राजनीति


कर्णालीका १२ सिट : कोही दोहोरिँदै, कोही जितको खोजीमा

‘हेभिवेट’ नेतासँग जसकाे हुँदैछ भिडन्त!
कर्णालीका १२ सिट : कोही दोहोरिँदै, कोही जितको खोजीमा

दिनेश बुढा
कात्तिक ४, २०७९ शुक्रबार १३:१७, सुर्खेत

कर्णाली प्रदेशका केही निर्वाचन क्षेत्रमा पार्टीका मुख्य जिम्मेवारीमा रहेका (हेभिवेट) नेताहरू पनि उम्मेदवार बनेका छन्। मुख्य राजनीतिक दलहरू जस्तै : नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केन्द्रीय पार्टी कमिटीमा रहेका नेता उम्मेदवार बनेका हुन्। 

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कादेखि समाजवादी पार्टीका उपमहासचिव, माओवादी केन्द्रका पार्टी उपमहासचिव, एमालेका केन्द्रीय कमिटी सदस्यसमेत चुनावी मैदानमा ‘हेभिवेट’ नेताका रूपमा उभिएका छन्। केही दलबाट नेताहरू संघको नेतृत्व गर्ने सक्ने आँटका साथ प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्। कतिपय उम्मेदवार दोहोरिएका समेत छन्।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभातर्फ कर्णालीका १२ क्षेत्रमध्ये केही निर्वाचन क्षेत्रमा हेभिवेट उम्मेदवार र उनीहरूका प्रतिस्पर्धीका कारण रोचक प्रतिस्पर्धा हुने देखिएको छ। तीमध्ये हामीले यहाँ केही हेभिवेट नेता र तीनकाे निर्वाचन क्षेत्रबारे चर्चा गरेका छाैं:

सल्यान

सल्यानमा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फबाट नेकपा एकीृकत समाजवादी पार्टीका केन्द्रीय उपमहासचिव तथा कर्णाली इन्चार्ज प्रकाश ज्वालालाई अगाडि सारिएको छ। सल्यानमा ज्वाला बलिया उम्मेदवार हुन्। ज्वालालाई टक्कर दिन एमालेले राजेन्द्रवीर रायलाई चुनावी मैदानमा उतारेको छ। ज्वाला संसदीय अभ्यासमा कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादीको सरकार जोगाउने योजनाकार नेतासमेत हुन्। 

तत्कालीन माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेपछि आफ्नै नेतृत्वमा उनीसहित एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए। त्यसैका कारण देशभर एमालेभित्र विवाद चर्किंदै गएको थियो। एमाले विभाजनपछि उनी एकीकृत समाजवादीमा लागेका हुन्। ज्वालाले जित हासिल गर्न कांग्रेस र माओवादीको साथ लिएका छन्। ज्वाला कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत बनिसकेका छन्। 

यस्तै, ०७४ को निर्वाचनमा सल्यानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीका टेकबहादुर बस्नेत विजयी भएका थिए। बस्नेत एमाले–माओवादी एकतापछि दुवै पार्टीको साझा उम्मेदवार बनेका थिए। बस्नेतले ४० हजार ८९७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका थिए। यस्तै, स्वतन्त्र उम्मेदवार उमाकान्त खनालले तेस्रो नम्बरमा २ हजार ९२१ र मालेका बलबहादुर गिरी २ हजार २९२ मत ल्याएका थिए।  

यस्तै गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा गठबन्धन अगाडि देखिएको छ। जसमा स्थानीय तह निर्वाचन वडा अध्यक्षको मतभार हेर्दा नेकपा एमालेले २६ हजार ६ सय २८, नेपाली कांग्रेसले ३३ हजार ६ सय १६, नेकपा मओवादी केन्द्रले २६ हजार ७ सय १३ र एकीकृत समाजवादीको नौ हजार ४०८ मत देखिन्छ। 

रुकुम पश्चिम
यस्तै, प्रतिनिधि सभातर्फ रुकुम पश्चिममा पनि हेभिवेट नेता संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा उम्मेदवार बनेका छन्। नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका शर्मा गठबन्धनका साझा उम्मेदवार हुन्। माओवादी केन्द्रको पकेट क्षेत्रका रूपमा रुकुम पश्चिमलाई लिने गरिन्छ भने जनार्दन शर्मा एक चलाख नेताका रूपमा पनि चिन्निछन्। रूकुम पश्चिम माओवादी केन्द्रको आधार इलाका समेत हो। 

शर्मा माओवादी केन्द्रका उपमहासचिव हुन्। माओवादीको बलियो पकड क्षेत्र मानिएको रुकुम पश्चिममा शर्मालाई शिक्षकबाट राजनीतिमा आएका एमाले रुकुम जिल्ला अध्यक्ष नन्दलाल देवकोटाले चुनौती दिनेछन्। शर्माले २०७४ मा वाम गठबन्धनबाट कांग्रेसका गोपालजंग शाहलाई हराएका थिए। शर्माले ३४ हजार ४०२ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने शर्माका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालजंग शाहले १५ हजार ६५९ मत पाएका थिए।

यस्तै, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुकुम पश्चिममा वडाध्यक्षले पाएको मतका आधारमा माओवादी नै बलियो देखिएको छ। जसमा माओवादी केन्द्रले ३७ हजार १०२ मत पाएको छ। कांग्रेसले २६ हजार ६२०, नेकपा एकीकृत समाजवादीले १३० र नेकपा एमालले ६ हजार १२४ मत ल्याएका छन्। 

जाजरकोट 
यस्तै, जाजरकोटमा संघ सरकारको मन्त्रीसमेत बनिसकेका नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत प्रभावशाली नेताका रूपमा चनिन्छन्। जाजरकोट पनि माओवदीको गढ भएको जिल्ला हो। सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका माओवादी केन्द्र बस्नेतसँग एमालेका युवा नेता निरज आचार्यले चुनौती दिने भएका छन्। 

गठबन्धनबाट उम्मेदवार बनेका बस्नेत पटक–पटक निर्वाचित नेता हुन् भने आचार्यको यो नयाँ अनुभव पनि हो। युवा नेता आचार्य जाजरकोटमा युवाहरूको माझमा लोकप्रिय नेताका रूपमा परिचित छन्। तत्कालीन नेकपा विभाजनपछि एमालेभित्र विवाद हुँदा माधव नेपाल खेमामा उभिएका आचार्य १० बुँदे सहमतिपछि एमालेमै बसेका थिए। आचार्य एमाले केन्द्रीय निर्वाचन विभागका उपप्रमुख हुन्।

यस्तै, ०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा एमाले माओवादीबीच पार्टी एकता हुँदा उनै बस्नेत उम्मेदवार बनेर निर्वाचित समेत भएका थिए। नेता बस्नेत ३२ हजार २८१ मत ल्याएर निर्वाचित भएका थिए। उनका प्रतिद्वन्द्वी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत पाएका थिए। शाह अहिले वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट जाजरकोट प्रदेश सभा २ मा उम्मेदवार बनेका छन्। शाह कांग्रेसका प्रभावशाली नेता मानिन्छन्। उनको समाजसेवामा पनि उत्तिकै लगाव छ। 

यस्तै, गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा एमालेको धेरै मत पाएको छ। एमालेले २४ हजार ४ मत पाएको छ। कांग्रेसले २२ हजार ३४२, माओवादी केन्द्रले १८ हजार ६२२ र समाजवादीले २ हजार ३३४ मात्रै मत पाएका छन्। जाजरकोटमा कांग्रेस र माओवादीबीच गठबन्धन बनेको छ। 

कालीकोट
यस्तै, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सभा सदस्य निर्वाचनका लागि कालीकोटमा एमाले र माओवादी केन्द्रका दुई हेभिवेट नेताबीच टक्कर हुने भएको छ। कालीकोटमा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन बनेको छ भने एकीकृत समाजवादीलाई मिसाइएको छैन। ०७४ सालको निर्वाचनमा कालीकोटबाट एमाले माओवादी पार्टी एकता भएपछि उनै महेन्द्रबहादुर शाही उम्मेदवार बनेर प्रदेश सभाको निर्वाचन जितेका थिए। शाही माओवादीका प्रभावशाली नेतामा पर्छन्। 

पार्टीको पोलिटब्युरो सदस्य शाही कर्णाली प्रदेशको पूर्वमुख्यमन्त्री समेत हुन्। उनीसँग प्रतिस्पर्धाका लागि एमालेका प्रभावशाली नेता नगिन्द्र शाही उम्मेदवार बनेका छन्। नगिन्द्र शाही एमाले पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हुन्। उनि २३ वर्षदेखि राजनीतिमा निरन्तर छन् भने उनले हालसम्म कुनै निर्वाचन लडेका छैनन्। 

यस्तै, ०७४ को प्रतिनिधि सभा निर्वाचनमा माओवादीका दुर्गबहादुर रावत निर्वाचित भएका थिए। उनी २१ हजार ११२ मत ल्याएर विजयी हुँदा कांग्रेका युवा नेता भूपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका थिए। 

वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा माओवादीले नै बलियो देखिएको छ। माओवादी केन्द्रले १८ हजार ३४७ मत पाएको छ। यस्तै, नेपाली कांग्रेसले १२ हजार ८२०, एकीकृत समाजवादीले ३ हजार ५०३ र नेकपा एमालेले १२ हजार ६१३ मत पाएका छन्। 

सुर्खेत
सुर्खेतको क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका छन्। २०७४ को निर्वाचनमा खड्कालाई हराएका एमालेका ध्रुवकुमार शाही फेरि उनैसँग प्रतिस्पर्धामा उत्रिएका छन्। अघिल्लोपटक झण्डै ३ हजार मतान्तरले पराजित खड्का गठबन्धनको आडमा यसपटक शाहीसँग हारको बदला लिने दाउमा छन्। २०७४ मा माओवादीकै कारण चुनाव हारेका खड्का यसपालि उही माओवादीलाई साथमा लिएर चुनावी मैदानमा उत्रिएका छन्। साविक मालारानी गाविसका अध्यक्ष रहेका एमालेका शाही पनि बलियो जनाधार भएका नेता मानिन्छन्। 

२०७४ मा पहिलोपटक खड्कालाई हराएर प्रतिनिधि सभामा ‘डेब्यु’ गरेका शाही फेरि जित हासिल गर्ने दाउमा छन्। गठबन्धनको बलमा चुनावमा होमिएका हेभिवेट नेता खड्का र शाहीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। सुर्खेत–१ मा सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, चिङगाड गाउँपालिका, लेकबेँसी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका–१५ र वीरेन्द्रनगर–१६ को भूगोल समेटिएको छ।

स्थानीय तहको वडाको मतलाई आधार मान्ने हो भने सुर्खेत–१ मा कांग्रेस पहिलो शक्ति देखिन्छ। जसमा कांग्रेसले ३६ हजार नौ सय २८ मत प्राप्त गरेको थियो। वडाध्यक्षले पाएको मत हेर्दा एमाले दोस्रो स्थानमा छ। उसले ३४ हजार आठ सय ४३ मत पाएको छ।

माओवादीले पाँच हजार ७५ मत, राप्रपाले ६ सय ६४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले ६ सय ३४ मत प्राप्त गरेको छ। यसरी हेर्दा कांग्रेससँगै माओवादीको मत जोड्दा खड्काका पक्षमा ४२ हजार ६ सय ३७ मत देखिन्छ। 

दैलेख
दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रतिनिधि सभा निर्वाचनमा मुख्यगरी एमाले र पूर्वएमालेबीच नै भिडन्त हुने भएको छ। प्रतिनिधि सभा सदस्यका लागि पूर्वसहकर्मी उनीहरू ३० वर्षपछि चुनावी मैदानमा उत्रिएका छन्। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा र एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माबीच चुनावी प्रतिस्पर्धा हुँदै छ। उनीहरू एमालेमा लामो समय सहकार्य गरेका र एउटै भूगोलमा मिलेर राजनीति गरेका नेता हुन्। थापा नेपाली कांग्रेस, माओवादी र समाजवादीबाट साझा उम्मेदवार बनेका छन्। उनी आफूले जित्ने दाबी गरिरहेका छन्। 

यस्तै, ०७४ को निर्वाचनमा शर्मा प्रतिनिधि सभा र थापा प्रदेशसभा सदस्यमा विजयी भएका थिए। शर्मा २३ हजार ७७३ मत प्राप्त गरेर विजयी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार शाहीले १७ हजार २५२ मत ल्याएका थिए। 

कांग्रेसले राप्रपालाई साथ दिएको थियो। दैलेख निर्वाचन क्षेत्र नम्बर–२ मा नारायण नगरपालिका, महाबु, गुराँस, भगवतीमाई, डुङ्गेश्वर र नौमुले गाउँपालिका पर्छन्। यी स्थानीय तहमा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा गठबन्धन अगाडि देखिन्छ। जसमा एमालेको मत १७ हजार ६६५ छ। यस्तै, नेपाली कांग्रेसको १७ हजार ५३९, माओवादी केन्द्रको २ हजार ८२५ र एकीकृत समाजवादीको ३ हजार ४५० मत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .