राजनीति


पहिलो पटक देउवासँग भिड्दै ३० वर्ष कान्छा गगन, यस्तो छ कांग्रेस संसदीय दलको विगत

पहिलो पटक देउवासँग भिड्दै ३० वर्ष कान्छा गगन, यस्तो छ कांग्रेस संसदीय दलको विगत

कांग्रेस दलको नेताका लागि उम्मेदवारी दिँदै देउवा र थापा। तस्बिर : रासस


नेपालखबर
पुस ५, २०७९ मंगलबार २२:६, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको नेतामा अन्ततः सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा भिड्ने भएका छन्। 

डा शेखर कोइराला नेतृत्वको इतर समूहको बैठकले मंगलबार दलको नेतामा उठाउन गगनको नाममा सहमति जुटाएपछि उनले देउवाविरुद्ध उम्मेदवारी दिएका छन्। 

काठमाडौंको होटल अम्बेस्डरमा मंगलबार बिहान बसेको बैठकले यो सहमति जुटाएसँगै गगनले कांग्रेसमा बलियो अवस्थामा रहेका देउवालाई चुनौती दिएका हुन्। ७६ वर्षीय देउवाविरुद्ध ४६ वर्षका थापा पहिलो पटक संसदीय दलको नेतामा उम्मेदवार बन्दा कांग्रेसमा नेतृत्व परिवर्तनको तरंग आएको छ। देउवा र थापाबीच ३० वर्ष उमेर अन्तर छ। 

मंसिर ४ को निर्वाचनपछि कांग्रेस सभापति र प्रधानमन्त्रीसमेत रहेका देउवाले संसदीय दलमा बलियो पकड बनाएका छन्। तर चुनाव अगाडिदेखि नै प्रधानमन्त्रीको आकांक्षा राखेका थापाले आफ्नो समूहका नेता शेखरको मात्रै होइन, समकालीन युवा नेता तथा उपाध्यक्ष धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको समर्थन जुटाएर बलियो सन्देश दिन सफल भएका छन्। 

पाँच पटकसम्म प्रधानमन्त्री बनिसकेका देउवालाई युवा पुस्ताका थापाले दिएको यो नै पहिलो शसक्त चुनौती हो। 

बुधबार हुने संसदीय दलको निर्वाचनमा गगनको प्रस्तावक शेखर छन् भने गुरुङ र शर्मा समर्थक रहेका छन्। संसदको यही कार्यकालमा दोस्रो पटक दलको नेता चयन हुने अवस्था आएमा गगनले शेखरलाई सघाउने सहमति भएको छ।  

काठमाडौंमा भएको चौधौँ महाधिवेशनमा गगनले शेखर नेतृत्वको प्यानलबाट महामन्त्री पदमा जित निकालेका थिए। उता शेखर भने सभापति पदमा देउवासँग पराजित भएका थिए। 

२०४७ सालको राजनीतिक परिवर्तनयता देउवाले कांग्रेसका संस्थापकदेखि तेस्रो पुस्तका नेताहरुसँग पनि दलको नेतामा प्रतिस्पर्धा गरिसकेका छन्। 

गिरिजाप्रसाददेखि गणेशान सिंह पुत्र प्रकाशमानसँगसमेत देउवाले दलको नेतामा प्रतिस्पर्धा गरिसकेका छन्। यस पटक देउवाको भिडन्त कांग्रेसमा युवा पुस्ताको प्रतिनिधिका रुपमा रहेका थापासँग हुँदैछ। 

पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गरिरहेका देउवाले यसअघि गत आइतबार बसेको कार्य सम्पादन समितिको बैठकबाट संघदेखि प्रदेशसम्म सरकारको नेतृत्व कांग्रेसले नै लिने गरी पहल अघि बढाउने निर्णय गराइसकेका छन्। 

शेखर र गगनबीच कुरा नमिलिरहेकै अवस्थामा उनले तत्कालै संसदीय दलको चुनाव गराउने तयारी गरेका थिए। त्यही तयारीअनुसार बुधबार सिंहदरबारमा दलको नेताको चुनाव हुन लागेको हो।  

यस्तो कांग्रेस संसदीय दलको विगत
२०४७ मा बहुदलीय व्यवस्था आइसकेपछि त्यसको एक वर्षपछि अर्थात् २०४८ सालमा कांग्रेस संसदीय दलको नेतामा गिरिजाप्रसाद कोइराला सर्वसम्मत चयन भएका थिए। 

पार्टीमा कोइरालाको दबदबा रहेकै बेला २०५२ सालमा शेरबहादुर देउवा सर्वसम्मत दलको नेता बन्न सफल भए। 

२०५१ सालमा गिरिजाप्रसादले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका थिए। मध्यावधि निर्वाचनमा नेपाली कांग्रेस दोस्रो भयो। त्यसबेला देउवा संसदीय दलको नेता भए। 

कसैको बहुमत नआएपछि २०५१ मंसिर १४ गते संसदको ठूलो दलका रुपमा नेकपा एमालेबाट मनमोहन अधिकारीले अल्पमतको सरकार बनाए। 

प्रधानमन्त्री अधिकारीले २०५२ जेठ ३० गते राजा वीरेन्द्रसमक्ष प्रतिनिधि सभाको निर्वाचन मिति २०५२ मंसिर ७ गतेलाई तोक्दै संसद विघटन प्रस्ताव गरे। 

उनको यो कदमविरुद्ध सर्वोच्च अदालतमा रिट पर्यो। २०५२ भदौ १२ गते सर्वोच्चले संसद विघटन उल्ट्यायो। अनि अधिकारीले २०५२ भदौ २५ गते राजीनामा दिए। 

त्यसपछि २०५२ भदौ २६ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा देउवा पहिलो पटक प्रधानमन्त्री भए। तर राप्रपाले समर्थन फिर्ता लिएपछि २०५३ फागुन २६ गते देउवाले राजीनामा दिए।

कांग्रेसमा देउवाको उदयपछि २०५४ सालमा गिरिजाप्रसाद कोइराला सर्वसम्मत दलको नेता भए। त्यसबेला सूर्यबहादुर थापा नेतृत्वको गठबन्धन सरकार ढलेपछि कोइराला प्रधानमन्त्री बने। 

उनले २०५५ पुस १० गतेसम्म सरकारको नेतृत्व गरे। त्यसपछि नेकपा एमाले र नेपाल सद्भावना पार्टीको गठबन्धन सरकारको नेतृत्व उनले गरे।

२०५६ को आमनिर्वाचनमा विजयी भएपछि कृष्णप्रसाद भट्टराई सर्वसम्मत संसदीय दलको नेता बने। त्यसबेला उनी दोस्रो पटक प्रधानमन्त्रीसमेत बन्न सफल भए। त्यसअघि उनी २०४६ को जनआन्दोलनका क्रममा पार्टी सभापतिका रूपमा प्रजातन्त्र पुनर्स्थापनापछि पहिलो अन्तरिमकालीन प्रधानमन्त्री बनेका थिए। 

तर उनले लामो समय शासन गर्न पाएनन्। आफ्नै पार्टीका असन्तुष्ट पक्षको अविस्वास प्रस्तावका कारण भट्टराईको राजीनामा आयो। त्यसपछि २०५६ मै कृष्णप्रसादलाई हटाएर गिरिजाप्रसाद दलको नेता हुँदै तेस्रो पटक प्रधानमन्त्री भए।

कृष्णप्रसादलाई हटाएर प्रधानमन्त्री बनेका गिरिजाप्रसाद र राजाबीच माओवादी द्वन्द्व चर्किँदै जाँदा सम्बन्ध बिग्रियो। त्यसबेला सेना परिचालनबारे विवाद हुँदा राजाले प्रधानमन्त्री कोइरालाको राजीनामा मागे। 

उनले राजीनामा दिएपछि २०५८ मा दलको नेताका लागि देउवा र सुशील कोइरालाको प्रतिस्पर्धा भयो। देउवा विजयी हुँदै २०५८ साउन ७ गते प्रधानमन्त्री भए। त्यसपछि देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने।

२०६२/६३ मा भएको जनआन्दोलनपछि पुनस्थापित प्रतिनिधिसभाबाट गिरिजाप्रसाद कोइराला चौथो पटक प्रधामन्त्री बने। 

त्यसपछि ०६४ भएको पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भयो। माओवादी सबैभन्दा ठूलो दल बनेको उक्त चुनावपछि दलको नेतामा देउवा र रामचन्द्र पौडेल भिडेका थिए। जसमा पौडेल विजयी भए। 

त्यसबेलाको संसदमा एमाले तटस्थ बसिदिँदा पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा भएको थियो।

त्यसबेला १७ पटकसम्म बहुमत नपुग्दा प्रधानमन्त्री चयन हुन सकेन। पौडेल दलको नेता भएर १७ पटक भिड्दा पनि प्रधानमन्त्री हुन सकेनन्। पौडेल अभागी सावित हुँदा माओवादीले एमालेलाई समर्थन गर्यो र झलनाथ खनाल प्रधानमन्त्री बने। पौडेल दलको नेता हुँदा कांग्रेस प्रतिपक्षमा बस्यो। 

२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेस दलको नेतामा सुशील कोइरालासँग देउवा भिडेका थिए। त्यो बेला सभापति सुशील विजयी भए। 

उनी त्यसपछि नेपालको ३७ औँ प्रधानमन्त्री बने। उनी २०७० माघ २७ गते प्रधानमन्त्री पदमा निर्वाचित भए। तर २०७० असोजमा संविधान जारी भएसँगै प्रमुख तीन राजनीतिक दलको सहमतिअनुसार उनले प्रधानमन्त्रीबाट राजीनामा दिए।

त्यसपछि २०७२ मा दलको नेताका लागि देउवा र रामचन्द्र पौडेल भिडे। त्यसबेला देउवा विजयी भए। उनी २०७४ जेठ २४ गते प्रधानमन्त्रीमा निर्वाचित भए। 

उनलाई माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, नेपाल र अन्य दलले समर्थन गरेका थिए। उनले नै २०७४ को चुनावी सरकारको नेतृत्व पनि गरे।

२०७४ को निर्वाचनपछि देउवा र प्रकाशमान सिंहबीच दलको नेतामा प्रतिस्पर्धा भयो। त्यसबेला देउवा विजयी भए। तर एमाले–माओवादी गठबन्धनका कारण कांग्रेस प्रतिपक्षमा गयो।

२०७४ को निर्वाचनअगाडि माओवादी केन्द्रले नेकपा एमालेसँग गठबन्धन गरेकाले त्यसपछिका करिब साढे ३ वर्षसम्म कांग्रेस प्रतिपक्षमा बस्यो। देउवा (२०७५–२०७८) असारसम्म प्रतिपक्षी दलका नेताका रुपमा रहे।

यसबेला करिब साढे ३ वर्षसम्म तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृ्त्व गरे। तर २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन र फागुन २१ गते नेकपा खारेज भएसँगै सत्ताको बागडोर कांग्रेसको हातमा जाने अवस्था आयो।

ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै २०७८ असार २७ गते देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो। यससँगै २०७४ मै दलको नेता बनेका देउवा साढे ३ वर्षपछि सत्तामा फर्किए। 

अब गगनसँग भिडन्त
२०४६ यता निरन्तर सत्तामा रहँदै आएको कांग्रेस यस पटकको निर्वाचनबाट पनि पहिलो शक्ति बनेको छ।

यस्तोमा अहिले पनि देउवा दलको नेतामा चुनिँदै छैटौँ पटक प्रधानमन्त्रीको कुर्सीमा फर्किने तयारीमा छन्। 

अहिले कामचलाउ सरकारको नेतृत्व गरिरहेका उनले बुधबार महामन्त्री गगनकुमार थापासँग दलको नेताका लागि चुनावी प्रतिस्पर्धा गर्दैछन्। 

कांग्रेसले मंसिर ४ को निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ कुल ८९ सांसद जितेको छ। ती ८९ सांसदले देउवालाई कीर्तिमानी छैटौँ पटक सत्तामा उक्लिने बाटो खोल्छन् या युवा पुस्तालाई जिम्मेवारी दिन्छन् भन्ने विषय रोचक बनेको छ।

कांग्रेसमा अहिले पनि देउवा शक्तिशाली छन्। उनलाई दलको नेताका लागि प्रधानमन्त्रीमा इच्छुक वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सघाउने भएका छन्। 

कांग्रेसमा शेखर कोइराला नेतृत्वको इतर समूह एकजुट हुँदा पनि आफूले सजिलै चुनाव जित्ने अनुमान देउवाको छ।

तर चौधौँ महाधिवेशनमा उनको पक्षबाट लडेका नेताहरु गगनतिर खुलिरहेका छन्। नेता प्रदीप पौडेल र देउवालाई साथ दिएका डा शशांक कोइरालानिकट दीपक गिरी गगनतिर खुलेका छन्।

मंगलबार रातभरको मिहिनेतले गगन बलियो भएर देउवालाई टक्कर दिन सक्छन् या सक्दैनन् त्यो बुधबारसम्मका लागि प्रतिक्षाको विषय बनेको छ।

कार्य सम्पादन समितिको बैठकबाट कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गराइसकेका देउवाका लागि गगनको चुनौती सजिलै छिचोल्न सजिलो हुने आँकलन कांग्रेस बृत्तमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .