ad ad

राजनीति


प्रचण्डले कांग्रेसबाट भित्र्याए, टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए

प्रचण्डले कांग्रेसबाट भित्र्याए, टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए

नेपालखबर
असोज २५, २०७९ मंगलबार १०:५८, सर्लाही

चुनावमा टिकट पाउने लोभमा माओवादी प्रवेश गरेका सर्लाहीका जबाहरलाल कुशवाह जिल्लिएका छन्।

गत साउनमा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भित्र्याएका कुशवाह खाली हात भएपछि स्वतन्त्र उम्मेदवार बनेका छन्। 

कुशवाह सर्लाही क्षेत्र नम्बर ३ ‘क’ मा माओवादीबाट प्रदेश सभाको उम्मेदवार बन्न चाहन्थे। तर, माओवादीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

नेपाली कांग्रेसका क्षेत्रीय सभापति कुशवाह तीन महिनाअघि  उक्त पार्टी छाडेर टिकटकै लोभमा माओवादीमा प्रवेश गरेका थिए। 

गत ७ साउनमा सर्लाहीको सोल्टी बजारमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेताले कुशवाहलाई भित्र्याएका थिए। 

एक साताअघि मात्रै पार्टी प्रवेश गरेका नरेन्द्र साहलाई माओवादीले सर्लाही ३ मा संघीय संसदको टिकट दिइसकेको छ। 

सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका डिल्लीप्रसाद उप्रेतीले सर्लाही ३ ‘क’ को टिकट पाउँदा कुशवाह जिल्लिए।

मधेश प्रदेशका निवर्तमान सांसदसमेत रहेका उप्रेतीलाई पार्टीले फेरि टिकट दिएको हो। 

सत्ता गठबन्धनबाटै कुशवाहाको उम्मेदवारी परेपछि उप्रेती भने समस्यामा परेका छन्। 

एमालेले सर्लाही ३ ‘क’ मा गणेश प्रसाईंलाई उम्मेदवार बनाएको छ।

हरिवन नगरपालिकाका पूर्व मेयर प्रसाईं स्थानीय तहको निर्वाचनमा हरिवन नगरपालिकाको मेयर पदमा पराजित भएका थिए। 

मेयरमा पराजित व्यक्तिलाई पार्टीले फेरि प्रदेशको टिकट दिएको भन्दै एमालेमा भने असन्तुष्टि बढेको छ। 

प्रसाईंविरुद्ध एमालेकै रेणुका पौडेलले बागी उम्मेदवारी दिएकी छन्।

प्रसाईं हरिवनको मेयर हुँदा पौडेल उपमेयर थिइन्। गत निर्वाचनमा प्रसाईंकै कारणले आफू उपमेयरमा दोहोरिन नपाएको गुनासो उनले गरिरहेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .