ad ad

राजनीति


संसदमा कांग्रेसका ५ जिल्ला सभापतिको ‘डेब्यु’, दलको चुनावमा कसलाई सघाउलान्?

संसदमा कांग्रेसका ५ जिल्ला सभापतिको ‘डेब्यु’, दलको चुनावमा कसलाई सघाउलान्?

केशव सावद
मंसिर २०, २०७९ मंगलबार २१:१३, काठमाडौँ

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका ५ जना जिल्ला सभापतिहरुले प्रतिनिधि सभामा ‘डेब्यु’ गरेका छन्। कांग्रेसबाट प्रतिनिधि सभामा पहिलो पटक चुनिनेहरुमा भक्तपुर, रामेछाप, म्याग्दी, मुगु र अछामका जिल्ला सभापतिहरू छन्।

भक्तपुरका सभापति दुर्लभ थापा, रामेछापका सभापति पूर्णबहादुर तामाङ, म्याग्दीका सभापति खमबहादुर गर्बुजा, मुगुका सभापति ऐनबहादुर शाही र अछामका सभापति पुष्पबहादुर शाह आगामी प्रतिनिधि सभामा कांग्रेसका नयाँ अनुहारमा पर्दछन्। 

यी नयाँ अनुहार आगामी संसदमा कसरी प्रस्तुत होलान् भन्ने कौतुहलसँगै उनीहरु संसदीय दलको नेताको चुनावमा कसको पक्षमा उभिन्छन् भन्ने चासो पनि बढेको छ।

निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै शीर्ष तहमा रहेका नेताहरुले दलको नेता र प्रधानमन्त्रीको दाबी गरिरहेका छन्। यस्तोमा उनीहरु कसको पक्षमा खुल्छन् भनेर हामीले पाँचै जिल्ला सभापतिहरुसँग कुराकानी गरेका छौँ। 

कुराकानीका क्रममा दुई जनाले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा खुलेर प्रतिक्रिया दिएका छन् भने दुई जनाले अहिले नै संसदीय दलको नेतामा कसलाई सघाउने भन्नेबारे प्रतिक्रिया दिन नमिल्ने जवाफ दिएका छन्। एक जनाले भने आफू व्यस्त भएको बताउँदै जवाफ दिन इन्कार गरे।

नेपालखबरसँगको टेलिफोन कुराकानीमा सभापति देउवाको पक्षमा खुलेर प्रतिक्रिया दिने जिल्ला सभापतिमध्ये एक हुन्– दुर्लभ थापा। दोस्रो कार्यकाल भक्तपुर सभापतिको पद सम्हालिरहेका थापाले पहिलो प्रयासमै चुनाव जितेर संसदीय यात्रा तय गरेका छन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने महेश बस्नेतलाई ९५७ मतले पराजित गर्दै उनी संसदीय यात्रा तय गर्न सफल भएका हुन्। उनले संसदीय दलको निर्वाचनमा सभापति देउवालाई मत दिने बताएका छन्। 

‘संसदीय दलको नेताको निर्वाचन प्रक्रिया र विधानअनुसार अगाडि बढ्छ। म शेरबहादुर देउवाको पक्षमा मतदान गर्छु,’ संसदीय दलको नेता चयनबारे नेपालखबरको जिज्ञासामा थापाले भने, ‘देउवाले जित्नु हुन्छ। उहाँकै नेतृत्वमा नयाँ सरकार बन्छ।’ 

उनले दलको नेताका अन्य आकांक्षी कसैको नाम नलिएरै सामाजिक सञ्जाल प्रयोगकर्ताले बनाएर कोही प्रधानमन्त्री नबन्ने पनि जिकिर गरे। 

‘फेसबुक, ट्विटरजस्ता सोसल मिडियाले कसैलाई प्रधानमन्त्री बनाउँदैन,’ थापाले भने, ‘जनताबाट चुनिएर आएका ८९ जना सांसदहरुले चुन्ने हो। हामीले हो चुन्ने।’

कांग्रेस महामन्त्री गगन थापाले मंसिर ४ को निर्वाचनअघि नै आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर मतदातासँग मत मागेका थिए। निर्वाचन जितिसकेपछि उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेता हुँदै प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने बताएका थिए। 

उनले महामन्त्री थापाले काठमाडौं–४ मा जितको ‘हयाट्रिक’ गरेपछि सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित लेखेका थिए, ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ।’

भक्तपुर सभापति थापा महामन्त्रीद्वय थापा र शर्माले गरिरहेको प्रयासमा सन्तुष्ट देखिएनन्। उनले दुवै महामन्त्रीप्रति नेपालखबरसँगको कुराकानीमा आक्रोश व्यक्त गरे। 

‘युवा नेता भन्नेले कति सिट जिताए। पूर्वको महामन्त्रीले पूर्वमा कति सिट जिताए,’ उनले प्रश्न गरे, ‘उहाँहरु मात्रै युवा? पार्टीमा अरु युवा छैनन्?’  

नेपालखबरसँगको कुराकानीमा सभापति देउवाको पक्षमा खुलेका अर्का जिल्ला सभापति हुन्– खमबहादुर गर्बुजा। कांग्रेस म्याग्दीका सभापति गर्बुजा पनि पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। एमाले उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ मतले हराउँदै गर्बुजाको संसद् यात्रा सुरु भएको हो। 

उनी भने दोस्रो प्रयासमा संसद् प्रवेश गर्न सफल भएका हुन्। २०७४ मा पहिलो पटक उम्मेदवार बनेका गर्बुजालाई एमाले नेता भुपेन्द्रबहादुर थापाले हराएका थिए। गर्बुजा २ हजार ३२८ मतले पराजित हुन पुगेका थिए। 

गर्बुजाले संसदीय दलको नेतामा प्रधानमन्त्री देउवाको विकल्प नभएको जिकिर गरे। पार्टीको सभापति रहेकाले तत्काल दलको नेतामा देउवाको विकल्प नभएको उनको भनाइ थियो। 

‘अबको दलको नेता पार्टी सभापति नै हो। उहाँको विकल्प छैन,’ गर्बुजाले भने, ‘उहाँको नेतृत्वमा कांग्रेस मात्र नभएर गठबन्धन नै चुनावमा गएको अवस्था छ। संविधानको रक्षा उहाँकै नेतृत्वमा भएको छ।’

तर, पार्टीको १४ औं महाधिवेशनमा संस्थापन पक्षबाटै जिल्ला सभापतिमा निर्वाचित भएका रामेछापका नेता पूर्णबहादुर तामाङले भने अहिले नै संसदीय दलको नेताका बारेमा खुल्ने बेला नभएको बताए। 

निर्माण व्यवसायीसमेत रहेका पनि तामाङले दोस्रो प्रयासमा संसद् यात्रा तय गरेका छन्। उनले एमाले उम्मेदवार कैलाश ढुंगेललाई १६ हजार २६९ मतान्तरले पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन्। २०७० मा पार्टीको समानुपातिक बन्द सूचीमा परेका तामाङ २०७४ मा प्रत्यक्षतर्फ प्रत्यासी थिए। 

उक्त निर्वाचनमा एमाले नेता श्यामकुमार श्रेष्ठसँग पराजित हुन पुगेका तामाङले ३५ हजार ७७१ मत ल्याएका थिए। श्रेष्ठ ४२ हजार ११७ मतसहित विजयी भएका थिए। कांग्रेसको आन्तरिक राजनीतिमा देउवासँग जोडिँदै आएका तामाङले संसदीय दलको नेताका बारेमा जवाफ दिन आनाकानी गरेका छन्। 

‘यो अहिले नै भनिहाल्ने विषय होइन,’ उनले भने, ‘पछि कुरा गरौंला।’

मुगुका सभापति ऐनबहादुर शाहीले पनि दोस्रो प्रयासमा प्रतिनिधि सभा सदस्यको चुनाव जितेका हुन्। उनी नेकपा एमालेका नेता राजबहादुर कार्कीलाई झण्डै ४ हजार मतको अन्तरले पराजित गर्दै संसदीय यात्रा तय गर्न सफल भएका हुन्। 

यसअघि शाही २०७० मा सम्पन्न संविधान सभा निर्वाचनमा पनि मुगुबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। तर, उनको संसदीय यात्रामा एमाले नेता मोहन बानियाँ अवरोध बन्न पुगेका थिए। उक्त निर्वाचनमा बानियाँले सभापति शाहीलाई १ हजार ८९० मतले पराजित गरेका थिए। 

उनी यतिबेला गृहजिल्ला मुगुमा मतदातालाई भेटेर आभार प्रकट गरिरहेका छन्। शाहीले काठमाडौं आएर मात्रै संसदीय दलको नेताका बारेमा निर्णयमा पुग्ने प्रतिक्रया दिएका छन्।

‘जिल्लातिरै छु, मतदातासँग भेटघाट गर्दैछु। २४÷२५ गतेतिर काठमाडौं आउँछु,’ उनले नेपालखबरसँग भने, ‘त्यतै आएपछि के–कसो गर्ने भन्ने बारे निर्णयमा पुग्छु।’

प्रतिनिधि सभामा ‘डेब्यु’ गर्ने पाँचौँ जिल्ला सभापति हुन्– अछामका पुष्पबहादुर शाह। उनी दोस्रो पटकको प्रयासमा संसदीय यात्रा तय गर्न सफल भएका छन्। शाहले नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीलाई झण्डै ७ हजार मतान्तरले पराजित गरेका छन्। 

यसअघि २०७४ को निर्वाचनमा भने उनी बोगटीसँग पराजित भएका थिए। उक्त निर्वाचनमा शाहले १९ हजार १०६ मत ल्याउँदा एमाले नेता बोगटी २१ हजार ९६५ मतका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।

प्रतिनिधि सभा सदस्य शाहले पनि १४ औं महाधिवेशनमा संस्थापन पक्षबाटै जिल्ला सभापतिको निर्वाचन जितेका थिए। उनी सुदूरपश्चिमका कांग्रेस नेतामध्ये देउवाका विश्वासपात्रमा गनिन्छन्।

१२ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित तत्कालीन सभापति सुशील कोइराला र देउवाबीच आन्तरिक मनमुटाव चुलिँदै गएपछि शाह (अछामका तत्कालीन जिल्ला सभापति) ले नेतृत्वविरुद्ध अछाममा संस्थागत रुपमै आन्दोलनको सुरुवात गरेका थिए। 

तर, उनले संसदीय दलको नेताका बारेमा राखिएको जिज्ञासामा खुलेर जवाफ भने दिएनन्।

‘म एउटा कार्यक्रममा छु। बेलुकी फोन गर्नुस्,’ प्रतिनिधि सभा सदस्य शाहले भने।  

कांग्रेसमा अहिले संसदीय दलको नेताका लागि सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आकांक्षा देखाएका छन्। उनीहरु दलका नेताका लागि प्रतिस्पर्धा गर्न आन्तरिक छलफलमा छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .