ad ad

राजनीति


लुम्बिनीमा गठबन्धनका १३, एमालेका २ सिट ‘ग्रिन जोन’ मा

गठबन्धनको आकलनः १७ क्षेत्रमा गठबन्धनका उम्मेदवार ‘ग्रिन जोन’, ६ क्षेत्र ‘एल्लो जोन’ मा
लुम्बिनीमा गठबन्धनका १३, एमालेका २ सिट ‘ग्रिन जोन’ मा

सागर न्यौपाने र सुदीप भण्डारी
मंसिर १, २०७९ बिहिबार १४:१०, काठमाडौँ/बुटवल

परिस्थितिमा कुनै फेरबदल नभए लुम्बिनी प्रदेशमा रहेका प्रतिनिधि सभाका २६ मध्ये १३ क्षेत्रमा गठबन्धन र एक क्षेत्रमा गठबन्धनको सहयोग पाएका घनश्याम भुसाल जित्ने निश्चित छ। २ क्षेत्रमा नेकपा एमालेले जित्ने निश्चित देखिन्छ।

‘एल्लो जोन’ मा परेका बाँकी १० क्षेत्रमध्ये ६ वटामा गठबन्धन अगाडि छ। तर तीव्र प्रतिस्पर्धा देखिन्छ। यस्तै २ क्षेत्रमा एमाले र २ क्षेत्रमा अन्य दल अगाडि छन्।अघिल्लो पटकको चुनावी नतिजा, ३० वैशाखको स्थानीय तहको परिणाम, प्रतिस्पर्धी दलहरु र सुरक्षा निकायहरूको रिपोर्ट, चुनावी माहौल विश्लेषण गरी यो रिपोर्ट तयार पारिएको हो।

गठबन्धनको एक घटक कांग्रेसले लुम्बिनीका ९ क्षेत्रमा सानदार जित निकाल्ने देखिन्छ। नवलपरासी पश्चिम १ र २, रुपन्देही ४ र ५, कपिलवस्तु २, बर्दिया १, अर्घाखाँची, दाङ ३ र बाँके ३ कांग्रेसले सजिलै जित्ने क्षेत्र हुन्। 

गुल्मी १ मा तीव्र प्रतिस्पर्धा देखिन्छ। रुपन्देही ३, पाल्पा १ मा कांग्रेसको अवस्था कमजोर छ।  

यसैगरी माओवादी केन्द्रले रुकुम पूर्व, रोल्पा, बाँके १, दाङ २ र बर्दिया २ सहित ५ क्षेत्र सजिलै जित्ने देखिन्छ।  

कपिलवस्तु १ मा तीव्र प्रतिस्पर्धा देखिन्छ। एकीकृत समाजवादीले दाङ १ जित्ने निश्चित रहेको विश्लेषण गरिएको छ। गुल्मी २ र पाल्पा २ मा तीव्र प्रतिस्पर्धा छ।

प्युठानमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल अगाडि रहेको देखिन्छ।

गठबन्धनले रुपन्देही १ मा गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई जित्ने जित्ने सूचीमा राखेको छ। बुटवल बहुमुखी क्याम्पसमा राजनीतिशास्त्र प्राध्यापन गरिरहेका उद्धव गौतमको विश्लेषण पनि यस्तै छ। 

अहिलेसम्मको अवस्थामा एमालेबाट रुपन्देही २ मा विष्णु पौडेलले जित्ने निश्चित छ। गुल्मी १ र २ तथा पाल्पा १ मा गठबन्धनका उम्मेदवारसँग एमालेको तीव्र प्रतिस्पर्धा देखिन्छ। 

यो रिपार्ट तयार पार्दासम्म राप्रपा रुपन्देही ३ र बाँके २ मा अगाडि छ। तर, चुनाव जित्ने सुनिश्चितता भने छैन।

‘स्थानीय निर्वाचनलाई आधार मान्दा लुम्बिनीमा रहेका २६ क्षेत्रमा गठबन्धन बलियो अवस्थामा छ,’ गौतमले नेपालखबरसँग भने, ‘मैले गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी लगायतका जिल्ला भ्रमण गर्दा पनि गठबन्धन रहेको देखेँ।’

उनले एमालेसँग तालमेल गरेको राप्रपा रुपन्देही ३ र बाँके २ मा सुदृढ अवस्थामा रहेको बताए। 

‘रुपन्देही १ मा गठबन्धनको समर्थन पाएका घनश्याम भुसाल बलिया छन्, रुपन्देही ३ मा दीपक बोहरा र बाँके २ मा राप्रपाका धवलशम्शेर राणाको अवस्था सुदृढ छ,’ गौतमले थपे। 

अर्घाखाँचीमा कांग्रेसकी पुष्पा भुसाल झिनो मतले मात्र अगाडि देखिएको उनले विश्लेषण गरे। 

‘लुम्बिनीका केही बढी सिट गठबन्धनले निश्चित जित्छ,’ उनले थपे, ‘यो क्षेत्रमा स्वतन्त्र नामका कुनै पनि उम्मेदवारले जित्दैनन्। स्वतन्त्रमा युवाको आकर्षण हो। युवामा पनि एमाले, कांग्रेस, माओवादी पार्टीबाट भएकाहरु नै उता लागेकाले स्वतन्त्रले बाजी मार्लान् जस्तो लाग्दैन।’

सुरक्षा निकायका रिपोर्टहरू र आफ्नो संगठनका जिल्ला तहको रिपोर्टिङको आधारमा गठबन्धनले मंगलबार तयार गरेको प्रतिवेदनमा लुम्बिनी प्रदेशका १७ सिटमा गठबन्धन ‘ग्रिन जोन’ मा अर्थात् जित नजिक रहेको देखाइएको छ।

‘ग्रिन जोन’ मा देखाइएका ती १७ क्षेत्र हुन्– पाल्पा २, रुपन्देही १, ३, ४ र ५, कपिलवस्तुका तीन वटै क्षेत्र, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ २ र ३, बाँके १, बर्दिया १ र २, नवलपरासी पश्चिम १।

त्यस्तै लुम्बिनीका ६ क्षेत्रमा गठबन्धनका उम्मेदवार ‘एल्लो जोन’ मा र ३ क्षेत्र ‘रेड जोन’ मा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।         

नवलपरासी पश्चिमका दुई क्षेत्र
कांग्रेसका विनोद चौधरीले उम्मेदवारी दिएको नवलपरासी पश्चिम १ क्षेत्रमा स्थानीय चुनावलाई आधार मान्दा गठबन्धन बलियो छ। सो क्षेत्रबाट एमालेको समेत समर्थन पाएका जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी प्रतिस्पर्धामा छन्।

अहिलेसम्म त्यहाँका मतदाताको मनोविज्ञान, उनीहरुले दिएको प्रतिक्रिया, गठबन्धनका चौधरीले ल्याएको लहरलाई आधार मान्दा नतिजा उनकै पक्षमा छ।

नवलपरासी पश्चिम २ मा कांग्रेसबाट देवेन्द्रराज कँडेल र एमालेका दीपेन्द्र अधिकारी प्रतिस्पर्धामा छन्। स्थानीय चुनावमा वडाध्यक्षतर्फ प्राप्त मत विश्लेषण गर्दा कांग्रेस पहिलो छ। त्यसमा गठबन्धनका अन्य घटक दलको समेत साथले चुनाव जित्ने सम्भावना बलियो छ।

रुपन्देहीका पाँच क्षेत्र
गठबन्धनमा रहेको माओवादी केन्द्रले एमाले परित्याग गरेका घनश्याम भुसाललाई सहयोग गरेको रुपन्देही १ मा एमालेका निवर्तमान छविलाल विश्वकर्मा प्रतिस्पर्धामा छन्।

भुसाललाई गठबन्धनको साथ छ। त्यस्तै, एमालेले टिकट नदिएकाले भुसाललाई एमालेकै असन्तुष्टहरुको मत पनि खस्न सक्छ। तर, कांग्रेसको मत ट्रान्सफर हुन्छ या हुँदैन भन्ने कुरा निर्णायक बन्ने आकलन गर्न सकिन्छ।

रुपन्देही २ मा एमालेका विष्णु पौडेलले निश्चित जित्ने क्षेत्रमा पर्छ रुपन्देही २। यहाँ गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङ र युवा मत आकर्षित गरेका डा। कमल भुसाल दुवैको उम्मेदवारी खारेज भएको छ।

आफ्ना उम्मेदवार खारेजीमा परेपछि गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ। त्यसैले पौडेल सहज अवस्था छन्।

रुपन्देही ३ मा गठबन्धनबाट गृहमन्त्री समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र राप्रपाका दीपक बोहोराबीच यो क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। बोहोरालाई जनता समाजवादी पार्टी (जसपा) र एमालेको साथ छ।

गठबन्धनका माओवादी केन्द्र, एकीकृत समाजवादीको साथ पाएका खाणले सजिलै जित्ने गठबन्धनको आकलन छ। तर, स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतका आधारमा यहाँ सत्ता गठबन्धनभन्दा एमाले–राप्रपा–जसपा गठबन्धन अगाडि छ। 

यो क्षेत्रमा व्यक्तिगत मत खाणले भन्दा बोहराले बढी पाउने अड्कल गरिएको छ।

रुपन्देही ४ मा अघिल्लो चुनाव (२०७४) मा कांग्रेसका प्रमोद यादवले फराकिलो जित निकालेका थिए। यसपटक पनि उनी गठबन्धनबाट उम्मेदवार छन्।

उनीसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ल प्रतिस्पर्धामा छन्। स्थानीय चुनाव अनुसार लोसपाको राम्रै मत देखिन्छ। तर गठबन्धनको फाइदा यादवलाई छ।

रुपन्देही ५ मा एमालेभित्रकै प्रतिस्पर्धाका कारण यसपटक पनि कांग्रेसका भरतकुमार शाहले नै यो क्षेत्र जित्ने विश्लेषण छ।

एमालेबाट खिमलाल भटराईको उम्मेदवारी दर्ता गरेर पछि बासुदेव घिमिरेलाई कायम गरिएको थियो। घिमिरेका लागि सो क्षेत्र नयाँ हो। त्यसको फाइदा शाहले लिने देखिन्छ।

कपिलवस्तुका तीन क्षेत्र  
कपिलवस्तु १ मा माओवादीका चक्रपाणि खनाल र एमालेका बलराम अधिकारीबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। गठबन्धनमा रहेको कांग्रेसबाटै बागी उम्मेदवारी परेकोले कांग्रेसको सबै मत खनालले पाउने देखिँदैन।

त्यसबेला एकीकृत समाजवादीको मत निर्णयक हुनेछ। यस्तै प्युठान लगायत केही पहाडी क्षेत्रबाट आएर सो क्षेत्रमा बसोबास गर्ने मतदाताको मतले खनाललाई केही सहज देखिए पनि यो क्षेत्र एल्लो जोन’ मै छ।  

कपिलवस्तु २मा कांग्रेसका सुरेन्द्र आचार्य र एमालेका बृजेशकुमार गुप्ताबीच कडा प्रतिस्पर्धा हुनेछ​। स्थानीय चुनावमा कांग्रेस अघि भए पनि गुप्ताको पकड बलियो छ।

कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप शाह बलिया उम्मेदवार छन्। स्थानीय चुनावमा एमाले अघि भए पनि ५ वर्षअघिको चुनावमा एमाले–माओवादी गठबन्धनलाई शाहले पराजित गरेका थिए। यो क्षेत्रमा शाहको राम्रै प्रभाव छ। 

गुल्मीका दुई क्षेत्र
गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी र एमालेका निवर्तमान सांसद प्रदीप ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा देखिन्छ। गठबन्धनको बलले भण्डारी केही सहज अवस्थामा छन्। तर, कम्युनिस्ट मत ज्ञवालीको ज्यादा छ। 

गुल्मी २ मा एमालेबाट निरन्तर चुनाव जित्दै आएका गोकर्ण विष्ट र एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीबीच पनि तीव्र प्रतिस्पर्धा देखिन्छ।

यो क्षेत्रमा विष्टसँग असन्तुष्ट एमालेकै नेता कार्यकर्ताहरुले झाक्रीलाई मत दिने सम्भावना देखिएको जानकारहरु बताउँछन्। त्यसबाहेक माओवादी केन्द्र र कांग्रेसकै मत झाँक्रीले पाउने भएकोले अहिलेसम्म उनी बलियो अवस्थामा देखिन्छिन्। 

अर्घाखाँची
कांग्रेसकी पुष्पा भुसाल यो क्षेत्रमा बलियो अवस्थामा छिन्। जसका कारण निवर्तमान सांसद टोपबहादुर रायमाझीलाई गाह्रो पर्ने देखिन्छ।

यस क्षेत्रमा गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा निर्णायक छ। यस्तै माओवादी केन्द्रको पनि यहाँ राम्रो र संगठित मत छ। भुसाललाई एमालेकै केही मतदाताको मत खस्ने विश्लेषण छ। 

पाल्पाका दुई क्षेत्र 
पाल्पा १ मा गठबन्धनबाट कांग्रेसका ज्ञानवहादुर गाहा र एमालेका नारायण आचार्यबीच प्रतिस्पर्धा छ। एमालेको गढका रुपमा रहेको पूर्वी पाल्पाको निर्णायक मत पाउँदा आचार्यले जित्ने देखिन्छ।

तर, माओवादी केन्द्र, जनमोर्चा र एकीकृत समाजवादीको मत कसरी खस्छ भन्ने कुराले नतिजालाई बदल्न सक्ने देखिन्छ। 

पाल्पा २ मा निवर्तमान सांसद समेत रहेका एकीकृत समाजवादीका सोमप्रसाद पाण्डे र एमालेका युवा नेता ठाकुर गैरे चुनावी प्रतिस्पर्धामा छन्।

अहिलेसम्म स्थानीय तहको वडागत मत विश्लेषणका आधारमा गठबन्धन अगाडि देखिन्छ। तर, युवा नेता गैरेको पक्षमा माहोल बढ्दै गएको छ। त्यसैले यहाँको प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

दाङका तीन क्षेत्र
दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी बलियो अवस्थामा छन्। एमालेबाटै गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकाले एमालेकै नेतृ शान्ता चौधरी दबाबमा छिन्। 

गठबन्धनमा रहेका कांग्रेस र माओवादीको केही प्रतिशत मत खसेको अवस्थामा मेटमणिलाई सहज छ। तर, आफ्नै उम्मेद्वार नभएकाले स्वतन्त्र तथा साना दलले पनि कांग्रेसको मत तान्छन्।

दाङ २ मा एमालेका महासचिव शंकर पोखरेल र माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माबीच कडा प्रतिस्पर्धा छ। गत स्थानीय चुनावको वडागत मत विश्लेषण गर्दा एमाले भन्दा गठबन्धनको मत बढी छ। 

सुरुमा पोखरेलको पक्षमा माहोल देखिए पनि पछिल्लो समय रेखा बलियो हुँदै गएकी छन्।

माओवादीका नेता कृष्णबहादुर महराले २०७४ मा यही क्षेत्रबाट चुनाव जितेका थिए। यो क्षेत्रमा माओवादी, कांग्रेसको मत हाराहारीकै छ। त्यसमा पनि एकीकृत समाजवादीको समेत मत मिसिँदा रेखा अगाडि देखिए पनि गठबन्धनको सबै मत खस्ने सम्भावना कम छ।  

दाङ ३ मा कांग्रेसका दीपक गिरी र कोमल वलीबीच प्रतिस्पर्धा छ। स्थानीय चुनावको आधारमा एमालेभन्दा गठबन्धन अगाडि छ। तर स्थानीय चुनावमै कांग्रेसभित्र असन्तुष्टिले कोमललाई फाइदा पुग्न सक्ने विश्लेषण छ।

प्युठान
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल बलियो अवस्थामा छन्। उनी निवर्तमान सांसद समेत हुन्। पौडेलविरुद्ध एमालेका सूर्य थापा उठेका छन्। तर, यहाँ कांग्रेस र माओवादी केन्द्रको राम्रो मत रहेकोले पौडेललाई जित्न सहज हुने विश्लेषण छ।

रोल्पा 
माओवादीको आधार इलाकाका रुपमा चिनिएको यो क्षेत्रमा उपमहासचिव वर्षमान पुन जित नजिक छन्। निवर्तमान सांसद पुनसँग एमालेका पूर्ण बुढामगर उठेका छन्। यहाँ माओवादीको बलियो पकड छ। तर, माओवादीभित्रको केही असन्तुष्ट पक्षको मत एमालेका उम्मेदवारले पाउने सम्भावना छ।

रुकुम पूर्व
यो क्षेत्रमा पनि माओवादी केन्द्रका पूर्णबहादुर घर्ती बलियो अवस्थामा छन्। एमालेका कैलाशकुमार मल्ल अहिलेसम्म पछि देखिन्छन्। रुकुम पूर्वमा पनि माओवादीको उपस्थिति बलिायो रहेको बताइन्छ।

बाँकेका तीन क्षेत्र  
बाँके १ मा गठबन्धनमा भएकोले माओवादी केन्द्रका महेश्वरजंग गहतराजको सम्भावना बलियो छ। निवर्तमान सांसद रहेको गहतराजसँग एमालेका सूर्यप्रसाद ढकाल प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा एमालेभन्दा गठबन्धन निकै अगाडि देखिन्छ। यही अवस्था चुनावसम्म कायम रहे गहतराजको जित्ने सम्भावना छ।

बाँके २ मा निवर्तमान सांसद जसपाका मोहम्मद इस्तियाक राई र धवलशम्शेर राणाबीच प्रतिस्पर्धा छ। राईको सो क्षेत्रमा बलियो अवस्था छ तर, एमालेको सहयोग पाएकाले राणाले नतिजालाई फरक बनाउने विश्लेषण छ। 

२०७४ मा नेपालगञ्जको मेयर चुनिएका राणा र राईबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ। 

बाँके ३ मा कांग्रेसका किशोरसिंह राठौर बलियो अवस्थामा छन्। राठौरसँग किस्मत कक्षपति प्रतिस्पर्धामा भए पनि स्थानीय चुनावको आधारमा गठबन्धन अगाडि देखिन्छ।

बर्दियाका दुई क्षेत्र
बर्दिया १ मा कांग्रेसका निवर्तमान सांसद सञ्जयकुमार गौतम बलिया उम्मेदवार हुन्। उनलाई एमालेका लक्ष्मणराज ज्ञवालीले चुनौती दिए पनि चुनाव जित्ने आधार देखिँदैन।

गठबन्धनका माओवादी केन्द्र र कांग्रेसको मत मात्रले पनि गौतम जित्ने देखिन्छ। त्यसमाथि जनमोर्चा र एकीकृत समाजवादी पार्टी पनि गठबन्धनमा छ।

बर्दिया २ मा माओवादी केन्द्रका सुरेश पन्थ बलिया उम्मेदवार हुन्। यो क्षेत्रमा एमालेका पंकजसिंह राठौरको उम्मेदवारी छ। 

पन्थका लागि कांग्रेस परित्याग गरी राप्रपामा उम्मेदवारी दिएका विनय रावल, नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीका बुबा लालवीर चौधरीले चुनौती दिने देखिन्छ।

तर, सामाजिक क्षेत्रमा पहिचान बनाएका पन्थ कोरानाकालमा स्वास्थ्य सामग्री निजी खर्चमा स्वास्थ्यकर्मी लगेर स्थानीय सर्वसाधरणलाई निःशुल्क वितरण गर्ने व्यक्तिका रुपमा चिनिन्छन्। 

सो क्षेत्र २०६४ सालदेखि माओवादी केन्द्रले जित्दै आएको छ। गठबन्धनको गणितीय हिसाबले गठबन्धन बलियो अवस्थामा छ। तर, गठबन्धनभित्रको सबै मत ट्रान्सफर हुने सम्भावना कम छ।

नेपालखबर चुनाव ब्रिफिङ :

प्रदेश १ मा सत्ता गठबन्धन १८, एमाले १० सिटमा जित नजिक

बागमतीका २१ क्षेत्रमा गठबन्ध ‘ग्रिन जोन’ मा, १२ क्षेत्रमा एमालेको कडा टक्कर

मधेशका २१ सिटमा सत्ता गठबन्धन, ७ वटामा एमाले–जसपा जित नजिक

कर्णालीका ८ क्षेत्रमा गठबन्धनको जित सुनिश्चित, चार क्षेत्र ‘एल्लो जोन’ मा

गण्डकीका ८ क्षेत्रमा गठबन्धनको जित पक्का, बाँकी १० क्षेत्रमा पनि एमाले ‘रेड जोन’ मा

सुदूरपश्चिमका ५ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन ‘रेड जोन’ मा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .