राजनीति


केपी ओली र एमालेलाई गाली गर्दै सकियो सत्तारुढ नेताको प्रशिक्षण

बागीहरुलाई अनेक आश्वासन र प्रलोभन
केपी ओली र एमालेलाई गाली गर्दै सकियो सत्तारुढ नेताको प्रशिक्षण

सुर्खेतमा आयोजित सत्ता गठबन्धनको प्रशिक्षण। तस्बिर : दिनेश बुढा/नेपालखबर


दिनेश बुढा
कात्तिक ६, २०७९ आइतबार १९:५८, सुर्खेत

‘संविधानको रक्षा, स्थिरता र समृद्धिको लागि गठबन्धन’ भन्ने मूल नाराकासाथ पाँच दलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय कार्यकर्ता भेला आइतबार दिउँसो सकिएको छ

करिब साढे  १ घण्टा चलेको कार्यक्रममा सेनाको जहाज चढेर काठमाडौंबाट धनगढी हुँदै आएका शीर्ष नेताहरुको भाषण एमालेमाथि आरोप लगाउँदैमा बित्यो 

सत्तारुढ नेताहरुले पालैपालो सम्बोधन गरे। भेलालाई सम्बोधन गर्दै नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि अरोपको वर्षा गरे। 

उनीहरुले गठबन्धनविरुद्ध बागी उठेका उम्मेदवारलाई फिर्ता लिन विभिन्न आश्वासनका पोका बाँडे।

भेलालाई सम्बोधन गर्दै देउवाले कर्णालीका १२ प्रतिनिधिसभा र २४ प्रदेश सभाका निर्वाचान क्षेत्रमा गठबन्धनविरुद्ध दिएको बागी फिर्ता लिए राज्यका विभिन्न ठाउँमा व्यवस्थापन गर्ने आश्वासन दिए। 

‘गठबन्धनको विजयका लागि सबै मिल्नुबाहेक अन्य विकल्प छैन’, उनले भने, ‘त्यसैले गठबन्धनविरुद्ध  दिएका उम्मेदवारी फिर्ता लिनु पर्छ। उहाँहरुलाई उचित ठाउँमा व्यवस्थापन गरिनेछ।’ 

देउवाले कर्णालीमा गठबन्धन आवाश्यक भएकाले एक भएर लाग्न कार्यकर्तालाई आग्रह उनले गरे। 

कर्णालीमा आर्थिक समृद्धिका थुप्रै आधार भएकोले यहाँको विकास र समृद्धिका लागि सरकार लागिरहेको समेत दाबी गरे। देउवाले गठबन्धनलाई चुनाव जिताए सरकारमा पठाएको पाँच वर्षमा रिजल्ट देखाउने दाबी गरे।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीमा बागी उम्मेदवारी दिएका नेताहरुले एक/दुई दिनमा पछि हट्नुपर्ने बताए। 
उनले टिकट नपाएर रुष्ट र गठबन्धनविरुद्ध बागी उठेकालाई विभिन्न ठाउँमा व्यवस्थापन गर्ने बताए। 

‘टिकट नपाएर रुष्ट भएकाहरुलाई विभिन्न ठाउँमा व्यवस्थि गरिने छ’, उनले भने, ‘जसमा कतै राजदूत हुन पनि सक्छ। राष्ट्रियसभाको निर्वाचन छ। विभिन्न स्थान छन्।’

उनले बागीले उम्मेदवारी फिर्ता लिएपछि उनीहरुको उचित सम्मान हुने बताए। प्रचण्डले एमाले अध्यक्ष ओली र एमालेका नेताहरुलाई प्रतिगामी भने। 

‘हामीले राम्रैका लागि पार्टीका एकता गरेका थियौं। तर, उहाँ संविधानविरुद्ध काम गर्न थाल्नु भयो। प्रतिगमनतर्फ जानुभयो। देशलाई दुर्घटनातर्फ लानु भयो’, उनले भने, ‘दुई–दुई पटक संसद विघटन गरेपछि तत्कालीन नेकपाको  अध्यक्ष म बनेँ। केपीलाई साधारण सदस्य समेत नरहने गरेर पार्टीबाट निष्कासन गरेका थियौँ।’

प्रचण्डले प्रतिगमनको विद्रोहको सुरुवात कर्णाली प्रदेशबाटै उदाएको बताए। ‘कर्णालीबाट सुरु भएको प्रतिगमनको विद्रोह केन्द्रको राजनीतिमा प्रवेश गरेको हो। त्यसैले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको हो’, उनले भने, ‘ओलीबाट प्राप्त ज्ञान आज गठबन्धन बनाउन काम लागेको छ। यसअघिका प्रतिगमनलाई कांग्रेस–माओवादीकै अगुवाईमा परास्त गरिएको थियो। हाम्रो एकता देशको विकास, समृद्धिका लागि हो।’
 
प्रचण्डले कर्णाली प्रदेश सभामा सदस्यले गरेको भुमिकालाई गठबन्धनले नभुलेको बताए। उनले गठबन्धनलाई हल्का रुपमा नलिन पनि चेतावनी दिए।

प्रचण्डले तत्काल बागीको टुङ्गो लगाएर गठबन्धनले नै जित्ने आधार तयार गर्ने बताएका छन्। 

यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि एमालेलाई सरापेका छन्। 

नेपालले कर्णाली प्रदेशमा एमालेका नेताहरुले आफ्नो सरकार बनाउन विभिन्न प्रयास थालिए पनि प्रतिगमनकारी शक्तिविरुद्ध लड्न आफ्ना नेताहरुले गरेको योगदान उच्च रहेको दाबी गरे। 

कर्णालीमा माओवादी सरकार जोगाउन एमालेका ४ नेताले फ्लोर क्रस गरेका थिए। 

त्यतिबेला फ्लोर क्रस गरेर माओवादीको सरकार जोगाइदिएका दुई नेता समाजवादीले टिकट नदिएपछि एमालेमै फर्किएका छन्। दुई नेताले समाजवादीबाट प्रतिनिधि सभाको टिकट पाएका छन्। 

‘प्रतिगमनका नेताले आफ्नो सरकार बनाउने प्रयास गरे। तर, सकेनन्, त्यो भूमिका हामीले बिर्सेका छैनौँ,’ नेपालले भने, ‘नेपालको राजनीतिमा व्यक्तिवाद हावी भएको छ। ओलीले व्यक्ति केन्द्रित राजनीति, सत्ता चलाए, त्यो अधिनायकवादी चरित्र हो।’

त्यस्ता व्यक्तिले संविधान कुल्चे, देशलाई अस्तव्यस्त बनाउन काम गरेको उनले बताए। नेपालले एमालेले लोकतान्त्र धुलीसिात पार्ने कोशिस गरेको, गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ र संविधानलाई कुल्चने प्रयास गरेको आरोप लगाए।

यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्णालीका नेता–कर्याकर्तालाई अब हसिँया हथौडादेखि नडराउन आग्रह गरे। वरिष्ठ नेता पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध पाँच दलीय गठबन्धन बनेको बताए। 

उनले गठबन्धन दलका उम्मेदवारलाई जिताउने र संविधान जोगाउन गठबन्धन दलका उम्मेदवार भोट हाल्नु पर्ने बताए। 

पाँच दलीय गठबन्धनको भेलामा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका कार्यबहाक अध्यक्ष, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरु सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .