ad ad

राजनीति


केपी ओलीसँग मिलेका उपेन्द्रलाई नागरिकता विधेयक भारी पर्ने डर

मंसिर ४ पछि मधेशमा कस्तो होला जसपाको अवस्था?
केपी ओलीसँग मिलेका उपेन्द्रलाई नागरिकता विधेयक भारी पर्ने डर

फाइल तस्बिर


जयन्त ठाकुर
असोज ३१, २०७९ सोमबार १३:५, जनकपुरधाम

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एक्लै लड्ने बताउँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनुषाको एक चुनावीसभामा लोकतान्त्रिक पद्धतिमा साना दलको रेस्क्यु गर्नुपर्ने  भाषण दिए। 

अध्यक्ष ओलीको त्यो दिनको अभिव्यक्ति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तर्फ इंगित थियो। तर, अन्तिम समय एमालेसँग मिल्न जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरियो। 

एमालेसँग तालमेलका लागि राजेन्द्र महतो नेतृत्वमा कार्यदलसमेत बनाएको लोसपा भने सत्ता गठबन्धनसँग मिल्न बालुवाटार छिर्यो। लोसपा सत्ता गठबन्धनतिर टाँसिएपछि जसपाले मधेश प्रदेश, प्रदेश १, लुम्बिनी र सुदूरपश्चिममा समेत तालमेल गरेको छ। 

महन्थ ठाकुरहरु बाहिरिएर पार्टी विभाजित भएपछि शक्ति गुमाएकाले अध्यक्ष उपेन्द्र यादवलाई कुनै न कुनै दलसँग गठबन्धन गरेर चुनावमा जानुपर्ने बाध्यता थियो। 

दुई वर्षसम्म सत्ता गठबन्धनमा रहेका यादव सिट बाँडफाँटमा कुरा नमिलेपछि नाटकीय रुपमा यु टर्न हुँदै तिक्ततापूर्ण सम्बन्ध रहेका ओलीसँग मिल्न पुगे। 

ओली प्रधानमन्त्री हुँदा यादव दिल्ली भ्रमणमा गएका बेला उनको मन्त्रालयले नै फेरिएको थियो। नागरिकतासम्बन्धी आफ्नो प्रस्ताव अस्वीकार गरेपछि जसपाले ओली सरकारबाट बिदा लिएको थियो। 
त्यसयता बिग्रिएको सम्बन्ध संसद विघटनबाट यहाँसम्म आइपुग्दा चुनावी गठबन्धनमा आएर सुध्रिन पुगेको छ।

गठबन्धन सम्झौता आदानप्रदान गर्दै ओली र यादव

सत्ता गठबन्धन छाड्ने निर्णयपछि एमालेसँग मिलेको जसपाका लागि २०७४ को विरासत जोगाउने चुनौती छ। 

त्यही विरासत जोगाउनका लागि यादवले एमालेसँग तालमेल गरे। यो तालमेल अनुसार एमालेले जसपालाई १७ प्रतिनिधिसभा सिटका लागि सघाउने छ भने जसपाले एमालेलाई ३५ सिटमा सघाउनेछ। 

एमालेसँग गठबन्धन गरेको जसपाको स्थिति मधेश प्रदेशमा कस्तो होला? एमाले आफैं पनि २०७४ को निर्वाचनमा कमजोर बनेको थियो। तर गत वैशाखको स्थानीय तह निर्वाचपछिल्लो निर्वाचनबाट एमालेले कमब्याक कोसिस गरेको छ। 

यस्तोमा एमाले-जसपा गठबन्धनले मधेशको राजनीतिमा कस्तो असर गर्ला? अर्कातिर कांग्रेस-माओवादी गठबन्धनसँग भिड्नुपर्ने भएकाले मधेशको राजनीतिको आगामी स्वरुपको अहिलेबाटै चर्चा हुन थालेको छ।

जसपा मधेश प्रदेशमा १५ प्रतिनिधिसभा क्षेत्र र ३२ प्रदेशसभा क्षेत्र लिएर एमालेसँग मिलेको छ। २०७४ को निर्वाचनमा मधेश प्रदेशका ३२ क्षेत्रमध्ये तत्कालीन संघीय समाजवादी पार्टीले १० र तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले ११ प्रतिनिधिसभा क्षेत्र जितेका थिए। 

यी दुई दल मिलेर निर्वाचनमा जाँदा प्रदेशसभामा राम्रै उपस्थिति भयो। मधेश प्रदेशसभातर्फ ६४ निर्वाचन क्षेत्रमध्ये तत्कालीन ससपाले २० र तत्कालीन राजपाले १५ क्षेत्रसहित ३५ क्षेत्र जितेका थिए। 

त्यस्तै ४.१६ प्रतिशत मत ल्याएको तत्कालीन ससपाले समानुपातिकमा प्रतिनिधिसभातर्फ ६ र ३.२२ प्रतिशत मत पाएको तत्कालीन राजपाले ६ समानुपातिक सिट जितेको थियो।

तर निर्वाचनपछि दुवै दल एकता गर्दै जनता समाजवादी पार्टीको उदय भयो। मधेशमा ठूलो शक्तिका रुपमा उदय भएको जसपाभित्रै वर्चस्वको लडाइँ र पदको प्रतिस्पर्धा चल्यो। 

जसको परिणाम जसपा विभाजित भयो। यो अवस्थामा तत्कालीन संघीय समाजवादी पार्टीको समूहले जसपाको मान्यता पायो। तत्कालीन राजपा खेमाका नेताहरुलाई लोसपाको निर्माण गर्नुपर्यो।

जोखिम पनि 
पहिलेभन्दा शक्ति घटेको जसपा २०७४ भन्दा कमजोर हुने आकलन गरिएकोछ। तर जसपा मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले एमालेसँग तालमेल पनि भएकाले परिणाम राम्रो आउने दाबी गरेका छन्।

उनले १५ प्रतिनिधिसभा क्षेत्रमध्ये कम्तीमा १० र ३२ प्रदेशसभा मध्ये कम्तीमा २५ क्षेत्रमा जीत निकाल्ने दाबी गरे। 

तत्कालीन राजपा र अहिलेको लोसपाका कयौँ नेताहरु जसपामै आएकाले पहिलेभन्दा परिणाम राम्रो आउनेमा आफूहरु ढुक्क रहेको अध्यक्षको दावी छ।

अर्कातिर एमालेसँग चुनावी तालमेलका कारण जसपालाई मधेश प्रदेशमा ठूलै धक्का लाग्न सक्ने अनुमान पनि एकथरीले गरेका छन्। 

बहुचर्चित र विवादित नागरिकता विधेयक पास हुन नदिनुमा एमाले कारक रहेको जनबुझाइको असर जसपामाथि पर्न सक्छ। नागरिकता विधेयकको विरोधी दलसँग चुनावी तालमेल गरेको तर्कले पनि मधेशका जसपाको मतलाई असर गर्न सक्छ।

तर, जसपा मधेश प्रदेश अध्यक्ष यादवले यसले नागरिकता प्रकरणले कुनै असर नगर्ने बरु जसपाको शक्ति थप बढ्ने दाबी गरे। 

‘नागरिकता विधेयक पास नहुनुमा एमाले ठूलो कारक भएको कुरा छ। तर एमालेसँगै चुनावी तालमेल गर्दा त्यो समस्या समाधान गर्न सजिलो हुने भएकाले तालमेल गरेका छौँ,’ उनले भने। 

यदि एमालेले चुनावपछि पनि यसमा आनकानी गरे उसलाई मधेसमा फेरि नङ्ग्याउने चेतावनीयुक्त भाषा पनि उनले प्रयोग गरे। 

सप्तरी २ मा उम्मेदवारी मनोनयनका उपेन्द्र यादव

को कहाँबाट?
जसपाले एमालेको साथ लिएर मधेश प्रदेशको सप्तरी १ बाट नवलकिशोर साह, सप्तरी २ बाट अध्यक्ष उपेन्द्र यादव, सप्तरी ४ मा बालकिशोर यादव, सिरहा २ मा राजकिशोर यादव,  सिरहा ४ मा डा. वीरेन्द्र महतो, धनुषा १ मा दीपक कार्की, धनुषा २ मा गंगाराम यादव, महोत्तरी ३ मा हरिनारायण यादव, महोत्तरी ४ मा डा. सुरेन्द्र यादव, सर्लाही १ मा प्रमोद साह, सर्लाही ४ मा राकेश मिश्र, रौतहट २ मा शैलेन्द्र साह, बारा २ मा रामसहाय यादव, पर्सा १ मा प्रदीप यादव र पर्सा २ मा सुरेन्द्र कुर्मीलाई उठाएको छ। 

अंकगणित
स्थानीय तहको पछिल्लो परिणामलाई आधार मान्दा सप्तरी २ मा सत्ता गठबन्धनको ३३ हजार १ सय ८४ मत छ। यहाँ एमाले-जसपा गठबन्धनसँग २० हजार २ सय ५४ मत छ। 

त्यस्तै सप्तरी ४ मा सत्ता गठबन्धनको २५ हजार ७ सय २३ मत छ। एमाले-जसपा गठबन्धनको ३५ हजार १ सय ७१ मत छ। यहाँ एमाले-जसपा बलियो देखिएका छन्। 

सिरहा २ मा सत्ता गठबन्धनको ३३ हजार ८ सय ९५ मत छन भने एमाले-जसपा गठबन्धनको ३२ हजार २ सय ४८ मत छ।

सिरहा ४ मा सत्ता गठबन्धनको २८ हजार २ सय ९९ मत छ। अर्कातिर एमाले-जसपा गठबन्धनसँग २८ हजार २ सय ८५ मत छ।

महोत्तरी ३ मा सत्ता गठबन्धनको २९ हजार ५ सय ४३ मत छ। एमाले-जसपा गठबन्धनसँग २५ हजार १ सय ७७ मत देखिएको छ।

महोत्तरी ४मा सत्ता गठबन्धनसंग ३७ हजार ८ सय ६२ मत छ भने एमाले जसपा गठबन्धनसंग २० हजार १ सय ४० मत छ।

त्यस्तै धनुषा १ मा सत्ता गठबन्धनसँग ३० हजार ८ सय ६२ मत छ। तर यहाँ एमाले-जसपा गठबन्धन कमजोर देखिएको छ। यहाँ यी दुई दलको १७ हजार ५ सय २४ मत मात्रै छ। 

रौतहट २ मा सत्ता गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा ४४ हजार १ सय ७० मत परेको थियो। यहाँ पनि एमाले-जसपा गठबन्धनलाई २७ हजार ६ सय ८३ मत मात्रै परेको थियो। 

बारा २ मा सत्ता गठबन्धनको ३९ हजार ६ सय ७१ मत छ। एमाले-जसपा गठबन्धनसँग ४० हजार २ सय ४६ मत छ। यहाँ एमाले-जसपा केही बलियो देखिएका छन्।

पर्सा-१ मा सत्ता गठबन्धनको २० हजार ३ सय ३७ मत छ। एमाले-जसपा गठबन्धनको २९ हजार ४१ मत छ। 

पर्सा २ मा सत्ता गबन्धनसँग २८ हजार २ सय १९ मत छ। यो क्षेत्रमा एमाले-जसपा गठबन्धन ३२ हजार १ सय ६३ मतसहित बलियो देखिएका छन्। 

स्थानीय तहको मतलाई आधार मान्दा मधेश प्रदेशमा एमाले-जसपा गठबन्धनको अवस्था उत्साहजनक देखिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .