ad ad

राजनीति


महराले चुहाइदिएको त्यो सूचनाले एकैदिनमा ‘डिफेन्सिभ’ भयो माओवादी

महराले चुहाइदिएको त्यो सूचनाले एकैदिनमा ‘डिफेन्सिभ’ भयो माओवादी

फाइल तस्बिर


नेपालखबर
मंसिर १८, २०७९ आइतबार १९:१३, काठमाडौँ

 नेकपा माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारीको अनौपचारिक बैठकमा नयाँ सरकार गठनका लागि अन्य विकल्प पनि खुला राख्ने निर्णय भएको उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले बताए।

दिउँसो ३ बजे सुरु भएको बैठक ५ बजे सकिएको थियो। बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महराले त्यो कुरा बोलेपछि एकैछिनमा सबैतिर फैलियो।

नयाँ सरकार गठनका लागि एउटा शक्तिका रुपमा रहेको माओवादीको निर्णय गठबन्धन छोड्ने दिशातिर उन्मुख रहेको कतिपयले विश्लेषण गर्न थाले।

त्यसले बालुवाटारमा र कांग्रेसभित्र पनि चर्चा पाउनु स्वभाविक नै हो। माओवादीको यो निर्णयले सरकार बनाउन तम्तयार कांग्रेस झस्किन पुग्यो।

स्रोतका अनुसार त्यसपछि शनिबार साँझ नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको थियो। 

त्यसक्रमम प्रचण्डले देउवासँग सत्ता गठबन्धनको बैठक राख्न प्रस्ताव गरेका थिए। त्यसपछि खुमलटारबाट प्रष्टीकरण आयो। 

माओवादीको अनौपचारिक निर्णय भएको सवा दुईघण्टापछि अध्यक्ष प्रचण्डको सचिवालयबाट स्वकीय सचिव एवम् पार्टी केन्द्रीय सदस्य रमेश मल्लले फेसबुकमा लेखे,–‘हाम्रो पार्टीको आज बसेको पदाधिकारी बैठकले निर्वाचनको समीक्षा प्रारम्भ गर्नुका साथै गठबन्धनको पक्षमा दृढतापुर्वक उभिएर अगाडि बढ्ने निर्णय गरेको छ।’

प्रवक्ता महराको भनाइलाई खण्डन गर्नेगरी प्रचण्डको सचिवालयबाट त्यो धारणा आएको थियो।

स्रोतका अनुसार खासमा बाहिर केही धारणा नदिने भनिए पनि मिडियासामु बोल्दा महराले जे हो त्यही बोलिदिएका थिए।

गठबन्धनमा भए पनि चुनावी परिणामबाट माओवादीका धेरै नेता सन्तुष्ट छैनन्।

अझ कांग्रेसलाई ठूलो बनाउन सहयोग गरेको तर, माओवादीका केही नेताहरु कांग्रेसकै मत नपाएर हारेकाले सरकार बनाउन लचक हुनुपर्ने भित्र नेताहरुबीच छलफल चलेकै हो। 

तर, बाहिर नबोलने भनिएको थियो तर, महराले चुहाइदिए। त्यसपछि प्रचण्डले सचिवालयबाट आफ्नो धारणा बाहिर ल्याएका थिए।

‘हिजोको बैठकमा गठबन्धनबारे के गर्ने भन्ने निर्णय भएकै थिएन, गठबन्धनको बैठक पनि बस्न सकेको थिएन, चुनावी समीक्षाका विषयमा केही नेताहरुले बोल्नुभएपनि निर्णय भएको होइन’ एक नेताले भने, ‘फेरि नेताहरुबीचको छलफल बाहिर नलैजाने र समीक्षामा उठेका कुरा पनि केही नभन्ने कुरा भएकोमा महराजीले बाहिर भनिदिनुभएछ।’

तर, नेपालखबरसँग कुरा गर्दै महराले सरकार निर्माणका लागि विभिन्न पक्षसँग छलफल भएपनि निष्कर्ष ननिस्केको बताएका थिए।

‘गठबन्धनकै पक्षमा थियौँ र उभिने भन्ने हिजोको नेताहरुबीचको अन्डरस्टान्डिङ थियो,’ स्रोतले थप्यो,‘महराजीले अन्य विकल्प खुला भनेर बोलेपछि समस्या भयो। त्यो पार्टी निर्णय थिएन।’

आइतबार दिउँसो ३ बजे बसेको माओवादीको पदाधिकारी अनौपचारिक बैठकले गठबन्धनकै पक्षमा उभिने निर्णयबाहेक केही पनि गरेन।

पदाधिकारीका सबैले धारणा राखेको बैठकमा अधिकांस नेताहरु गठबन्धनकै पक्षमा उभिएका थिए।

‘आजको बैठकमा चुनावी रिपोटिङ भयो, सबैले आफ्ना अनुभव राख्नुभयो तर धेरै पदाधिकारीहरुले गठबन्धन कायम राखेर जानुपर्ने निष्कर्ष सुनाउनुभयो,’ एक नेताले नेपालखबरसँग भने, ‘एकपटक लिखित रुपमा बोलाएर एजेण्डा नै राखेर औपचारिक बैठक बस्नुपर्ने निर्णय भएको छ।’

बैठकमा अध्यक्ष प्रचण्डले गठबन्धनको विकल्प खोज्ने बेला नभएको बताए।

‘गठबन्धनको विकल्प खोजनेबेला भएकै छैन, परिस्थिति झन् अनुकूल छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .