ad ad

राजनीति


दिल्लीमा भोट माग्दै नेपाली उम्मेदवार, मःम बेच्दै मतदाता

दिल्लीमा भोट माग्दै नेपाली उम्मेदवार, मःम बेच्दै मतदाता

दल्लीस्थित विमानस्थलमा नेपाल वायुसेवा निगमको काउन्टरमा बोडिङ पास लिने तयारीमा नेपाली यात्रु


अरुण बराल
कात्तिक ३, २०७९ बिहिबार १०:१, नयाँ दिल्ली

अर्घाखाँचीका कपिल खनाल (चोपलाल) प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार हुन्। उनी भोट माग्न जिल्लामा सक्रिय हुनुपर्ने बेला भारतको नयाँदिल्लीमा छन्। शायद, भारतीय ‘कहावत’ चोपलालकै लागि बनेको हो– गंगा उल्टी बहती है !

‘तपाई त प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुँदोरहेछ, नेपालमा भोट माग्दै हिँड्नुपर्ने बेला यता दिल्लीतिर किन?’

नेपालखबरको प्रश्नमा चोपलालले भोट माग्नकै लागि भारत आएको बताए।

चोपलालको ‘उल्टो यात्रा’ को रहस्यबारे पछि कुरा गरौंला। अहिलेचाहिँ दिल्लीमा मःम बेचिरहेका गुल्मीका मतदाताको चर्चा गरौं।

नेपालमा अब मःम केवल ‘व्यञ्जन’ मात्र रहेन। यो शब्दले नेपाली राजनीतिमा ‘व्यञ्जना’ कै काम गर्न थालिसकेको छ। नेपाली मतदाताले मेनु हेर्छन्–हेर्छन् र अन्त्यमा मःम नै (पुरानै पार्टी) रोज्छन् भन्ने व्यञ्जनात्मक भाष्यका निर्माता रवीन्द्र मिश्रले पनि मःम नै रोजेको स्थिति छ।

दिल्लीको सरिता बिहारस्थित फुटपाथमा मःम बेच्दै नेपाली युवा

नयाँदिल्लीस्थित सरिता विहारको सडकमा पहेंलो टिशर्ट लगाएका नेपाली युवक भारतीय ग्राहकलाई मःम पस्किरहेका थिए। काठमाडौंको फुटपाथबाट साना व्यवसायी लखेटिए पनि केजरीवालको शासन रहेको दिल्लीको सडक भने गरीबका लागि खुल्लै रहेको प्रमाण हो यो।

दुई नेपाली युवा आपसमा मिलेर धमाधम मःम बेचिरहेका थिए। भारतीयहरु मःम को स्वाद चाखिरहेका थिए।

देशमा रोजगारीको अवसर नपाएर भारतमा मःम बेच्न पुगेका युवाको व्यवसाय त राम्रैसित चलिरहेको देखियो। तर, अनुहारमा कान्ति थिएन। निराशा र थकान झल्किरहेको देखिन्थ्यो।

दिल्लीमा मःम बेच्ने यी नेपाली किशोर गुल्मीका रहेछन्। गुल्मी, अर्थात गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, रामकुमारी झाँक्री, चन्द्र भण्डारीजस्ता दोस्रो–तेस्रो पुस्ताका घघडान नेताहरुको कर्मथलो।

चुनावमा भोट माग्ने क्रममा उम्मेदवारले नेपाली युवाहरु विदेशिनु परेको सवाई सुनाइरहेका छन्। उता, दिल्लीमा मःम बेचिरहेका मतदातालाई सोधियो, ‘मंसिर ४ गते चुनाव हुँदैछ, तपाईहरु पनि भोट हाल्न नेपाल जाने हो?’

हाम्रो प्रश्नलाई टार्ने प्रयास गर्दै मःमवाला युवकले आलस्य मिसिएको जवाफ दिए, ‘जानुपर्ला।’

‘गुल्मीमा तपाईहरुको क्षेत्रबाट को उठेको छ थाहा छ? रामकुमारी झाँक्री, गोकर्ण विष्ट वा अरु कोही?’

