राजनीति


देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्ड सहमत हुनु भएको छ : प्रकाशशरण महत

देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्ड सहमत हुनु भएको छ : प्रकाशशरण महत

कांग्रेस प्रवक्ता प्रकाशशरण महत। तस्बिर : नेपालखबर


नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १४:५, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४ पछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने कुरामा कुनै विवाद नरहेको बताएका छन्। 

सत्ता गठबन्धनले प्रधानमन्त्रीको उम्मेदवार तय गर्न नसेकको अवस्थामा महतले मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै यस्तो बताएका हुन्। 

'स्वभाविक रुपमा गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ। १६५ सिटमा ९१ सिट कांग्रेसले लडेको छ। बाँकी ४ दलले ७४ सिट लिएका छन्', उनले भने, 'त्यसबाट नै नेतृत्वदायी भूमिका कांग्रेसकै हो भन्ने स्वभाविक छ। कांग्रेसको स्वभाविक नेतृत्व वर्तमान प्रधानमन्त्री र कांग्रेस सभापति देउवाजी नै हुनुहुन्छ भन्ने पनि स्पष्ट छ।'

उनले अहिले जनताले देश जोड्ने नेतृत्व खोजेको पनि उनले बताए। 'पार्टीभित्र पनि सर्वसम्मतिबाट, कसैलाई चित्त नदुखाई निर्णय गरिरहनुभएको छ। चाहे गठबन्धनको निर्णय होस्। चाहे टिकट वितरण होस्', उनले भने, 'त्यति मात्रैले नपुगेर उहाँले अन्य दलहरुलाई पनि विश्वासमा लिएर गुनासो रहने ठाउँ दिनुभएको छैन।'

उनले अहिलेको आवश्यकता पनि देउवा नै प्रधानमन्त्री भएको बताए। 'धेरै कुरामात्रै गर्ने नेतृत्वभन्दा खुरुखुरु काम गर्नेको अहिले आवश्यकता छ। यद्यपि बजारमा अनेक खाले कुरा गरिन्छ', उनले भने, 'त्यसलाई अन्यथा लिनेकुरा छैन। वास्तविकता यही नै हो। फेरि शेरबहादुरजीको स्वभाव के छ भने आफूलाई म हुँ नभन्ने। सबैको विश्वास जितेर अगाडि बढ्ने।'

उनले मंसिर ४ पनि देउवा नै प्रधानमन्त्री हुने कुरामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहमत रहेको बताए।

'अस्ति प्रचण्डजीले नै भन्नुभयो नि नेतृत्वको समस्या नै छैन हाम्रोबीचमा। उहाँले आफ्नो इच्छा भए पनि शेरबहादुरजीले यो कारणले यसो गरौँ भनेपछि मैले नाइँ भन्दिन भनिसक्नु भयो', उनले भने, 'मैले केही भने उहाँले पनि नाइँ नगर्नुहोला। त्यो किसिमको केमेस्ट्री र विश्वास अहिलेको यो गठबन्धनमा भएकाले मलाई लाग्दछ, नेतृत्वको विषयमा समस्या छैन।'

उनले प्रधानमन्त्रीको उम्मेदवार घोषणा नगरे पनि समस्या नपर्ने बताए। 'उम्मेदवार घोषणाको कुरो संसदीय व्यवस्थामा कहिले गरिन्छ, कहिले गरिँदैन', उनले भने, 'यसलाई औपचारिक रुपमा घोषणा गर्ने कि नगर्ने कुरा मात्रै हो। तर स्वभाविक नेतृत्व नेपाली कांग्रेसको हु्नेछ। नेपाली कांग्रेसमा पनि सरकारको नेतृत्व शेरबहादुरजीले नै गर्ने हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .