राजनीति


शक्ति राष्ट्रको सामरिक प्रतिस्पर्धामा संलग्न हुन्नौँ : कांग्रेस

शक्ति राष्ट्रको सामरिक प्रतिस्पर्धामा संलग्न हुन्नौँ : कांग्रेस

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १४:३०, काठमाडौँ

नेपाली कांग्रेसले शक्ति राष्ट्रहरू बीचका सामरिक प्रतिस्पर्धामा नेपाल प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न नहुने संकल्प गरेको छ।

आगामी निर्वाचन लक्षित संकल्प पत्रमा कांग्रेसले शक्ति राष्ट्रहरू बीचका सामरिक प्रतिस्पर्धामा नेपाल प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न नहुने संकल्प गरेको हो। 

‘कुनै पनि देशसँग प्रतिरक्षा, सैन्य तथा सुरक्षा साझेदारी वा गठबन्धन नेपालको नीति नभएको वास्तविकताप्रति नपाली कांग्रेसको दृष्टिकोण स्पष्ट छ,’ कांग्रेसले संकल्पव पत्रमा ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीति’ अन्तर्गत भनेको छ, ‘  त्यसैले कुनै पनि प्रकृतिको प्रतिरक्षा, सैन्य तथा सुरक्षा सवाल तथा शक्ति राष्ट्रहरू बीचका सामरिक प्रतिस्पर्धामा नेपाल प्रत्यक्ष वा परोक्ष संलग्न हुने छैन।’ 

राष्ट्रहित र राष्ट्रिय स्वार्थको संरक्षण तथा सम्वद्र्धन, राष्ट्रिय सुरक्षा, संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्ति तथा सहअस्तित्व जस्ता मार्गनिर्देशक नीति अनुसरण गरी स्वतन्त्र र सन्तुलित नीति विदेश नीति अख्तियार गर्ने कांग्रेसको संकल्प पत्रमा भनिएको छ। 

भौगोलिक दृष्टिले देशहरू ठूलो वा सानो, आर्थिक दृष्टिले विपन्न वा समृद्ध तथा सैन्य दृष्टिले शक्तिशाली वा कमजोर जे भए पनि सार्वभौमिकताका दृष्टिले सबै देशहरू समान हुने भन्दै कांग्रेसले सार्वभौम समानताको सिद्धान्तको आधारमा विदेश नीति तर्जुमा गर्ने योजना बनाएको छ।

कांग्रेसले २१ औं शताब्दीका आर्थिक शक्ति केन्द्र हुने प्रक्षेपण गरिएका छिमेकीबीच कूटनीतिक सन्तुलन कायम गरी बहुआयामिक सम्बन्धलाई अझै घनिष्ट र प्रगाढ बनाउँदै पारस्परिक हित र समान लाभका आधारमा दुवै देशको विकासबाट अधिकतम लाभान्वित हुने नीति अंगीकार गर्ने पनि भनेको छ।  
 
अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीति 
नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको आधारमा विदेश नीति निर्माण गर्न निम्न सिद्धान्त र नीति अनुसरण गर्नेछः
१) राष्ट्र हित र राष्ट्रिय स्वार्थको संरक्षण तथा सम्वद्र्धन, राष्ट्रिय सुरक्षा, संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्ति तथा सहअस्तित्व जस्ता मार्गनिर्देशक नीति अनुसरण गरी स्वतन्त्र र सन्तुलित नीति विदेश नीति अख्तियार गर्ने छ। 
२) भौगोलिक दृष्टिले देशहरू ठूलो वा सानो भए पनि, आर्थिक दृष्टिले विपन्न वा समृद्ध भए पनि तथा सैन्य दृष्टिले शक्तिशाली वा कमजोर जे भए पनि सार्वभौमिकताका दृष्टिले सबै देशहरू समान हुने भएकाले सार्वभौम समानताको सिद्धान्तको आधारमा विदेश नीति तर्जुमा गर्ने छ। 
३) सार्वभौमिकता, वहुलवाद, स्वतन्त्रता, लोकतान्त्रिक प्रणाली, विधिको शासन, अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता तथा जनताका नैसर्गिक अधिकारलाई प्रमुख मापदण्ड निर्धारण गर्दै नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय कानुन, महासन्धि, अभिसन्धि र अनुबन्धहरूलाई आधारभूत सिद्धान्तका रूपमा अनुसरण गर्ने छ। 
४) एक्काईसौं शताब्दीका आर्थिक शक्ति केन्द्र हुने प्रक्षेपण गरिएका छिमेकीबीच कूटनीतिक सन्तुलन कायम गरी बहुआयामिक (कूटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, व्यापारिक) सम्बन्धलाई अझ घनिष्ट र प्रगाढ बनाउँदै पारस्परिक हित र समान लाभका आधारमा दुवै देशको विकासबाट अधिकतम लाभान्वित हुने नीति अंगीकार गरिने छ। 
५) आर्थिक कूटनीति मार्फत् वैदेशिक सहायता, लगानी र बजार पहुँच अभिवृद्धि गर्ने नीति लिँदै व्यापारिक ऋण भन्दा सहुलियतपूर्ण ऋण वा अनुदानलाई विशेष प्राथमिकता दिइने छ। 
६) भूपरिवेष्ठित देशले पाउने निर्वाध व्यापार तथा पारवहन सुविधाको प्रत्याभूति गर्नुका साथै व्यापार तथा पारवहन सन्धिबाट अधिकतम लाभ लिन भौतिक पूर्वाधार विस्तार गरी अन्तर्राष्ट्रिय व्यापार र पारवहनलाई विविधिकरण गर्ने नीति अख्तियार गर्ने छ। 
७) कुनै पनि देशसँग प्रतिरक्षा, सैन्य तथा स्रक्षा साझेदारी वा गठबन्धन नेपालको नीति नभएको वास्तविकताप्रति नपाली कांग्रेसको दृष्टिकोण स्पष्ट छ। त्यसैले कुनै पनि प्रकृतिको प्रतिरक्षा, सैन्य तथा सुरक्षा सवाल तथा शक्ति राष्ट्रहरू बीचका सामरिक प्रतिस्पर्धामा नेपाल प्रत्यक्ष वा परोक्ष संलग्न हुने छैन। 
८) जलवायु परिवर्तनको कारणले विश्वव्यापी रूपमा सृजना भएको वातावरणीय संकट समाधान गर्न हरित कूटनीति अनुसरण गरी नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्ने छ। 
९) सन् २०२६ मा राष्ट्रसंघको परिभाषा अनुसारको ‘अतिकम विकसित’ राष्ट्रको श्रेणीबाट नेपालको स्तरोन्नति हुँदै गर्दा विकास अनुदान र सहुलियतपूर्ण अन्तर्राष्ट्रिय बजार पहुँचमा हुने नियमित संक्रमणको सहज व्यवस्थापन गर्ने कूटनीतिक आत्मविश्वास नेपाली कांग्रेस व्यक्त गर्न चाहन्छ। 
१०) परिवर्तित सन्दर्भमा विश्वव्यापी रूपमा नै ‘पब्लिक डिप्लोमेसी’ (सार्वजनिक शैलीमा गरिने कूटनीति) र ‘सफ्ट पावर’ ९सौम्य शक्ति० प्रभावशाली कूटनीतिक अस्त्रको रूपमा स्थापित भएकाले उक्त अस्त्रहरूको अधिकतम अभ्यास गरिने छ। 
११) श्रम कूटनीति मार्फत् वैदेशिक रोजगारीलाई सुरक्षित, सम्माजनक र मर्यादित बनाउँदै विदेशमा कार्यरत नेपाली नागरिकको पेशागत हक र सुरक्षालाई सुनिश्चित गर्न विदेशस्थित कूटनीतिक नियोगलाई थप प्रभावकारी रुपमा परिचालित गरिने छ। 
१२) क्षेत्रीय तथा उपक्षेत्रीय संगठनहरू क्षेत्रीय सहयोग, सहकार्य र साझेदारीका लागि अपरिहार्य संयन्त्र भएकाले सार्क र बिमस्टेक जस्ता संगठनहरूबाट अधिकतम लाभ हासिल गर्न कूटनीतिक साझेदारी र सहकार्यलाई प्राथमिकता दिइने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .