रबीचको बैठक सहमति उन्मुख भएको एक नेताले जानकारी दिएका छन्।
'प्रतिनिधि सभाको १६५ र प्रदेश सभाका ३३० सिटमध्य दोहोरो दाबी भएका धेरैमा सहमति जुटिसकेको छ', ती नेताले भने, 'अब फेरि भोलि बिहान ८ बजे बैठक बसेर दोहोरो दाबी भएका बाँकी स्थानमा पनि सहमति जुटाउनेछ।'
गठबन्धनबीच कुरा नमिलेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले अन्य दलसँग मिल्ने विकल्प खुला राखेको थियो। उसले एमालेसँग तालमेलका लागि संवाद पनि थालिसकेको थियो।
'अब सहमति गरेर हस्ताक्षर हुने सम्भावना बढेको छ, भोलि बिहानको बैठकमा केही घोषणा हुन सक्छ,' ती नेताले नेपालखबरसँग भनेका छन्।
Shares
प्रतिक्रिया