ad ad

राजनीति


भोट तान्न ‘प्रधानमन्त्री कार्ड’ खेल्दै सत्ता गठबन्धन

भोट तान्न ‘प्रधानमन्त्री कार्ड’ खेल्दै सत्ता गठबन्धन

फाइल तस्बिर


नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १९:१४, काठमाडौँ

मंसिर ४ को निर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने योजना बनाएको सत्ता गठबन्धन मत तान्न ‘प्रधानमन्त्री कार्ड’ प्रयोग गर्न थालेको छ।

निर्वाचन परिणाम आफ्नो पक्षमा आउने कुरामा ढुक्क देखिएको गठबन्धनले आधा दर्जन नेतालाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रुपमा प्रस्तुत गरिरहेको छ।

राजनीतिक स्थायित्व र स्थिर सरकारको नारासहित चुनावी मैदानमा उत्रिएको सत्ता गठबन्धनले प्रधानमन्त्रीको उम्मेदवार तय गर्न सकेको छैन।

तर, गठबन्धनले प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको मुद्दालाई भोट तान्ने हतियार बनाउने कोसिस गरेको हो। आगामी ५ वर्षे कार्यकालका लागि गठबन्धनबाट भावी प्रधानमन्त्रीका रुपमा झन्डै आधा दर्जन नेतालाई प्रस्तुत गरिएको छ।

गठबन्धनका आधा दर्जन नेताहरुको नाम अहिले प्रधानमन्त्रीका दाबेदारका रुपमा चर्चामा ल्याइएको छ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अस्थिरता सिर्जना गरेको आरोप लगाएर स्थिर सरकार दिने बचन दिएको गठबन्धनले भने पाँच वर्षका लागि अनेक अनुहार प्रधानमन्त्रीका रुपमा अघि सारेको हो। 

आफ्ना नेताहरुलाई भावी प्रधानमन्त्री र मन्त्रीका रुपमा प्रस्तुत गर्दा सम्बन्धित निर्वाचन क्षेत्रका मतदाता फकाउन सजिलो हुने निष्कर्ष गठबन्धनको छ। 

त्यहीअनुसार खास गरी गठबन्धनका एकजना शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्डले जिल्ला जिल्ला पुगेर मतदाता तान्ने गरी मन्तव्य दिइरहेका छन्। 

देउवाबाहेक कांग्रेसका अन्य नेताले पनि प्रधानमन्त्रीमा दाबी गरिरहेका बेला प्रचण्डले सोमबार तनहुँ पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर भोट तान्ने प्रयास गरे। 

२०७४ को निर्वाचनमा नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ 'किसान'सँग पराजित भएका पौडेललाई यस पटक तनहुँ १  बाट जित्नै पर्ने दबाब छ। 

उनलाई जिताउनकै लागि किसान तनहुँ छाडेर बारा क्षेत्र नम्बर ४ मा पुगेका छन्। पुराना प्रतिस्पर्धीले मैदान छाडिदिए पनि प्रचण्डले पौडेललाई धेरै ठूलो मतान्तरसहित जिताएर पठाउन आग्रह गरे। उनले धेरै मतान्तर भएमा गठबन्धनबाट पौडेल प्रधानमन्त्री हुने सम्भावना बलियो हुने तर्क गरे। 

विभिन्न जिल्लामा भएका गठबन्धनका चुनावी सभामा पनि खास गरी प्रचण्डले नै माओवादी र कांग्रेसका अलग अलग नेताहरुलाई मन्त्रीका रुपमा पनि प्रस्तुत गरिरहेका छन्। 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिसक्दा अलमलमा रहेको गठबन्धनले देशको कार्यकारी पदमा पुग्ने सम्भावित व्यक्तिलाई भोट माग्ने कार्डका रुपमा प्रयोग गरेको हो। 

अर्कातिर कांग्रेसबाट शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने सम्भावना बलियो हुँदा हुँदै काठमाडौं ४ मा महामन्त्री गगनकुमार थापाले आफूलाई उक्त पदको दाबेदार बताइरहेका छन्।

स्थानीय तह निर्वाचनको परिणामले यस पटक जित्न चुनौती थपिएका बेला गगनले पनि आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर भोट फकाइरहेका छन्। 

उनले चुनावी घरदैलोका क्रममा मतदाता फकाउन यस पटक स्थानीय विकासका एजेन्डासहित प्रधानमन्त्री कार्ड पनि प्रयोग गरेका हुन्।

गत असोज ३० गते काठमाडौं २ मा भएको सत्ता गठबन्धनको कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डतिर इसारा गर्दै वर्तमान प्रधानमन्त्री र भावी प्रधानमन्त्री मञ्चमै रहेको बताएका थिए। 

तर गत कात्तिक ७ गते सम्पादकहरुसँग बालुवाटारमा भएको एउटा छलफलका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे कूटनीतिक जवाफ दिएका थिए। निर्वाचन परिणामपछि मात्रै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने मुडमा रहेको गठबन्धनले यसैलाई चुनाव जित्ने एक हतियार बनाएको हो। 

‘सत्ता गठबन्धनभित्र अहिले नै को नयाँ प्रधानमन्त्री बन्ने कुरा भएको छैन’, देउवाले त्यसबेला बालुवाटारमा भनेका थिए, ‘सत्ता गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याउँछ। त्यसपछि अहिलेकै गठबन्धनको सरकार बन्छ। प्रधानमन्त्रीबारे छलफल गरिसकेका छैनौँ।’

देउवाले मंसिर ४ पछि आफैं प्रधानमन्त्री हुनेबारे पनि केही कुरा नभएको जवाफ दिएका थिए। तर कांग्रेसले आफ्नो तर्फबाट देउवालाई नै प्रधानमन्त्रीका रुपमा अघि सार्ने निश्चित जस्तै छ। 

‘मलाई फेरि प्रधानमन्त्री बनाउने सहमति भएको छैन। गठबन्धनमा हामीसँग माधव नेपाल पनि छन्। माधव नेपाल नै मलाई यो पटक प्रधानमन्त्री बन्न भनेका हुन्’, उनले भनेका थिए, ‘माधव नेपाल र प्रचण्डजीले पनि प्रधानमन्त्री मागेका छैनन्। चुनावपछि नयाँ प्रधानमन्त्री को हुन्छ? त्यतिखेरै हेरौँला।’

सत्तारूढ कांग्रेसमा प्रधानमन्त्रीका चार जनाले दाबी गरिसकेका छन्। अर्कातिर कांग्रेस प्रवक्ता डा. रामशरण महतले सोमबार मात्रै सानेपामा पत्रकार सम्मेलन गरेर मंसिर ४ पछि कांग्रेसकै नेतृत्वमा सरकार बनेर प्रधानमन्त्री देउवा नै हुने बताएका थिए। 

‘कांग्रेसको नेतृत्व आवश्यक छ भनेर नै यो गठबन्धन बनेको हो,’ प्रवक्ता महतले भने, ‘निर्वाचनपछि स्वाभाविक नेतृत्व कांग्रेसको हो।कांग्रेसभित्र स्वाभाविक नेतृत्व शेरबहादुर देउवाको भन्नेमा दुई मत छैन।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्चको परमादेशमार्फत बिदा गरिसकेपछि देउवालाई साथ दिएका प्रचण्ड र माधव नेपाल पनि गठबन्धनबाट प्रधानमन्त्रीका इच्छुक हुन्। तर अध्यक्ष नेपालले आफूभन्दा बलियो सम्भावना प्रचण्डको रहेको बताइसकेका छन्। 

गठबन्धनका आधा दर्जन नेताले भावी प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन्। आफैँ प्रधानमन्त्रीको दौडमा रहेका प्रचण्डले ठाउँ ठाउँमा पुगेर कांग्रेसका फरक नेताहरु प्रधानमन्त्री हुने सम्भावना रहेको बताइरहेका छन्। 

तनहुँमा सोमबार आयोजित गठबनन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा दाहालले पौडेललाई प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताए।

ओलीले संसद विघटन गरेपछि अहिलेको पाँच दलीय गठबन्धन बनाउन पौडेलले ठूलो भूमिका खेलेकाले आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको तर्क गरे। 

‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो। उहाँको एकपटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ। त्यो सम्भावना बढ्यो’, उनले भने, ‘तपाईंहरुले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुन सक्छ। त्यसकारण पौडेलजीलाई अत्यधिक बहुमतले जिताएर पठाउनुहोस्।’ 

त्यसअघि सोमबारै दिउँसो लमजुङको राइनासमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस पटक गण्डकी प्रदेशले नै प्रधानमन्त्री पाउन सक्ने सम्भावना बढेको बताए। 

गठबन्धनका शीर्ष नेता प्रचण्ड गण्डकीकै गोरखा २ बाट चुनावी मैदानमा छन्। उनले सम्भावित प्रधानमन्त्रीमा प्रस्तुत गरेका रामचन्द्र पौडेल गण्डकीकै तनहुँ १ बाट जित्ने योजनामा छन्। 

कांग्रेस केन्द्रीय कमिटीमा बलियो बहुमत रहेका देउवा मंसिर ४ पछि फेरि प्रधानमन्त्रीमा कायमै रहन खोजिरहँदा महामन्त्री गगन थापाले पनि यसलाई चुनावी एजेन्डा नै बनाएका छन्।

थापाले प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित्नुको विकल्प नरहेको बताए।

गत कात्तिक २३ गते काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को घरदैलो कार्यक्रममा सहभागी थापाले निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेतामा भिड्ने बताए। 

उनले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य र दोस्रो लक्ष्य संसदीय दलमा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु रहेको बताए। 
यससँगै कांग्रेसमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री थापा, पूर्व महामन्त्री शशांक कोइराला, नेता डा. शेखर कोइराला प्रधानमन्त्रीका आकांक्षीका रुपमा देखिएका छन्। 

नवलपुर १ बाट चुनावी मैदानमा रहेका शशांकले पनि आफूलाई माथिल्लो पदमा जाने आकांक्षा रहेको सुनाए। 

निर्वाचन क्षेत्रमै १९ कात्तिकमा एक अनलाइनसँगको अन्तर्वार्ताका क्रममा उनले आफूलाई प्रधानमन्त्रीको प्रत्यासीका रुपमा अघि सारेका हुन्।

‘मलाई पनि माथिल्लो पदमा जाने चाहना छ। पार्टीमा कुरा त भइसकेको छैन। तर म प्रधानमन्त्रीमा बलियो दाबी गर्ने व्यक्ति हुँ’, उनले भनेका छन्, ‘मेरा दाइ हुनुहुन्छ शेखर, उहाँ पनि प्रत्यासी हुनुहुन्छ। मलाई के लाग्छ भने योगदानका आधारमा म प्रधानमन्त्रीको बलियो उम्मेदवार हुँ।’ 

मन्त्री बाँड्दै 
गठबन्धनका नेताहरुले प्रधानमन्त्रीसँगै भावी मन्त्रीका रुपमा नेताहरुको नाम लिएर भोट मागिरहेका छन्। उनीहरुले मतदाता फकाउने अस्त्र मन्त्री पदलाई बनाएका हुन्। 

असोज ३० गते काठमाडौं क्षेत्र २ मा आयोजित चुनावी सभामा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले ‘गठबन्धनका उम्मेदवारलाई जिताएमा मन्त्री बनाइदिने’ भन्दै मत मागेका थिए।

पछिल्ला चुनावी सभामा गठबन्धनका शीर्ष नेता प्रचण्डले तीन बढी ठाउँमा पुगेर आफ्ना उम्मेदवारलाई जिताएर पठाए मन्त्री बनाइदिने आश्वासन दिए। 

उनले लमजुङको राइनासमा सोमबार पुगेर पनि त्यहाँका प्रदेशसभा उम्मेदवारलाई मन्त्री बनाइदिने बताए। उता गोरखामै सुरेन्द्र पाण्डेले जिताए गण्डकीको मुख्यमन्त्री बनाउने आश्वासन उनले दिइसकेका छन्। 

उनले गोरखा १ बाट उठेका कांग्रेस नेता राजेन्द्र बजगाईंलाई जिताएर पठाएमा देउवालाई भनेर संघीय मन्त्री बनाइदिने बताए। 

चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा कात्तिक २७ मा आयोजित चुनावी कार्यक्रममा उनले कांग्रेसका दुवै उम्मेदवारले जिते मन्त्री बनाइदिने बताए। 

‘गोरखा क्षेत्र नम्बर मा प्रतिनिधि सभातर्फ कांग्रेस उम्मेदवार राजेन्द्र बजगाईं र प्रदेश सभा ’ख’ मा कांग्रेसका नन्दप्रसाद न्यौपानेलाई जिताउनुस्’, उनले भने, ‘उहाँहरुलाई संघ र गण्डकी प्रदेशमा मन्त्री बनाउन म पनि भूमिका खेल्छु। देउवाजीसँग यसबारे कुरा गर्छु।’

कात्तिक २१ मा दार्चुलामा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा प्रचण्डले त्यहाँबाट कांग्रेसका दिलेन्द्र बडुलाई जिताए फेरि मन्त्री बनाउने आश्वासन दिए। 

प्रचण्डले कालिकोट पुगेर महेन्द्रबहादुर शाहीलाई जिताए मन्त्री बनाइदिने वचन दिए। उता जुम्लामा गठबन्धनको सभामा पनि उनले गठबन्धनकी गोमा कुँवरलाई जिताएर पठाए मन्त्री बनाइदिने आश्वासन दिए।

देउवा र प्रचण्डले दुवैले चितनवमा पनि गठबन्धनका उम्मेदवारलाई जिताए ‘मन्त्री बनाइदिने’ आश्वासन बाँडे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .