ad ad

राजनीति


‘कांग्रेसबाट प्रधानमन्त्रीमा देउवा, माओवादीले राष्ट्रपति र हामी सभामुख लिन्छौँ’

‘कांग्रेसबाट प्रधानमन्त्रीमा देउवा, माओवादीले राष्ट्रपति र हामी सभामुख लिन्छौँ’

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १७:२९, काठमाडौँ

शहरी विकासमन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बनेर त्यसको नेतृत्व शेरबहादुर देउवाले गर्ने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘सरकारबारे छलफल भइरहेको छ, पाँच दलीय गठबन्धनकै सरकार बन्छ। सरकारको नेतृत्व र मन्त्रीहरु  पनि सल्लाहमै टुँगो लगाउँछौं’, उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ। पाँच वर्षसम्म अब यही गठबन्धनको सरकार बन्छ। यसमा कोही पनि कन्फ्युजन हुन जरुरी छैन।’

मन्त्री चौधरीले अहिले एमालेसहितको वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको जिकिर गरे। 

‘एमालेसहितको वामपन्थीहरुको सरकार बन्ने कुनै सम्भावना छैन। यसमा कसैले पनि भ्रम नपाले हुन्छ। गठबन्धनकै नेतृत्वमा सरकार बन्छ। कांग्रेस ठूलो दल हो। उसको फष्ट च्वाइस हो। प्रधानमन्त्रीमा दाबी गर्ला’, उनले थपे, ‘गठबन्धनभित्र कांग्रेसपछि माओवादी दोस्रो ठूलो दल हो, उसले राष्ट्रपति च्वाइस गर्ला। एकीकृत समाजवादीले सभामुखमा दाबी गर्न सक्छ। हुन त नेताहरुसँग मेरो कुराकानी भएको छैन। तर, यही रुपमा छलफल अघि बढ्न सक्छ।’ 

उनले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने दाबी गरे। ‘चुनावी परिणामबाट हामी सन्तुष्ट हुने कुरा उठाउनुभयो, हामी १९ सिटमा लडेका थियौँ। १५ जित्ने दाबी थियो। तर, १० सिट जित्यौँ। तुलना गर्दा राम्रो रिजल्ट ल्याएका छौं’, उनले भने, ‘अपेक्षाअनुसार खासगरी अहिलेको रिजल्ट हेर्दा कमजोर छ। समानुपातिकमा १० लाख आउँछ भनेका थियौँ। तर, अब ३ लाख प्लस ल्याउँछौँ। सन्तुष्ट हुने कुरै भएन। कमीकमजोरी भएको छ। हामी निर्वाचनमा देखिएको समस्याको खोजी गर्छौं।’

मन्त्री चौधरीले अहिले मार्केटमा नयाँ अनुहारको प्रधानमन्त्री खोजी भएकोतर्फ संकेत गर्दै त्यस्तो सम्भावना नरहेको स्पष्ट पारे। ‘अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो। त्यसबाहेक अरुखालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन’, उनले भने, ‘प्रधानमन्त्रीमा गगन थापाले दाबी गर्नु सकारात्मक कुरा हो। सम्भव कति होला, त्यो उहाँको दलभित्रको कुरा हो। सांसद बनेपछि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री हुन खोज्ने कुरा सामान्य हो।’ 

उनले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अब बन्ने नयाँ मुख्यमन्त्रीको शपथ हुने दाबी गरे। ‘अब बन्ने संसद्को पहिलो बैठक राजधानी दाङमा बस्छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .