राजनीति


गोविन्दराजलाई रोक्दा पराजित रामचन्द्रले यसपालि किन हालेनन् उजुरी?

गोविन्दराजलाई रोक्दा पराजित रामचन्द्रले यसपालि किन हालेनन् उजुरी?

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०७९ बुधबार १६:४८, काठमाडौँ

नेकपा माओवादीले जनयुद्धका समयमा डोल्पा सदरमुकाम दुनैमाथि आक्रमण गर्दा गृहमन्त्री रहेका कांग्रेस नेता गोविन्दराज जोशी २०७४ को आम निर्वाचनमा तनहुँ–१ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।

तर, आफूविरुद्ध बागी उम्मेदवारी दिएका जोशीविरुद्ध कांग्रेस वरिष्ठ नेता पौडेलले निर्वाचन आयोगमा उजुरी दिएपछि जोशीको उम्मेदवारी खारेज हुन पुग्यो।

भ्रष्टाचार मुद्दामा विशेष अदालतको १० साउन २०६९ को फैसलाबाट दोषी ठहर गरेकाले जोशी उम्मेदवार हुन नसक्ने दावीसहित पौडेलले ०७४ मा उजुरी दिएका थिए।

त्योबेला उम्मेदवारी नै खारेजीमा परेका जोशीले यसपटक पनि तनहुँ-१ मा उम्मेदवारी दिएका छन्। तर, यसपटक भने जोशीविरुद्ध उजुरी दिन पौडेलले आवश्यक ठानेनन्। 

खासमा जोशीको स्वतन्त्र उम्मेदवारीबाट चुनाव जित्न चुनौतीभन्दा सहयोग पुग्ने देखिएपछि पौडेलले यसपटक जोशीको उम्मेदवारी खारेज प्रयास नगरेका हुन्।

२०७४ : जोशीलाई चुनौती ठान्दा हार
२०७४ मा जोशीको बागी उम्मेदवारीबाट आफ्नो जीतमा असर पुग्ने पौडेलले ठानेका थिए। यही कारण पौडेल आफैँ अघि सरेर जोशीको उम्मेदवारी खारेजीका लागि उजुरी दिएका थिए।

अरु कसैलाई लगाएर उजुरी दिए हुने आफ्नै नाममा उजुरी दिएपछि पौडेलको आलोचनासमेत भएको थियो।

यसपटक पनि पौडेल हराउनकै लागि जोशीले स्वतन्त्र उम्मेदवारी दिएको बुझ्न गाह्रो छैन।

पौडेललाई हराउन नसकेको स्थितिमा पनि जोशी यो निर्वाचनबाट आफ्नो शक्ति परीक्षण र प्रदर्शन दुवै गर्ने जोशीको योजना देखिन्छ। 

जोशीले यी दुई उद्देश्य साथ पौडेलले प्रतिस्पर्धा गरेकै क्षेत्रमा उम्मेदवारी दिए पनि यसपटक भने पौडेलले जोशीको उम्मेदवारीबाट चुनौती होइन, ‘सहयोग’ पुग्ने ठानेका छन्।

२०४८ देखि लगातार तनहुँबाट संसदमा निर्वाचित हुँदै आएका पौडेल २०७४ मा पहिलो पटक तनहुँ–१ बाट पराजित भए। 

वामगठबन्धनको तर्फबाट एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ 'किसान'ले उनलाई पराजित गरेका थिए।

आफैँ अघि सरेर जोशीको उम्मेदवारी खारेज गराउनु नै वरिष्ठ नेता पौडेलको हार र श्रेष्ठको विजयको कारण बनेको थियो।

त्यो निर्वाचनमा एमालेका विजयी श्रेष्ठले ३४ हजार ५ सय ८९ मत ल्याएका थिए। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका पौडेलले २७ हजार ६ सय ७५ मत प्राप्त गरेका थिए।

श्रेष्ठ र पौडेलबीचको मतान्तर ६ हजार ४ सय १४ थियो।

२०४८ देखि निरन्तर तनहुँबाट विजय हासिल गर्दै आएका पौडेलले आफैँ उजुरी दिएर जोशीको उम्मेदवारी रद्द गराएपछि आक्रोशित जोशी समूहले एमाले उम्मेदवार श्रेष्ठलाई सघाएको थियो।

भ्रष्टाचार मुद्दाका अलावा पौडेलसँगको अन्तरद्वन्द्वका कारण कांग्रेस जोशी कांग्रेस राजनीतिबाट पाखा पारिएा थिए। 

तर, तनहुँको स्थानीय राजनीतिमा पौडेलजत्तिकै प्रभावशाली जोशी समूहको साथ पाएपछि एमाले उम्मेदवार श्रेष्ठले आश्चर्यजनक जीत हासिल गरेका थिए।

जोशीको उम्मेदवारी कायमै रहेको भए उनको मत एमाले उम्मेदवार श्रेष्ठले प्राप्त गर्ने थिएनन्। तर, जोशीको उम्मेदवारी रद्द गरिदिदा उनले प्राप्त गर्ने मत एमाले उम्मेदवार श्रेष्ठको पक्षमा पुग्यो।

पौडेल–जोशी अन्तरद्वन्द्व
दुवै नेता कांग्रेस राजनीतिमा भए पनि पौडेल–जोशीबीच पञ्चायतकालदेखि नै मिल्ती थिएन। तर, दुईबीचको अन्तरद्वन्द्व भने २०५१ को निर्वाचनपछि सतहमा आयो।

जोशी २०६४ को पहिलो पहिलो संविधान सभा निर्वाचनमा तनहुँ-१ बाट पराजित भएपनि सो क्षेत्रमा उनले २०५१ र २०५६ गरी दुई पटक त्यहाँबाट विजय हासिल गरेका थिए।

जोशीले दुई पटक विजय हासिल गर्नुअघि यो क्षेत्रमा पौडेलले २०४८ मा प्रतिस्पर्धा गरेका थिए। 

१८ हजार २ सय ६८ मत प्राप्त गरी पौडेल विजयी हुँदा संयुक्त जनमोर्चा नेपालका रामनाथ शर्मा ‘अखिल’ ले १३ हजार ८ सय ५९ मत प्राप्त गरेका थिए।

विजयी पौडेल र पराजित अखिलबीचको मतान्तर ४ हजार ४ सय ९ मात्र थियो।

पौडेल यति कम मतान्तरका साथ विजयी हुँदा तनहुँ-२ मा कांग्रेस उम्मेदवार रहेका जोशी भने १४ हजार ४ सय ४९ मतान्तरले विजयी भएका थिए।

विजयी जोशीले २२ हजार ७ सय ९९ मत प्राप्त गर्दा पराजित एमालेका विश्वबहादुर अधिकारीले ८ हजार ३ सय ५० मत  प्राप्त गरेका थिए।

२०४८ को निर्वाचनमा कांग्रेस केन्द्रमा पौडेल भन्दा जोशीको राम्रो सम्बन्ध थियो। त्यहीकारण कांग्रेसको किल्ला मानिएको तनहुँ-२ को टिकट आफूले लिएर जोशीले पौडेललाई तनहुँ-१ मा धकेलिएका थिए।   

भरत शमशेरमार्फत् जोशीको अन्तरिम प्रधानमन्त्री तथा तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईसँग राम्रो सम्बन्ध बनेको थियो। कांग्रेसको किल्ला मानिएको तनहुँ-२ मा त्यहीकारण भट्टराईले जोशीलाई टिकट दिएका थिए।

तर, २०४८ पछि कांग्रेस केन्द्रमा जोशीको भन्दा पौडेलको पहुँच बलियो बन्यो। त्यसैले, २०५१ को निर्वाचनमा पौडेलले तनहुँ-२ को टिकट प्राप्त गरे। र, २२ हजार ६ सय ३९ मतसहित विजयी भए। एमालेका विश्वबन्धु भण्डारीले ६ हजार ४ सय ९३ मत पाए।

जोशी भने अपेक्षाकृत कमजोर तनहुँ-१ मा धकेलिए। तैपनि जोशी १९ हजार ८६ मतका साथ यो निर्वाचन क्षेत्रबाट विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले ११ हजार ३ सय २२ मत पाए।

२०५६ को निर्वाचनसम्म जोशी तनहुँ-१ र र पौडेल पौडेल तनहुँ-२ विजयी हुँदै आए।

तर, २०६४ तनहुँ-१ मा भने जोशी माओवादीका सुरेश आलेमगरबाट पहिलोपटक पराजित हुन पुगे। २०७० मा त उनले टिकट नै पाएनन्।

पौडेल भने २०७० को निर्वाचनसम्म अपराजित रहे।

एमाले–जोशी गठजोड रोक्ने नीति
२०७२ मा संविधान जारी भएपछि पौडेलले प्रतिस्पर्धा गर्दै आएको निर्वाचन क्षेत्र तनहुँ-१ मा पर्यो। २०७० मा जस्तै २०७४ मा पनि नपाउने स्थिति बनेपछि जोशीले यही निर्वाचन क्षेत्रबाट पौडेलविरुद्ध बागी उम्मेदवारी दिए।

तर, पौडेलकै उजुरीका कारण उनको उम्मेदवारी रद्द भयो।

कांग्रेसको केन्द्रीय राजनीतिबाट पाखा पारिए भने तनहुँको राजनीतिमा भने जोशी प्रभावशाली मानिन्छन्। 

जिल्लामा उनको प्रभावकै कारण गत स्थानीय तह निर्वाचनमा एमालेले उनको समूहसँग तालमेल गरेको थियो।

यस अनुसार व्यास नगरपालिकाको मेयरमा एमालेको समर्थनमा जोशीपुत्र दीपकराज जोशी स्वतन्त्र उम्मेदवार बनेका थिए।

विजयी कांग्रेसका बैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गर्दा जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गरेका थिए।

एमालेको समर्थन पाएका जोशीपुत्र दीपक कांग्रेस उम्मेदवार न्यौपानेबाट २ सय २२ मतले मात्र पराजित भएका थिए।

२०७४ मा जस्तै जोशीको उम्मेदवारी खारेज गराउन लागेको भए एमाले–जोशी समूहबीच फेरि गठजोड निर्माण हुनसक्ने स्थिति रहन्थ्यो। एमाले–जोशी मिल्दा पौडेलमाथि चुनौति थपिन्थ्यो। २०७४ मा भएको यही थियो।

खासमा कांग्रेस समर्थकको सबै मत प्राप्त हुने विश्लेषणका साथ पौडेलले २०७४ मा जोशीको उम्मेदवारी खारेज गराउन उजुरी दिएका थिए। जोशीको उम्मेदवारी खारेज गराउन पौडेल सफल पनि भए।

तर, जोशीको उम्मेदवारी खारेजीमा परेपछि आक्रोसित जोशी समूहले वाम गठबन्धनका एमाले उम्मेदवार श्रेष्ठलाई सघाइदिए। जोशी समूहकै साथका कारण एमाले उम्मेदवार श्रेष्ठले सहजै पौडेललाई पराजित गरे।

जोशीको उम्मेदवारी खारेजीमा नपरेको भए तीब्र प्रतिस्पर्धाका बीच सम्भवतः पौडेलले जीत निकाल्न सक्थे। पराजित नै हुँदापनि त्यति ठूलो मतान्तर हुने थिएन।

जोशीको उम्मेदवारी खारेज हुँदा झन् नकरात्मक असर परेको देखिएपछि पौडेलले यसपटक त्यो ‘गल्ती’ दोहोर्‍याउन चाहेनन्।

श्रेष्ठको ‘वाकओभर’, माओवादीको साथ
तनहुँ–१ मा एमाले उम्मेदवार राना र स्वतन्त्र उम्मेदवार जोशीले उम्मेदवारी पिर्ता लिएनन् भने पौडेलका मुख्य प्रतिस्पर्धी यिनै दुईजना हुनेछन्।

अन्तिम समयमा एमाले र जोशीबीच गठजोड हुने सम्भावना अझै बाँकी नै छ। यहीकारण अन्तिम समयसम्म पनि एमालेले तनहुँ-१ मा उम्मेदवारी तय गर्न ढिलाइ गरिरहेको थियो।

तर, एमाले–जोशीबीच गठजोड भए पनि २०७४ मा जस्तो चुनौती पौडेललाई यसपटक छैन। 

किनभने, एकातिर तनहुँ-१ मा पर्ने बन्दीपुर र आबुखैरेनी गाउँपालिकामा माओवादी केन्द्रको पकड छ भने अर्कातिर एमाले विभाजित अवस्थामा छ। 

२०७४ मा पौडेललाई पराजित गर्ने किसान श्रेष्ठ अहिले एमालेबाट विभाजित एकीकृत समाजवादीमा छन्।

पौडेलको विजय सहज होस् भनेर तनहुँ-१ छाडेर श्रेष्ठले बारा-४ रोजेका छन्।

अर्कातिर २०७४ मा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रे यसपटक कांग्रेससँगको गठबन्धनमा छ।

यसअघि पौडेल र जोशी तनहुँको कांग्रेस राजनीतिका ‘आन्तरिक प्रतिस्पर्धी’ थिए। यसपटक भने उनीहरु प्रतिनिधि सभाकै प्रतिस्पर्धी बन्न पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad