ad ad

राजनीति


माओवादीले कुरा फेर्‍यो, देव गुरुङ भन्छन् : एमालेसँग मिलेर जाने विकल्प खुला भइसकेको छैन

माओवादीले कुरा फेर्‍यो, देव गुरुङ भन्छन् : एमालेसँग मिलेर जाने विकल्प खुला भइसकेको छैन

माओवादी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
मंसिर १८, २०७९ आइतबार १८:४, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि सबै विकल्पहरुबारे अहिले कुनै कुरा नभएको जनाएको छ।

शनिबार बसेको पार्टी पदाधिकारी बैठकले एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुला गरेको भोलिपल्ट माओवादीले बोली फेरेको हो। 

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन घटक माओवादी केन्द्रको आइतवार बसेको पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले यसबारे कुनै छलफल नभएको दाबी गरे। 

'एमालेसँग गठबन्धन गर्ने विषयमा कुनै पनि प्रकारको कुरा नै भएको छैन। गठबन्धनको विकल्पमा अहिलेसम्म कुरा भएको छैन', गुरुङले भने, 'गठबन्धनको विकल्पमा कुरा भएको छैन। पहिलो प्रयास त सत्ता गठबन्धनमै हुन्छ।'

उनले प्रवक्तासमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले शनिबार बोलेको कुरामा पनि अनभिज्ञता प्रकट गरेका छन्। 

'प्रवक्ता (कृष्णबहादुर महरा) ले बोल्ने क्रममा कसरी अभिव्यक्त भयो थाहा भएन। तर गठबन्धनको विकल्पहरुबारे अहिलेसम्म कुरा भएको छैन', उनले भने, 'अहिले त गठबन्धनमा रहेका छौँ। गठबन्धन फेर्नुपर्छ भन्ने कुरा भएको छैन। गठबन्धनमा पहिले वार्ता गरौँ। अनि मात्रै थप कुरा हुन्छ। अहिले पार्टीले गठबन्धनको विकल्प खोजिसकेको छैन।'

उनले नयाँ सरकारको नेतृत्वमा पनि माओवादीले दाबी गरिनसकेको बताए। 'सरकारबारेमा उल्लेखनीय रुपमा विषय प्रवेश भएको छैन। विकल्पबारे कुरा भएको छैन', गुरुङले भने, 'चुनावी समीक्षाको बाटोमा बैठक केन्द्रित छ। आज सबै साथीहरुले बोलेका छन्। सरकारको विकल्पबारे कुरा भएको छैन।'

उनले त्रिशंकु सदन आएकाले गठबन्धनको आपसी सहमतिमा सरकारको नेतृत्व तय हुने बताए। 'अहिले त्रिशंकु संसद आएको छ, सबैको आपसी सहमतिबिना सरकारको नेतृत्वको कुरा सम्भव छैन', उनले थपे, 'परिवर्तनको बहाक भएकाले हाम्रो मागदाबी हुन सक्छ। तर आपसी सहमतिबाटै जानुको विकल्प छैन।'

शनिबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने निष्कर्ष निकालिएको महराले बताएका थिए। 

‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो। अपेक्षा गरिए अनुसार हामीले संघमा सिट हासिल गर्न सकेनौँ भन्ने समीक्षा भयो। समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो,’ महराले भने, ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन। र, अन्य विकल्प पनि खुला राखिएको छ। विभिन्न विकल्पमा जान सकिन्छ। तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .