प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्नेमा काँग्रेस नेता विमलेन्द्र निधि ढुक्क छन्।
शनिबार पार्टी सभापति समेत रहेका देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिएको बधाई ज्ञापन पछि संचारकर्मीसँग कुराकानी गर्दै नेता निधिले कांग्रेसको नेतृत्वमा सरकार बन्नेमा आफू ढुक्क रहेको बताए।
कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औंल्याउँदै सोही बाटोमा मुलुक अघि बढ्ने उनले बताए।
‘नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ। र, हाम्रो चाहना पनि हो,’ नेता निधिले भने, ‘अहिलेसम्मको परिस्थितिजन्य निष्कर्ष पनि हो। प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्छ भन्ने हाम्रो ठम्याई हो।’
बधाई कार्यक्रममा उपस्थित नेताहरूले पार्टी संसदीय दलको नेता चयनमा सर्वसम्मतिको प्रयास हुने बताए।
संसदीय दलमा सर्वसम्मतको अवस्था नभए देउवा नै निर्वाचित हुने नेताहरूको दाबी छ। नेता निधिले त आफू संसदीय दलको निर्वाचन भए देउवाको पक्षमा उभिने समेत प्रस्ट बताएका छन्।
Shares

प्रतिक्रिया