यो प्रश्नको भने उनीहरुले जवाफ दिन सकेनन् अथवा चाहेनन्।

विदेशको सडकमा परिश्रम गरिरहेका युवाको काममै ‘डिस्टर्ब’ हुने गरी उनीहरुको वैयक्तिक विषयमा बढ्ता खोजीनीति गर्न उचित जस्तो पनि लागेन। ७० रुपैयाँ भारु तिरेर एक प्लेट मःम खाइयो अनि बाटो लागियो।

दिल्लीको सडकमा मःम बेच्नेहरु प्रायः नेपाली नै भेटिने गर्छन्। भारतीयहरु साँझपख खुल्ला सडकमा निस्केर नेपालीले बनाएको मःम स्वाद मानेर खान्छन्। यस्तो दृश्य सरिता बिहारमा मात्र होइन, दिल्लीका हरेक गल्लीमा देख्न सकिन्छ। 

सिकारु हातले बनाएर प्लास्टिकमा पोको पारेका मःमका डल्ला पाकिसक्दा फुटेका, आपसमा टाँस्सिएका र कचक्कै परेका हुन्छन्। तर, नेपाली हातले बनाएको मःम र टमाटरको अचार भारतीयलाई स्वादिष्ट लाग्ने गरेको तथ्य ग्राहकको भीडबाटै थाहा हुन्छ।

दिल्लीमा भेटिएका यी मःम व्यापारी एक प्रतिनिधि पात्र मात्रै हुन्। प्रवासी नेताहरुको दाबीअनुसार भारतमा करिब ५० लाख नेपाली विभिन्न पेशामा कार्यरत छन्। पहिलो संविधानसभाको चुनावकै बेलादेखि नै प्रवासी नेपालीलाई मतदानको अधिकार दिइयोस् भनेर माग्दा पनि अधिकार पाइएको छैन। 

अब चर्चा गरौं दिल्लीमा भेटिएका प्रतिनिधिसभाका उम्मेदवार चोपलालको।

दिल्लीको बदरपुरमा तीनतले बिल्डिङको छतमा केही नेपाली भेटिए। यीमध्ये एक थिए समानुपातिकतर्फ प्रतिनिधिसभाका उम्मेदवार कपिल खनाल। अर्का थिए, राष्ट्रिय जनमोर्चा समर्थित प्रवासी नेपालीको संगठन ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज’का केन्द्रीय अध्यक्ष ठाकुर खनाल। र, तेस्रो व्यक्ति थिए– दिल्लीबाट प्रकाशित हुने ‘नेपाली समाचार’ का संयोजक धनबीर पुन। चस्मा लगाउने पिनु थापा चाहिँ बाँके, कोहलपुरका हुन्।

दिल्लीमा जनमोर्चाका नेताहरु बस्ने तीनतले भवन संगठनको आफ्नै हो। भारतमा रहेका प्रवासी नेपाली मजदुरसँग चन्दा उठाएर यो भवन बनाइएको हो।

‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज’का केन्द्रीय अध्यक्ष ठाकुर खनालले भवनबारे जानकारी दिँदै भने, ‘सन् १९७९ देखि २००३ सम्म हाम्रो संगठन एउटा सानो कोठामा सञ्चालन भएको थियो। २००३ पछि हामीले यो जग्गा किन्यौं र घर बनायौं। पछि तेस्रो तला थपियो। अहिले करिब सयजना मानिस सम्मेलन गर्न बाहिर जानुपर्दैन। हाम्रो आफ्नै हल छ। उद्धार गरिएका नेपालीहरुलाई आश्रय दिने आफ्नै भवन बनेको छ।’

छतमा रहेको टेबलमा ‘नेपाली समाचार’ नामको साप्ताहिक पत्रिकाका केही प्रतिहरु थिए। एउटा समाचारमा लेखिएको थियो– ‘प्रवासी नेपालीका तर्फबाट ७ जना उम्मेदवार। संघमा ४ जना, प्रदेशमा ३ जना।’

अर्थात, राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभामा चारजना र प्रदेशसभामा तीनजना गरी सातजना प्रवासी नेपालीलाई मंसिर ४ को निर्वाचनमा उम्मेदवार उठाएको छ। तर, यी उम्मेदवार नेपालमा छैनन्। भारतमै प्रवासी नेपालीसँग भोट मागिरहेका छन्।

अर्घाखाँची घर भई दशकौंदेखि भारतमै बस्दै आएका राष्ट्रिय जनमोर्चाका उम्मेदवार कपिलले नेपालखबरसँग भने, ‘लाखौं नेपाली मतदाता यहीँ दिल्लीमा छन्। चुनाव जित्नका लागि भारतमा रहेका नेपालीहरुको भोट महत्वपूर्ण हुुन्छ। उनीहरुलाई स्वदेश फर्काउने प्रयासमा हामी लागिराखेका छौं।’

राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार कपिल खनाल (चोपलाल)

एकता समाजको केन्द्रीय उपाध्यक्षसमेत रहेका कपिलले जनमोर्चाकै भाषामा भने, ‘मंसिर ४ को चुनाव प्रतिगमन र अग्रमनवीचको लडाइँ हो। प्रतिगमनलाई परास्त गर्नका निमित्त भारतमा रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले नेपाल फर्काउने अभियानमा हामी लागेका हौं। अहिले पनि धेरै नेपालीहरु नेपाल गइरहेका छन्। हामीलाई उम्मीद छ, धेरै नेपालीहरु मतदान गर्न नेपाल फर्कनुहुनेछ।’

उम्मेदवार खनालसँगै भेटिएका नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर पनि चुनावको मुखमा आफूहरु दुई उद्देश्यले नेपाल छाडेर भारत आएको बताउँछन्।

दिल्लीमा रहेका मतदातालाई चुनावका बेला नेपाल फर्काउने र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुका लागि आर्थिक सहयोग समेत जुटाउन आफूहरु दिल्लीमा खटिएको अध्यक्ष खनालले सुनाए।

सत्तारुढ पाँचदलीय गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाले संघतर्फ बाग्लुङ–१ मा चित्रत्रहादुर केसी र प्युठानमा दुर्गा पौडेललाई टिकट दिएको छ। यी दुबै निर्वाचन क्षेत्रमा बढीभन्दा बढी मतदाताहरु भारतबाट पठाउने र केही आर्थिक सहयोग समेत उठाएर पठाउने लक्ष रहेको प्रवासी नेताहरुको भनाइ छ।

‘कपिल खनालजी, मलगायत एक दर्जनजति साथीहरु चुनावका मुखमा नेपालबाट इण्डिया फर्केका छौं, ताकि यहाँबाट नेपालीहरुलाई परिचालन गर्न सकियोस् र आर्थिक संकलन गरेर पार्टीलाई सहयोग गर्न सकियोस्’ अध्यक्ष खनालले भने, ‘अहिलेको हाम्रो आवश्यकता नेपालमै हो। कपिलजी त आफैं उम्मेदवार हो। तर, उम्मेद्वारले यहाँ इण्डियामा घुम्नु परिराखेको छ। यसको मुख्य कारण, प्रवासमा रहेका नेपालीहरुबाट आर्थिकरुपमा पनि केही सहयोग प्राप्त होला भन्ने आशा छ।’

भारतमा रहेका प्रवासी नेपालीले पहिलो संविधानसभाको चुनावदेखि नै मतदानको अधिकार माग गर्दै खाएको अध्यक्ष खनालले बताए। तर, अहिलेसम्म आफूहरुको मागको सुनवाई नभएको उनले गुनासो गरे।

भारतमा करिब ५० लाख नेपालहरु रहेको तर नेपाल सरकारको प्रवासी सम्बन्धी नीतिमा दक्षिण एशियाका नेपालीहरुलाई नसमेटिएको खनालको गुनासो छ।

करिब ५० लाखमध्ये करिब ५–६ प्रतिशत नेपाली मात्र  मंसिर ४ गते भोट हाल्न नेपाल फर्कने खनालको अनुमान छ। कार्यकर्ता तहका केही नेपालीहरु स्वदेश फर्केर चुनाव प्रचारमा खटिइसकेको उनले बताए।

 हामीले जनमोर्चाको प्रवासी संगठनका केन्द्रीय अध्यक्ष ठाकुर खनालसँग भारतका प्रवासी नेपालीको अवस्थाबारे छोटो कुराकानी गर्यौं –

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज’का केन्द्रीय अध्यक्ष ठाकुर खनाल

तपाई दिल्ली बस्न थाल्नुभएको कति वर्ष भयो?
म सन् १९८४ देखि यहाँ छु। नेपाल आउने–जाने भइरहन्छ। म १ मार्च २०२२ बाट नेपाली एकता समाज मूलप्रवाहको अध्यक्ष छु।

एकता समाजका कोही पूर्वअध्यक्षहरु त नेपालको राजनीतिमा सक्रिय छन् होइन?
बाबुराम भट्टराईजी क्षेत्रीय अध्यक्ष हुनुभएको थियो। पहिलो संस्थापक अध्यक्ष गोविन्द सिंह थापा हुनुभयो। दोस्रो र तेस्रो सम्मेलनले पनि गोविन्दसिंह थापालाई नै अध्यक्ष बनायो। त्यसपछि उहाँ नेपाल जानुभयो र डिलाराम आचार्यलाई अध्यक्ष बनाइयो। डिलाराम आचार्यपछि लीलानाथ कुसुम, गिरिधारीलाल न्यौपाने, दूर्गाबहादुर केसी, मित्रलाल शर्मा र आठौं राष्ट्रिय सम्मेलनले मलाई अध्यक्ष बनाएको छ।

आगामी मंसिर ४ मा हुने चुनावमा प्रवासी नेपाली पनि समानुपातिक उम्मेदवार बनेका रहेछन्। एकजना कपिल खनालजी त यहीँ भेटिनुभयो....
एकता समाज मूलप्रवाहका नेता–कार्यकर्ताहरु ७ जना उम्मेदवार हुनुहुन्छ। प्रतिनिधिसभामा कपिल खनाल, रमकला पुन घर्तीमगर, मञ्जु सुनुवार र माया थापा उम्मेदवार हुनुहुन्छ। प्रदेशसभातर्फ निवर्तमान अध्यक्ष दूर्गाबहादुर केसी (लुम्बिनी), वर्तमान महासचिव केबी थापा(गण्डकी) र तारा चलाउने रावत (सुदुरपश्चिम) उम्मेदवार हुनुहुन्छ।

तपाईहरुको माग त प्रवासी नेपालीलाई पनि मतदानको अधिकार दिइनुपर्छ भन्ने थियो हैन?
हामीले संविधान बन्नुभन्दा पहिलेदेखि नै यो कुरा उठाइरहेका छौं। त्यतिबेला प्रवासी नेपालीहरुको मागको विष्षयलाई लिएर भारतमा कुरा उठाउँदाखेरि हामीले सबैलाई समेटेर जाने प्रयास गर्यौं। तर, माओवादीले ग्रुुपले यो सरकारको पोलिसी हो, यसमा हामी सहभागी हुँदैनौं भने। कांग्रेस र एमालेका प्रवासी संगठनहरुले भने माऊ पार्टीले यो मागलाई नमानेता पनि यो मागसँग सहमत छौं भनेर विभिन्न ठाउँमा संयुक्त कार्यक्रम पनि भए। पछि एमालेहरुले छविलाल विश्वकर्मा उम्मेदवार भएपछि हाम्रो त छविलालद्वारा प्रतिनिधित्व भयो जस्ता कुरा गरे।

छविलाल विश्वकर्मा पनि प्रवासी नेपाली नै हुनुहुन्छ?
छविलालजी हामीजस्तो प्रवासी नेपाली होइन, उहाँ एमालेको प्रवास शाखा हेर्नु इञ्चार्जका रुपमा हुनुहुन्थ्यो। त्यसो त प्रवासमा संगठन गर्नमा कमरेड प्रकाशको ठूलो योगदान छ। कमरेड प्रकाश भनेको झलनाथ खनाल हो। उहाँले राजनीति गर्दाखेरि लालकिल्ला पछाडिका सेकेन्ड ह्याण्ड कोट लगाएर राजनीति गरेको हो। उनी सत्तामा जानेवित्तिकै प्रवासी नेपालीको प्रतिनिधित्व भयो भन्न सकिँदैन।

अहिले राष्ट्रिय जनमोर्चाले जस्तै कांग्रेस, एमालेले पनि प्रवासी नेपालीलाई टिकट दिएका छन्?
त्यो हामीलाई जानकारी छैन। प्रवासी संगठनका अध्यक्ष लोकनाथ भण्डारी असन्तुष्ट देखिनुभएको छ। उहाँको असन्तुष्टिले के देखाउँछ भने उहाँहरुलाई स्थान दिइएको छैन होला। कांग्रेसले पनि टिकट दिए, नदिएको थाहा छैन, अस्ति भर्खरै कांग्रेसका प्रवासी संगठनका अध्यक्ष वालकृष्ण पाण्डेसँग भेट भएको थियो। यहाँबाट खासै प्रतिनिधित्व भएजस्तो लागेको छैन।

हामी प्रवासी नेपालीहरुको मतदानको अधिकारबारे कुरा गर्दै थियौं....
प्रवासी नेपालीहरुले मतदानको अधिकार पाउनुपर्छ भन्ने विषयमा हामीले शुरुमा गिरिजाप्रसाद कोइरालालाई ज्ञापनपत्र बुझाएका थियौं। उहाँले यो माग जयज छ तर समय छोटो भयो व्यवस्था गर्न सकिन्नँ भन्नुभयो। संविधानसभाको चुनाव धेरै लम्बियो तर अधिकार प्राप्त भएन। दोस्रो संविधासभा चुनावमा त गरिनुपर्थ्यो, त्यो पनि भएन।

सर्वोच्च अदालतले एउटा परामादेश जारी गरेर प्रवासी नेपालीहरुको मताधिकार सुनिश्चित गरिनुपर्छ भन्यो त्यो स्वागतयोग्य हो। तर, अहिलेसम्म भएन।

भारतलगायत दक्षिण एशियामा रहेका प्रवासी नेपालीहरुको अवस्था कस्तो छ?
नेपाल सरकारको प्रवासी नेपालीसम्बन्धी नीतिमा दक्षिण एशियामा रहेका नेपालीहरु समेटिँदैनन्। हामी प्रवासी नेपाली हौं या होइनौं, प्रश्न चिन्ह नै छ। अहिलेको नागरिकता ऐनले समेटेको प्रवासी (एनआरएन) भनेको पनि दक्षिण एशिया बाहेकका हुन्।

अहिले पनि झण्डै एक करोड नेपालीहरु विदेशमा छन्। त्यसको ५० प्रतिशत भारत प्रवासमा छन्। लगभग ५० लाखको हाराहारी नेपालीहरुको जनसंख्या भारतमा छ। यो संख्या भनेको ६ भागको एक हो। लगभग साढे १६ प्रतिशत जनसंख्या भारत प्रवासमा छ। यो पनि १८ वर्ष काटेको भोट हाल्ने उमेर समूहको जनसंख्या हो।

तपाईले यति ठूलो संख्यामा नेपाली मतदाताहरु भारतमा छन् भन्नुभयो। प्रवासबाट मतदान गर्ने अधिकार नपाएको स्थितिमा अब आगामी मंसिर ४ को चुनावमा तपाईहरु भोट दिन नेपाल जानुहुन्छ?
हामीले प्रत्येक चुनावमा यहाँबाट भोट दिन जाने गरेका छौं, पठाएका पनि छौं। तर, आफूू बसेको शहरबाट मतदान गर्न जति सजिलो हुन्छ, त्यति सजिलो नेपाल गएर हुँदोरहेनछ।

कैयौं ठाउँमा एउटै कम्पनीमा तीन–चारजना नेपालीले काम गर्छन्, उनीहरु भोट हाल्न नेपाल जाँदा कम्पनी नै बन्द हुन्छ। कम्पनीले सबैलाई विदा दिने कुरा पनि भएन। छोडेर जाने हो भने फर्केर आउँदा नोकरी गर्ने ठाउँ हुँदैन। यसले गर्दा इण्डियामा रहेका साढे १६ प्रतिशत नेपाली नागरिकहरु सबैजना भोट हाल्न नेपाल जान सक्दैनन्। मुस्किलले ५–६ प्रतिशत जालान्।

विगतको चुनावमा नेपालका विभिन्न राजनीतिक पार्टीहरुले बाटो खर्च र यातायातको प्रवन्ध गरेर आफ्ना कार्यकर्तालाई भारतबाट नेपाल पठाउने गरेका छन् कि छैनन्?
आफूलाई ठूला पार्टी भनाउँदाहरुसँग प्रशस्त मात्रामा धन छ। उनीहरुले व्यवस्थापन गर्न सके एउटा कुरा हो। हामी त अहिले नेपालमा हुने चुनावलाई सहयोगका लागि तिहारमा भैलो खेलेर भए पनि पार्टीलाई सहयोग गर्नुपर्यो भनेर भर्खरै नेपालबाट फर्केका मान्छे हौं।

कपिल खनालजी, म लगायत एक दर्जनजति साथीहरु चुनावको मुखमा नेपालबाट इण्डिया फर्केका छौं। ताकि यहाँबाट नेपालीहरुलाई परिचालन गर्न सकियोस् र आर्थिक संकलन गरेर पार्टीलाई सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले नेपालमा भएका मान्छे पनि हामी अहिले यता आएका छौं। तथापि अहिलेको हाम्रो आवश्यकता नेपालमै हो। कपिलजी त आफैं उम्मेदवार हो। तर, उम्मेद्वारले यहाँ इण्डियामा घुम्नु परिराखेको छ। यसको मुख्य कारण के हो भने प्रवासमा रहेका नेपालीहरुबाट हामीलाई आर्थिक रुपमा पनि केही सहयोग प्राप्त होला भन्ने आशा छ।

राजनीति अर्काको लागि गर्ने होइन। आफ्नै लगानी लगाएर भए पनि मतदान गर्न जानुपर्छ भनेर हामीले चेतना दिने प्रयत्न गरेका छौं। यसमा कत्तिको सफल हुन्छौं, भविष्यको कुरा हो। तर, एकता समाजका हजारौं कार्यकर्ताहरु नेपाल जाने भन्ने निर्णय भएको छ। कोही १५ दिनका लागि, कोही महिना दिनका लागि जाने। कोही गइसक्नु पनि भएको छ। कतिपय साथीहरु बोर्डर सिल हुनुभन्दा एक दिन पहिला भए पनि नेपाल छिर्नुहुन्छ। उहाँहरुले भोट हाल्न मात्रै भए पनि हामी जान्छौं भन्नुभएको छ।

किनभने, अहिले देशको स्थिति अत्यन्त संवेदनशील छ, हामीले जितेनौं भने प्रतिगमनले जित्छ। प्रतिगमनले जित्यो भने नेपाली जनताका अधिकारहरु खोसिन्छ, त्यसैले हामीले आफ्नो अधिकार सुरक्षित गर्नका लागि भए पनि नेपाल जानुपर्छ भन्ने साथीहरुको धारणा पाएका छौं।

राष्ट्रिय जनमोर्चा निकट मूलप्रवाह एकता समाजमा कति सदस्य छन्?
केही राज्य पञ्जाव, हरियाणा, दिल्ली, गुजरात, हैरदावाद, महाराष्ट्रमा संगठन राम्रो छ। भारतभरि हाम्रा ४/५ लाख सदस्य छन्।

कांग्रेस, एमाले, माओवादीजस्ता नेपालका ठूला पार्टीका प्रवासी संगठनहरु भारतमा तपाईहरु भन्दा बलियै होलान् नि?
नेपालबाट आएका ठूला पार्टीका मान्छेहरुले हामी कांग्रेस, एमाले, माओवादी हौं भन्लान्। तर फिल्डमा उत्रिएर नेपाली मजदुुरको हक हितका लागि संघर्ष गर्ने पंक्तिमा हामी अगाडि छौं। यहाँ रहेका सबै दलका प्रवासी संगठनले आफूलाई ठूलो भनेर दाबा गर्छन्। तर, संयुक्त कार्यक्रममा जनपरिचालनलाई हेर्दा हामी नै ठूलो देखिन्छौं। जस्तो– नाकाबन्दी विरुद्ध जुलुस प्रदर्शन हुँदा हाम्रो धेरै उपस्थिति रहेको अरुले पनि स्वीकार गरेका थिए।

एमाले फुटेपछि माधव नेपालको पार्टीको पनि भारतमा संगठन बन्यो?
बनेको छ भन्ने सुनिएको छ। एकपटक अलि ठूलो आकारजस्तो देखिएको थियो। फेरि भीम रावलजी एमालेमै रहेपछि अलिकति साँघुरिएजस्तो पनि देखियो। तर, उहाँहरुको पनि संगठन छ।

भारतमा प्रवासी नेपालीहरुलाई संगठन गर्न कत्तिको सजिलो छ?
भारतमा पहिलेको जस्तो अप्ठ्यारो छैन। अहिले दुई–चार जना जुटेर जे नाम बनाएर संगठन गरे पनि हुन्छ। पहिलेचाहिँ धेरै अप्ठ्यारो थियो। हामी भारतमा कमाउन आएका मान्छे, हामीलाई राजनीति किन चाहियो भन्दै प्रतिवाद हुन्थ्यो, आक्रमणसम्म हुन्थ्यो, अहिले त्यस्तो छैन।

चार जना मान्छे मिलेर पार्कमा मादल बजाउने, गाउने गरे पनि नेपाली कम्युुनिटीबाट समर्थनै मिलिराखेको छ। यसले गर्दा अरु पनि कैयौं दलहरुले यहाँ संगठन खोलेका छन्। रवि लामिछानेको के छ, थाहा छैन, अहिले राप्रपाले पनि संगठन बनायो भन्ने सुनिएको छ।

यहाँ ‘एनि हाउ पैसा कमाउ’ जस्ता संगठनहरु पनि छन्। त्यस्ता संगठनको नेतृत्व गर्नेहरु चाहिँ यिनै चारवटा मूलधारका राजनीतिक पार्टीका भातृ संगठन छाडेकाहरु नै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .