ad ad

राजनीति


भोट माग्न जाँदा पूर्णबहादुर खड्काले टेक्ने लौरोको कथा

भोट माग्न जाँदा पूर्णबहादुर खड्काले टेक्ने लौरोको कथा

बुवाले दिएको लौरोसहित सुर्खेतका मतदातामाझ पुगेका कांग्रेस उम्मेदवार पूर्णबहादुर खड्का


केशव सावद
कात्तिक १५, २०७९ मंगलबार ५:४९, काठमाडौँ

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा र्‍यापर बालेन अर्थात स्ट्रकचरल इन्जिनियर बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुखमा अनपेक्षित उदाए। 

‘लौरौ’ चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्रले नेपाली कांग्रेसको विरासत बोकेको गणेशमान सिंह परिवारकी बुहारी सिर्जना सिंहभन्दा झण्डै दोब्बर मत ल्याए। 

निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा ६१ हजार ७६७ मतसहित बालेन्द्र काठमाडौं महानगरमा विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी सिर्जनाले ३८ हजार ३४१ मत ल्याएकी थिइन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ पाए।

उता सुनसरीको धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ‘लौरौ’ चुनाव चिह्नबाटै प्रमुखमा विजयी भए। 

स्वतन्त्रहरु बालेन्द्र र हर्क ‘लौरो’ चुनाव चिह्नबाट विजयी भएपछि काठमाडौं महानगर प्रमुखमा पराजित सुमन सायमीले थाले, ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान।’

काठमाडौं ८ बाट प्रतिनिधिसभामा उठेका अभियान संयोजक सुमनले गत भदौ १६ गते ललितपुरमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्दै देशैभरबाट स्वतन्त्र उठ्न चाहनेलाई एकै ठाउँमा उभिन आग्रह गरे।

पछि अभियानमा आवद्धहरुले ‘हाम्रो नेपाली पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता गरेर ‘लौरो’ लाई आधिकारिक रुपमा चुनाव चिह्न बनाए। 

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा ‘हाम्रो नेपाली पार्टी’ ले देशभर ६२ निर्वाचन क्षेत्रमा ‘लौरो’ चुनाव चिह्नबाट उम्मेदवार खडा गरेको छ। 

लौरोसहित मतदातामाझ पूर्णबहादुर खड्का

पूर्णबहादुरको लौरो
निर्वाचन नजिकिँदै जाँदा ‘हाम्रो नेपाली पार्टी’ ले चुनाव चिह्न बनाएको ‘लौरो’ हातमा बोकेर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का गृहजिल्ला सुर्खेतमा भोट मागिरहेका छन्। 

सुर्खेत–१ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खड्का लौरो बोकेर मतदाताहरु भेट्दै आएका छन्। 

यसअघि उनले बेलाबेला सामाजिक सञ्जाल फेसबुकमा लौह पुरुष गणेशमान सिंहले बोक्ने गरेको जस्तै लौरो बोकेर कैद गरिएका तस्बिरहरु साझा (शेयर) गर्दै आएका थिए। खड्काले रातो रंगको लालीगुराँसको तस्बिर पनि फेसबुकमा बेलाबेला साझा गर्दै आएका छन्।  

उपसभापति खड्का उक्त लौरो लिएर पहिलो पटक २०४८ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवारको हैसियतमा सुर्खेत–१ का विभिन्न स्थानमा पुगेका थिए।

जुन कुरा उनले सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरखालीमा आयोजित चुनावी सभामा खुलाएका थिए। 

‘२०४८ सालको निर्वाचनमा माननीयको उम्मेदवार भएर आउँदा पिठ्युँमा झोला, हातमा यो लट्ठी लिएर छिन्चुबाट पैदलै यो सम्पूर्ण भूभागहरु हिँडेको थिएँ,’ चुनावी सभाका क्रममा लौरो बोक्नुको रहस्य खोल्दै खड्काले भने।    

खड्कालाई उक्त लौरो स्वर्गीय पिता प्रेमबहादुरबाट ‘उपहार’मा मिलेको हो। जुन लौरो उनी सुर्खेत–१ बाहेक कतै बोक्दैनन्। 

जिल्ला बाहिरमात्रै नभएर सुर्खेतकै क्षेत्र नम्बर २ मा जाँदा पनि लौरो उनको घरको कोठामा सजाएर राखिएको भेटिन्छ। 

‘निर्वाचन क्षेत्र नम्बर १ मा जाँदा कुनै बेला पनि हात खाली हुँदैन। सधैं लौरो हुन्छ,’ उपसभापति खड्काका स्वकीय सचिव गौतम बिसीले नेपालखबरसँग भने, ‘काठमाडौं वा अन्य जिल्लामात्र नभएर २ नम्बरमा जाँदा पनि लौरो बोक्नु हुन्न। कोठाको ह्यांगरमा राख्नुहुन्छ।’

सुन्दरखालीको कार्यक्रममा उपसभापति खड्काले लौरोको कथा खोले।

‘जब म झुप्रा खोलाबाट पूर्व आउँछु, सधैँ लट्ठी लिएर आउँछु। यो लट्ठी मैले हिँड्न नसकेर, टेक्नको लागि, आड लिनका लागि लिएको लट्ठी होइन,’ उनले भने, ‘यो लट्ठी ४६ सालको आन्दोलनमा पूर्वतिर आन्दोलनको तयारी गरेर आउँदा मलाई जन्म दिने मेरो बुवाले दिनुभएको हो।’

लौरो दिँदा पिता प्रेमबहादुरले सुर्खेत क्षेत्र नम्बर १ को तत्कालीन अवस्था स्मरण गराएको खड्काले सम्झिए। 

‘तिमी जतातिर जाँदैछौ, जुन भूभागतिर जाँदैछौ त्यहाँका जनता विकासको दृष्टिकोणले अत्यन्त पछाडि परेका छन्,’ पिताको सम्झना गर्दै उनले भने, ‘बाटो छैन, खानेपानी छैन, सिँचाइ छैन, पुल छैन, विद्यतु छैन, सञ्चार छैन, शिक्षा छैन, स्वास्थ्य छैन। सधैं विकासको अभावबाट त्यस क्षेत्रका जनता ग्रसित छन्।’

लौरो दिँदा पिता प्रेमबहादुर कांग्रेसले सुरु गर्न लागेको पहिलो जनआन्दोलन सफल हुनेमा ढुक्क रहेछन्। 

उनले जनआन्दोलन सफल भएपछि चुनाव जितेर सुर्खेत–१ का जनताका दुःख–पीडा नभुल्न र लौरो सधैं बोकेर हिँड्न खड्कालाई आदेशसमेत दिएको उनका कुराबाट अनुमान लगाउन सकिन्थ्यो।  

‘४६ सालको गणेशमानजीले गरेको आन्दोलन सफल हुनेछ। सफल भएपछि तिमीहरु निर्वाचनमा जाने छौ,’ पिताले भनेका कुरा सम्झिँदै खड्काले भने, ‘तिमीहरुले निर्वाचन जितेर, जनप्रतिनिधि भएर त्यो क्षेत्रका जनताको पिठ्युँको डोको, पिठ्युँको भारी, भीरमा ज्यान जोखिममा राखेर हिँड्नु पर्ने बाटोबिहीन, विद्युतविहीन, सिँचाइ, खानेपानी अभाव, पुल र स्वास्थ्य चौकी–अस्पताल नभएको अवस्था परिपूर्ति गर्न विकासे लट्ठीका रुपमा यसलाई सधैँ लिएर हिँड्नु भनेर मेरो बुवाले दिनुभएको हो।’ 

निर्वाचन आयोगले सुर्खेतका सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, चिङ्गाड गाउँपालिका, लेकवेशी नगरपालिका तथा वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ नम्बर वडाको भूगोल समेटेर क्षेत्र नम्बर १ निर्धारण गरेको छ।

लौरो टेक्दै आफ्नो क्षेत्रका कार्यकर्तामाझ पूर्णबहादुर खड्का

संसद यात्रा
६६ वर्षीय खड्काले यही निर्वाचन क्षेत्रबाट २०४८ सालको आमनिर्वाचन जितेर संसदीय यात्राको थालनी गरेका थिए। 

उक्त निर्वाचनमा उनी २१ हजार ६३७ मतका साथ विजयी भएका थिए। उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका हस्तबहादुर पुनले २० हजार १६ मत प्राप्त गरेका थिए। 

त्यस यता उनी २०७४ सालको प्रतिनिधिसभाबाहेकका निर्वाचनहरुमा पराजित हुनु परेको छैन। २०५१ मा सम्पन्न आमनिर्वाचनमा खड्का १३ हजार ७७१ मतसहित विजयी हुँदा एमालेका ऋषिप्रसाद शर्माले १२ हजार ६५४ मत ल्याएका थिए। 

२०५६ मा पनि खड्का एमालेका उनै शर्मालाई मात्र ३८६ मतको झिनो मतान्तरले हराउँदै ‘ह्याट्रिक’ गर्न सफल भएका थिए। 

१६ हजार ९८० मतले विजयी भएर खड्काले ‘ह्याट्रिक’ गर्दा एमाले नेता शर्माले १६ हजार ५९४ मतमा चित्त बुझाउनु परेको थियो।  

२०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ सभासद बनेका उपसभापति खड्काले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार कमला शर्मालाई हराएका थिए। 

खड्का १७ हजार ३०१ मतसहित संविधानसभा सदस्य बन्दा एमाले नेतृ शर्माले १५ हजार ३८९ मत प्राप्त गरेकी थिइन्। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी एमाले नेता ध्रुवकुमार शाहीसँग पराजित भएका थिए। शाही ३६ हजार ७५९ मत प्राप्त गरेर प्रतिनिधिसभा सदस्य बन्दा खड्काले ३३ हजार ३७७ मतमा चित्त बुझाउनु परेको थियो। 

आफ्नो क्षेत्रमा लौरोसहित पूर्णबहादुर

अब के छ अवस्था?
मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा पनि एमालेले शाहीलाई नै खड्काविरुद्ध प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा चुनावी मैदानमा उतारेको छ। यहाँ दलीय र स्वतन्त्र गरी ८ जना प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा सुर्खेत १ मा कांग्रेसको मत ३६ हजार ९२८ मत देखिन्छ।

एमालेले ३४ हजार ८४३, नेकपा माओवादी केन्द्रको ५ हजार ७५ छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ६६४ र नेकपा एकीकृत समाजवादीको ६३४ मत रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .