ad ad

राजनीति


सोमबार सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी, को बन्ला नयाँ प्रधानमन्त्री?

धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त हुन संसदीय दलको नेता हुनु पर्दैन
सोमबार सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी, को बन्ला नयाँ प्रधानमन्त्री?

नेपालखबर
पुस १, २०७९ शुक्रबार १९:२२, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारी गरेकी छन्। 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार संभवतः राष्ट्रपति भण्डारीले सोमबार संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि बहुमत सांसदहरूको दाबी पेश गर्न दलहरूलाई आह्वान गर्नेछिन्।

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन गर्न कुनै पनि दलले प्रतिनिधि सभामा बहुमत (१३८) सिट नल्याएकाले धारा ७२ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर प्रधानमन्त्रीको दाबी गर्ने सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेर सपथ गराउने तयारी छ। 

निर्वाचन आयोगले बुधबार निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिसकेको राष्ट्रपति कार्यालयले उक्त प्रतिवेदन संसद सचिवालयमा पनि पठाइसकेकाले राष्ट्रपतिलाई सरकार गठनको प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ। 

संविधानको धारा ७६ (१) मा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था भएपनि ७२ (२) मा दलको नेता हुनै पर्ने व्यवस्था नभएकाले पार्टी संसदीय दलको नेता निर्वाचित नभएपनि प्रधानमन्त्रीमा नियुक्त हुन सक्नेछन्।

सत्ता गठबन्धनबाट प्रधानमन्त्री को बन्ने भन्ने टुंगो नलागेपनि वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आफैँ फेरि प्रधानमन्त्री बन्ने तयारीमा छन्। गठबन्धनबाटै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने कसरत गरेकाले देउवाले संसदीय दलको नेता चयन नभएसम्म पर्खन भनेका छन्। तर धारा ७६ (२) अनुसार प्रधानमन्त्री बन्न संसदीय दलको नेता चयन भइराख्न आवश्यक छैन।

त्यसैले देउवा र प्रचण्डबीच सहमती बनेको अवस्थामा कांग्रेस वा माओवादीको संसदीय दलको नेता चयन नभइ प्रधानमन्त्री नियुक्तिका लागि बहुमत रहेको दाबी राष्ट्रपति समक्ष गर्न सक्नेछन्।

त्यस्तै यदि अहिलेको सत्ता गठबन्धनमा सहमति भएन र अर्को गठबन्धन बनेको अवस्थामा पनि यही प्रक्रिया लागू हुन सक्नेछ।

यस्तो छ संविधानको धाराः

७६. मन्त्रीपरिषदको गठनः (१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र नीजको अध्यक्षतामा मन्त्रीपरिषदको गठन हुनेछ।

(२) उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।  

यसअघि २०७४ मा केपी ओली पनि धारा ७६ (२) अन्तर्गत संसदीय दलको नेता चयन नभइ एमाले र माओवादीको समर्थनमा बहुमत जुटाएर प्रधानमन्त्री नियुक्त भएका थिए। ओली पछि मात्रै एमाले संसदीय दलको नेता चयन भएका हुन्। 

स्रोतका अनुसार निर्वाचन परिणाम आइसकेको अवस्थामा नयाँ सरकार गठन धेरै दिन नलब्याउने पक्षमा राष्ट्रपति भण्डारी छिन्। त्यसैले राष्ट्रपतिले ३–४ दिनको समय दिएर ससरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ। 

प्रतिनिधि सभाको बैठक बसेर सांसदहरूको सपथ नभइ सरकार गठनको प्रक्रिया अगाडि नबढ्ने कतिपयको तर्क छ। तर निर्वाचन आयोगले प्रमाणि गरेर दिएको प्रतिवेदनका आधारमा राष्ट्रपतिले प्रतिनिधि सभामा निर्वाचित सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गरेर सपथ गराउन सक्ने राष्ट्रपति कार्यालयको भनाइ छ।

प्रधानमन्त्री नियुक्तिका लागि सांसको सपथ अनिवार्य छैन।

‘निर्वाचन आयोगले दिएको प्रतिवेदन राष्ट्रपति कार्यालयले संसद सचिवालयमा पनि पठाइसकेको छ, त्यस आधारमा जेष्ठ सदस्य छानेर सचिवालयले सपथका लागि राष्ट्रपति समक्ष पठाउन सक्छ’, राष्ट्रपति कार्यालयका एक अधिकारी भन्छन्, ‘जेष्ठ सदस्यको सपथ भएपछि संसद सचिवालयले नै सांसदहरूको सपथका लागि संसदको बैठक राखेर सूचना दिन सक्छ।’ 

‘सांसदहरूको सपथको प्रक्रिया संसद सचिवालयले अगाडि बढाउँछ, सरकार गठनको प्रक्रिया अगाडि बढाउन राष्ट्रपति कार्यालयलाई कसैले रोक्न सक्दैन’, ती अधिकारीले भने, ‘सांसदको सपथ संसदीय प्रक्रियामा सहभागी हुनका लागि हो, प्रधानमन्त्रीमा नियुक्त हुन त्यो अनिवार्य छैन।’   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .