ad ad

राजनीति


अन्तरघात भएको कास्की कांग्रेसको ठहर, ‘अन्तरघाती’बारे उजुरी माग

अन्तरघात भएको कास्की कांग्रेसको ठहर, ‘अन्तरघाती’बारे उजुरी माग

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार २१:३७, पाेखरा

कास्की क्षेत्र नम्बर १ बाट संघीय सांसदको उम्मेदवारी दिएका किशोरदत्त बराल २ हजार ५१९ मतले पछि पर्दै एमालेका मनबहादुर गुरुङलाई परिणाम सुम्पन बाध्य बने। मनबहादुरले २५ हजार ७०८ मत प्राप्त गर्दा किशोरको पोल्टामा २३  हजार १८९ मत पर्यो। किशोर पाँच दलीय गठबन्धनका उम्मेदवार थिए। 

उता,सोही क्षेत्रको प्रदेश ‘क’बाट माओवादीका दीपक कोइराला र ‘ख’बाट दीपक गुरुङ ‘माइला’ले पनि विजय प्राप्त गर्न सकेनन्। 
चुनाव हारेलगत्तै माओवादी केन्द्रले कांग्रेस गठबन्धनप्रति प्रतिवद्ध नभएको गुनासो गर्यो भने कांग्रेसभित्रबाटै  ‘अन्तरघात’ गरिएको आवाज मुखरित भयो। 

कांग्रेस मादी गाउँपालिकाका सभापति यामबहादुर गुरुङले कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीले किशोरदत्त बराललाई मत नदिन आग्रह गरेको आरोप लगाए। सो आरोपकैबीच कृष्ण केसीविरुद्ध उनकै घर अगाडि नाराबाजी भयो। कृष्ण केसीले पनि हाकाहाकी पार्टीभित्र विभिन्न गुट र उपगुट भएको र आफू किशोरदत्तको पक्षमा नभएको भनिदिए। 

मादी–१ का सभापति टंकप्रसाद गुरुङले नेता कृष्ण केसीको पक्षमा उभिए। उनीहरुले यामबहादुरलाई कारबाही हुनुपर्ने माग गर्दै कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय समितिमा निवेदन बुझाए। 

कांग्रेसभित्र देखिएको यो विवाद फेरि सतहमा आएको छ। कास्की कांग्रेसको बुधबार बसेको बैठकको सुरुमै पार्टीका उम्मेदवार हराउन लाग्नेहरुमाथि कारबाही हुनुपर्ने आवाज उठ्यो। जिल्ला कार्यसमिति सदस्य गंगाधर पराजुलीले संगठन विरोधी गतिविधिले पार्टीमा अराजकता बढ्ने भएकाले त्यस्ता प्रवृत्तिमाथि कारबाही हुनुपर्ने बताए। यद्यपि, यस्तो कारबाही पूर्वाग्रहको आधारमा हुन नहुनेमा उनले जोड दिए। 

त्यसपछि कांग्रेसको बैठक गर्मायो। बैठकमा सहभागी एक नेताका अनुसार केसीविरुद्ध ‘प्रमाण’ बोकेर कांग्रेस मादी इकाइ सभापति यामबहादुर गुरुङ आइपुगे। उनले किशोरलाई भोट नहाल भन्ने अडियो रेकर्ड सुनाए। कृष्ण केसीलाई सबक सिकाउनको लागि उनको घर अगाडि नाराबाजी गरिएको पनि उनले स्वीकारे। 

उनले बैठकमा भने,‘ कृष्ण केसीले हामीलाई मिटिङमा बोलाएकै हुन्। किशोरलाई हराउन पर्छ भनेकै हुन्। अन्तरघातीलाई चिनाउनुपर्छ भनेर नारा लगाउन भनेको हो तर अराजकता सिर्जना गर्ने भनेको हैन।’ 

कृष्ण केसीमाथि तत्काल कारबाही गर्नुपर्ने आवाज उठेपछि पार्टीका उपसभापति युवराज कुँवरलगायतका केही नेताहरुले मध्यमार्गी बाटो रोजे। केही बैठक नै छाडेर निस्के। 

कृष्ण केसीको राजनीतिक अवसान चाहनेहरुले भने कारबाही हुनैपर्ने माग गरिरहे। जिल्ला कार्यसमितिका सचिव भानु ढकाल, सदस्यहरु गणेश बस्नेत, विष्णु कार्की, कमला बराललगायतका नेताहरु कारबाहीको पक्षमा देखिँदा बैठकले आफ्नै उम्मेदवारलाई असहयोग गर्नेलाई प्रमाणहरु संकलन गरी कारबाहीको सिफारिस गर्ने निर्णय गर्यो।

‘दिउसो १२ बजे बोलाएको बैठक ४ बजेसम्म बस्यो, अन्तरघातको बारे उजुरी माग्ने, त्यसलाई पार्टीको सम्पत्तिको रुपमा राख्ने भन्ने निर्णय भयो’,कास्की कांग्रेसका जिल्ला सदस्य गंगाधर पराजुलीले भने, यद्यपि, पात्र को भन्नेबारे भने निर्णय भएको छैन, तल्ला कमिटीबाट सिफारिस आओस् भन्ने भयो।’ 

पार्टी बैठकमा सभापति किशोरदत्त स्वयंले भनेका छन्,‘ अन्तरघातका प्रमाणहरु प्राप्त भएका छन्, प्राप्त प्रमाणका आधारमा मात्र कारबाहीका लागि सिफारिस गरिनेछ।’

पार्टी बैठकमा कृष्ण केसीले नै अन्तरघात गरेको आवाज उठे पनि बैठकपछि जारी प्रेस नोटमा भने ‘निवर्तमान सभापति कृष्ण केसीविरुद्ध गरिएको नाराबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ’ भनिएको छ। 

बैठकमा सहभागी केही सदस्यहरुले पार्टी विधान अनुसार तल्ला कमिटीको सिफारिस बिना जिल्ला कमिटीले कसैमाथि कारबाही गर्न नमिल्ने बताएपछि त्यस्तो निर्णय भएको हो।

‘यो साँप पनि मर्ने, लौरो पनि नभाँचिने खालको निर्णय हो’, बैठकमा सहभागी एक नेताले भने,‘सकेसम्म कृष्ण केसीको राजनीति सिध्याउने,नभए तेजोबध गर्ने उदेश्यले यस्तो गरिएको हो। नत्र, उनकै विरुद्ध त्यति धेरै कुरा गरेपछि गोहीको आँसु किन झार्नुपर्यो?’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .