राजनीति


राजेन्द्र लिङदेनविरुद्ध एमालेको ‘सफ्ट’ विद्रोह : सूर्यमुखीवाला बागी भन्छन्– पार्टीको साथ छ, जित्छु

राजेन्द्र लिङदेनविरुद्ध एमालेको ‘सफ्ट’ विद्रोह : सूर्यमुखीवाला बागी भन्छन्– पार्टीको साथ छ, जित्छु

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १०:४८, झापा

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई सघाउन गरेको निर्णय खण्डित भएको छ। केपी ओलीकै निकट मानिने जिल्ला कमिटीका सदस्यले बागी उम्मेदवारी दिएसँगै एमाले कार्यकर्ताहरु भित्रभित्रै लिङदेनविरुद्ध बागीको पक्षमा लाग्न थालेका छन्।

नेकपा एमालेका जिल्ला नेता डम्बरबहादुर गिरीले राजेन्द्र लिङदेनविरुद्ध बागी उम्मेदवारी दिएका कारण एमाले–राप्रपा सहमति झापा ३ मा खण्डित बनेको हो। गिरीले आफ्नो उम्मेदवारीमा क्षेत्र नम्बर ३ को एमाले पार्टीको साथ रहेको बताएका छन्।

एमालेबाट बागी उम्मेदवारी दिएका गिरीले सूर्यमुखी चुनावचिन्ह पाएका छन्, जुन झट्ट हेर्दा सूर्य चिन्हजस्तै देखिन्छ।

राजेन्द्र लिङदेन र कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धामा उत्रिएका एमाले नेता गिरीले नेपालखबरसँग भने, ‘झापा क्षेत्र नम्बर ३ भित्रका नेकपा एमालेका नेता र शुभचिन्तक साथीभाइको सल्लाहमा मैले पार्टीको प्रतिनिधित्व गर्दै उम्मेदवारी हालेको हो। परिस्थितिले स्वतन्त्रको लिस्टमा पर्ने भइयो तर म पूरै नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेको हो।’

गिरी अगाडि भन्छन्, ‘मलाई ३ नम्बर क्षेत्रको नेकपा एमालेको पूरै सहयोग र समर्थन छ। उहाँहरु भित्रभित्र लाग्नुभएको छ। कतिपय साथीहरु खुलेर पनि लागिराख्नुभएको छ। चुनाव प्रचार गर्ने समय अझै बाँकी छ। अब यो छठ पछाडिबाट यहाँको परिस्थित अर्को भएर जान्छ।’

नेपाली कांग्रेसका कार्यकर्ताहरुले भने एमाले नेता गिरीको स्वतन्त्र उम्मेदवारीलाई शंकालु नजरले हेरिरहेका छन्। क्षेत्र नम्बर ३ का एकजना कांग्रेस नेताले भने, ‘हिजोसम्म डम्बरजी केपी ओलीकै निकट कार्यकर्ता हो। आज किन राजेन्द्रविरुद्ध उम्मेदवारी दिनुभयो, रहस्य बुझ्न गाह्रो छ। उहाँ पछिसम्मै अडिनुहोला जस्तो लाग्दैन।’

झापा क्षेत्र नम्बर ३ का कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला

कांग्रेस नेताहरु लिङदेनविरुद्ध एमालेका बागी उठेकोमा भित्रभित्रै खुशी छन्। एमालेका बागीले लिङदेनको भोट काटेमा जित निकाल्न सजिलो हुने  कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाका कार्यकर्ताहरुको विश्लेषण छ।

तर, एमालेका झापा जिल्ला कमिटी सदस्यसमेत रहेका गिरी भने लिङदेन र सिटौलाको बीचबाट आफूले फुत्त जित निकाल्ने दाबी गर्छन्। 

गिरीको तर्क छ, ‘अन्याय गर्ने भन्दा पनि सहने अपराधी हुन्छ। उम्मेदवारी मेरो रहर होइन, मैले तालमेल र गठबन्धनमा मतदान गर्न नसक्ने, काम गर्ने युवाहरुको खोजी भइरहेको र सबैको मतको मनको प्रतिनिधित्व गर्न उम्मेदवारी दिएको हो।’

राजेन्द्र लिङदेनविरुद्ध उठेका एमालेका बागी गिरीले राप्रपासँग पार्टीले गरेको सहमतिको विरोध गर्दै पाँचवटा प्रश्न उठाएका छन्–

१. फेरि पटकपटक त्यही व्यक्तिलाई मतदान गर्दा झापा क्षेत्र नं.३ मा एमालेको संरचना सुरक्षित रहन्छ?

२.हामीले एमालेको नीति, नेतृत्व र कार्यक्रम मन पराएर हामीसँग गोलबन्द भएकाहरुलाई के जवाफ दिने?

३.हामी दुःख, कष्ट गरेर पार्टी निर्माण गर्ने अनि हरेक निर्वाचनमा मतदान चाहिँ फरक विचार, फरक नीति भएको उमेदवारलाई कसरी मतदान गर्ने? के हरेक नागरिकको स्वतन्त्रता हुँदैन?

४.पटक पटक कतिपटकसम्म यस क्षेत्रका नागरिकले एउटै व्यक्तिलाई अवसर दिने?

५.हरेक १०/१२ वर्षमा व्यवस्था फेर्दा, हरेक पाँच वर्षमा उम्मेदवार किन नफेर्ने?

 

को हुन् एमाले नेता गिरी? 
३९ वर्षका युवा डम्बरबहादुर गिरी हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष हुन्। ०७४ को चुनावमा हल्दीबारीको अध्यक्षमा राप्रपाका रविन्द्र लिङदेनले ३ हजार ९४३ मत पाएर जित्दा एमालेबाट गिरीले ४ हजार ३८६ मत पाएर उपाध्यक्ष जितेका थिए।

पाँच वर्षसम्म गाउँपालिकामा रविन्द्रसँगै काम गरेका गिरी गत बैशाखको चुनावमा उनैसँग पालिका अध्यक्षमा पराजित बने। लिङदेनले ६ हजार ८५६ मत ल्याएर जिते भने एमाले नेता गिरी ४ हजार ६६६ मतका साथ दोस्रो भए।

राजेन्द्र लिङदेनको घर रहेको हल्दीबारी गाउँपालिकाको प्रमुखमा कांग्रेसले २ हजार ७५८ मत पाएको थियो भने माओवादीले १ हजार १४९ मत पाएको थियो।

एमाले नेता गिरीलाई स्थानीय चुनावमा पराजित गर्ने रविन्द्र लिङदेन नाताले राजेन्द्र लिङदेनको भाइ हुन्। भाइसँग स्थानीय चुनावमा हारेका गिरीले अब प्रतिनिधिसभाको चुनावमा दाजुसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्, त्यही पनि बागी उम्मेदवारका रुपमा।

यस क्षेत्रमा राप्रपा–एमाले गठबन्धनबाट राजेन्द्र लिङदेन उठेका छन् भने कांग्रेस–माओवादी गठबन्धनबाट कृष्णप्रसाद सिटौला उठेका छन्।

राजेन्द्र लिङदेन कति जोखिममा?
०७४ को चुनावमा एमाले र माओवादीको समेत साथ पाएर अत्यधिक मतले जितेका राजेन्द्र लिङदेनका लागि यसपटक झापा ३ बाट जित निकाल्नु जोखिमपूर्ण देखिएको छ। लिङदेनका सामु जोखिम बढ्नुका पछाडि केही कारणहरु छन् ः

पहिलो– एमालेबाटै बागी उठ्नु। दोस्रो– पार्टी फुटेका कारण कमल थापा नेतृत्वको राप्रपा नेपालबाट पनि उम्मेदवारी पर्नु। तेस्रो– गत स्थानीय चुनावमा कांग्रेसको मत एमाले र राप्रपाको तुलनामा बलियो देखिनु। र, चार–अहिले माओवादी–कांग्रेसको गठबन्धन बन्नु।

झापा क्षेत्र नम्बर ३ अन्तरगत हल्दिबारी, बाह्रदशी र कचनकवल गाउँपालिका पर्छन्। यस निर्वाचन क्षेत्रमा बिर्तामोड नगरपालिकाको वडा नम्बर १० लाई पनि समेटिएको छ। त्यसैगरी भद्रपुर नगरपालिकाका १ देखि ८ नम्बर वडाहरु यो निर्वाचन क्षेत्रमा समेटिएका छन्।

यस क्षेत्रमा पर्ने कुल २८ वटा वडामध्ये गत स्थानीय चुनावमा नेपाली कांग्रेसले एक्लै १६ वटा जितेको छ। माओवादीले दुईवटा वडा जितेको छ भने एमालेले ४ र राप्रपाले ५ वटा वडा मात्र जितेका छन्। एउटा वडा स्वतन्त्रले जितेको छ। यहाँ कांग्रेस–माओवादीले जितेका वडाको संख्या १८ हुन आउँछन् भने एमाले–राप्रपाले जितेका वडाहरु ९ मात्र हुन आउँछन्।

स्थानीय चुनावमा यस क्षेत्रमा नेपाली कांग्रेसले देखाएको बलियो उपस्थिति, अहिले माओवादीले दिएको साथ अनि राजेन्द्र लिङदेनको कित्तामा एमाले र राप्रपा नेपालको उम्मेदवारीलाई हेर्दा राप्रपा अध्यक्ष लिङदेनलाई झापा ३ बाट जित निकाल्न मुस्किल पर्ने स्थानीय बताउँछन्।

तर, झापाका क्षेत्र नम्बर ५ का एक एमाले नेताले भने पार्टीले लिङदेनलाई नै सघाउने र उनैले जित्ने दाबी गरे। उनले भने, ‘डम्बर गिरीलाई पार्टीले कारवाही गरिसकेको छ, पार्टीको भोट राजेन्द्र लिङदेनजीलाई नै जान्छ र उहाँले जित्नुहुन्छ।’

अब बागी उम्मेदवार एवं एमालेका जिल्ला नेता डम्बर गिरीका कुरा सुनौं–

राजेन्द्र लिङदेनविरुद्ध बागी उम्मेदवारी दिएपछि तपाईलाई नेकपा एमालेले कारवाही गरिसक्यो भन्ने सुनियो नि?
कारवाही भएको आधिकारिक सुनिएको छैन। मैले पनि सामाजिक सञ्जालमा एउटा विज्ञप्ति देखेको थिएँ, त्यसैलाई कारवाही भनेर बुझिएन।  किनभने, कारवाही कमिटीको बैठकले गर्नुपर्छ।

म पनि नेकपा एमाले झापा जिल्ला कमिटीको सचिवालय सदस्य हो। जिल्ला कमिटीको बैठक बसेको छैन। पदाधिकारीहरुको पनि बैठक बसेको छैन। झापा जिल्ला कमिटीका अध्यक्षज्यूलाई कारवाही नै गरिहाल्ने अधिकार छैन। कि त बैठकले कारवाही गर्नुपर्यो, कि त बैठकले उहाँलाई अख्तियारी दिनुपर्यो। भनेपछि, उहाँहरुले निकालेको विज्ञप्ति पनि अवैधानिक हो, त्यसको कुनै अर्थ रहँदैन।

 

यसरी पार्टीको निर्णय विपरीत बागी उठ्नेहरुलाई कारवाही हुन्छ भन्ने त केन्द्रले पहिल्यै स्पष्ट गरिसकेको विषय होइन र?
‘पार्टीको निर्णय अनुसार’ भन्नुभयो तपाईले। तर, पार्टीको निर्णय भनेको के हो? एउटा व्यक्तिले गरेको निर्णयलाई पार्टीको निर्णय भन्न मिल्छ? हामी पनि यही पार्टीका मान्छे हौं। यो भूगोलमा हामीले नेकपा एमाले पार्टीको जिम्मेवारी लिएर काम गरेको १८–२० वर्ष भइसक्यो। यहाँ संगठन हामी बनाउने, कमिटी हामी चलाउने, फरक पार्टीलाई आस्था राख्ने मान्छेलाई एमाले राम्रो हो भन्दै गोलबन्द पनि हामीले नै गर्ने, तलबाट लेबीको पैसा कलेक्सन गरेर पार्टीलाई हामीले बुझाउने, अनि हरेक चुनावमा फरक पार्टीको मान्छेलाई मतदान गर्नुपर्ने भयो भने यो पार्टीमा रहनुको के अर्थ?

०७४ सालमा पनि र अहिले पनि झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङदेनलाई भोट हाल्ने निर्णय एमाले पार्टीले गरेको होइन र?
यो व्यक्तिगत हो। कि त पार्टीले संस्थागत रुपमा गर्दा देशभरि वा प्रदेशभरिमा हुनुपर्यो। अहिले राप्रपासँगको तालमेल संस्थागतरुपमा कहाँ छ त खोई? संस्थागतरुपमा हामी ३ नम्बर क्षेत्रका जिम्मेवार मान्छेहरुलाई पार्टी कमिटीले योखालको निर्णय गरेको हुँदा त्यहाँका साथीहरुले यसरी जाने भन्ने कुनै सर्कुलर हामीले प्राप्त गरेका छैनौं।

सर्कुलर पनि आएन, अन्तिमसम्म पार्टीको नीति निर्देशन केही नआएपछि खाली किन छाड्ने भनेर झापा क्षेत्र नम्बर ३ भित्रका नेकपा एमालेका नेता र सुभचिन्तक साथीभाइहरुको सल्लाहमा मैले पार्टीको प्रतिनिधित्व गर्दै उम्मेदवारी हालेको हो। परिस्थितिले स्वतन्त्रको लिस्टमा पर्ने भइयो तर म पूरै नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेको हो। मलाई ३ नम्बर क्षेत्रको नेकपा एमालेको पूरै सहयोग र समर्थन छ। उहाँहरु भित्रभित्र लाग्नुभएको छ। कतिपय साथीहरु खुलेर पनि लागिराख्नुभएको छ। चुनाव प्रचार गर्ने समय अझै बाँकी छ। अब यो छठ पछाडिबाट यहाँको परिस्थित अर्को भएर जान्छ।

मेरो पार्टी यही ३ नम्बर क्षेत्रको हो। मलाई महाकालीको मान्छेले भोट हाल्ने होइन। काठमाडौंको नेताले भोट हाल्ने होइन। मलाई यहीँका साथीहरुले गोलबन्द गर्नुभएको हो, यहीँका साथीहरुले मलाई जिम्मेवारी दिनुभएको हो। यसले गर्दा मैले अहिले झापा ३ नम्बर क्षेत्रभन्दा बाहिर संसारै देखेको छैन। मेरो पार्टी नै यही ३ नम्बर क्षेत्रभित्र हो।

पार्टीले कारवाही गरेको विज्ञप्ति आइसकेको अवस्थामा अब झापा ३ बाट एमालेको आधिकारिक भोट राप्रपामै जाला, तपाईलाई चुनाव जित्छु जस्तो लाग्छ?
म यसपालि एकदम मज्जाले अत्यधिक मतका साथ निर्वाचन जित्छु। किनभने, ०७४ सालयताको पाँच वर्षको वीचमा मैले नेकपा एमालेबाट हल्दीबारी गाउँपालिकाको उपाध्यक्ष रहेर काम गरें। मैले पाँच वर्ष काम गर्दाखेरि हल्दीबारीको आसपासमा रहेका भद्रपुर नगरपालिका, कचनकवल र बाह्रदशीका नागरिकले मैले गरेका कामको सबै गतिविधिहरु देख्नुभएको छ।

यहाँका जनताले राजेन्द्र लिङदेनको पनि पाँचवर्षे कार्यकालको टेस्ट लिइसक्नुभएको छ। कृष्णप्रसाद सिटौलालाई त पटक–पटक सांसद बनाएर राज्यको बागडोरसमेत उहाँले सम्हाल्नुभएको छ। तर, यहाँ एमालेको संरचना बलियो छ। युवाहरुदेखि लिएर स्वतन्त्र व्यक्तिहरुको पनि मैले सहयोग पाउने स्थिति छ, निर्वाचन मैले जित्छु।

तपाईले चुनाव त जित्छु भन्नुभो, तर अस्ति बैशाखको स्थानीय चुनावमा राजेन्द्र लिङदेनका भाइ रविन्द्रसँग हल्दीबारीको अध्यक्षमा हार्नुभएको थियो। भाइसँग हारेको व्यक्तिले दाजुलाई जित्नुहोला त?
तपाईले के बुझ्नुपर्यो भने स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा–प्रदेशसभाको निर्वाचन फरक हो। किनभने, स्थानीय तहको चुनावमा रविन्द्र लिङदेन पूर्वअध्यक्ष हुनुहुन्थ्यो, म उपाध्यक्ष थिएँ। उहाँ अध्यक्ष भएका कारणले मैले गरेका कतिपय कामको पनि उहाँले जस लिनुभो। राजेन्द्र लिङदेनजीलाई हामीले सांसद बनाइदियौं, सांसद बनाएपछि उहाँले व्यक्तित्व विकास गर्नुभो, त्यसको प्रभाव पनि हल्दीबारी गाउँपालिकामा गर्यो। उहाँको सारा देशभरिको शक्ति त्यहीँ परिचालन गर्नुभो। त्यतिमात्रै नभएर माओवादी र कांग्रेसको मत पनि उहाँलाई गयो। तर उहाँको आफ्नो मत जीरो भएको अवस्था छ हल्दीबारीमा।

राजनीतिमा सशक्तका विरुद्ध अशक्तहरुको मोर्चाबन्दी हुन्छ। मलाई  पालिका अध्यक्षमा हराउनका निम्ति सबै पार्टीहरु राप्रपासँग मिल्नुभो र मलाई हराउनुभयो।

अब मंसिर ४ मा पनि त्यसैगरी सबै शक्ति राजेन्द्र लिङदेनतिरै खनिएला नि?
बाहिरबाट त्यस्तो देखिन्छ। ३ नम्बर क्षेत्रको पोजिसन अहिलेकै अवस्थामा भन्ने हो भने त मैले कृष्ण सिटौला र राजेन्द्र लिङदेन दुबैजनासँग प्रतिस्पर्धा गर्ने हो। सेकेन्ड र थर्ड को हुने हो, उहाँहरुको कुरा हो, पहिलो चाहिँ म हुने हो। मत चाहिँ मैले प्राप्त गर्छु।

अहिले नागरिकहरु निकै सचेत भइसक्नुभएको छ। उहाँहरुको चिप्लो चाप्लो भाषणमा झापा क्षेत्र नम्बर ३ का मतदाताहरु लाग्नुहुन्छजस्तो मलाई लाग्दैन। म नभएको भए उहाँहरुको अवस्था के हुन्थ्यो, थाहा छैन, त म यहाँका नागरिकहरुको दुःख–सुखमा साथ सहयोग गरिरहेको नेकपा एमालेको एउटा स्थापित कार्यकर्ता हुँ। पार्टीको निर्देशनमा काम गरिरहेको कार्यकर्ता भएकाले गर्दा उहाँहरुलाई मेरो उम्मेदवारी फलामको च्युराजस्तो भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .