ad ad

राजनीति


यस्तो अवस्थामा गगन बन्न सक्नेछन् ५ वर्षभित्रै कांग्रेस संसदीय दलको नेता

यस्तो अवस्थामा गगन बन्न सक्नेछन् ५ वर्षभित्रै कांग्रेस संसदीय दलको नेता

सीताराम बराल
पुस ७, २०७९ बिहिबार २३:०, काठमाडौँ

कांग्रेस संसदीय दलको बुधबार (६ पुष) मा भएको निर्वाचनमा महामन्त्री गगन थापा २५ मत ल्याएर पराजित भए। पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेता निर्वाचित हुँदा ६४ मत प्राप्त गर्न सफल रहे।

बिसं २०५७ यता संसदीय दलको निर्वाचनमा प्रतिशतका हिसावले सबैभन्दा कम मत (२८.०८) पाउने उम्मेदवार महामन्त्री थापा बनेका छन् भने संसदीय दलको नेतामा चौथो पटक विजयी हुँदा देउवाले सबैभन्दा बढी मत (७१.९१ प्रतिशत) यसैपटक प्राप्त गरेका छन्।

जसरी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन हुँदापनि निर्वाचन परिणाम अपेक्षा गरेअनुरुप आएन, थापाले कांग्रेसको चौधौँ महाधिवेशनमा फरक–फरक खेमाबाट महामन्त्रीको प्रत्यासी रहेका डा. मिनेन्द्र रिजाल (पराजित), विश्वप्रकाश शर्मा (विजयी) र प्रदीप पौडेल (पराजित) को साथ पाएर पनि संसदीय दलको नेताको निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन्।

अर्थात्, गगनको पक्षमा निर्माण भएको गठबन्धन कामयावी भएन।

संसदीय दलको निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै महामन्त्री थापाले संसदीय दलको नेता हुने कोशिष गर्ने प्रतिक्रिया दिएका थिए।  बुधबार राति सार्वजनिक अर्काे वक्तव्यमार्फत् थापाले ‘सफलताका लागि आफ्नो प्रयास रहने’ भनाई दोहोर्याएका छन्।

‘म सरकारमा जाने कोशिष गर्दिनँ, सरकारमा अरु साथीहरु जानुहुन्छ’ निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै बुधबार थापाले भनेका थिए, ‘म फेरि संसदीय दलको नेता हुन कोशिष गर्छु। आउँदो संसदीय दलको चुनावका लागि तयारी गर्छु।’

बिहीबार बिहान जारी भिडियो सन्देशमार्फत् पनि थापाले फेरि संसदीय दलको नेताका लागि प्रयास गर्ने संकेत गरेका छन्।

‘सांसद साथीहरु– जसको विश्वास मैले जित्न सकेको छैन, उहाँहरुलाई हृदयबाट नमन गर्दै यति कुरा राख्न चाहन्छु’, थापाले भनेका छन्, ‘मैले गरेको प्रयत्नबाट परिणाम प्राप्त गर्न नसकेपनि म निरन्तर तपाईंहरुसँगै सहकार्य गर्नेछु र तपाईंहरुको मन बदल्ने प्रयास निरन्तर गर्नेछु।’

यी अभिव्यक्तिहरुबाट अहिले पराजित भएपनि प्रतिनिधि सभाको यही कार्यकालमै महामन्त्री थापा संसदीय दलको नेता चयन हुन प्रयासरत रहनेछन् भन्ने संकेत मिल्छ।

प्रथम शर्त– देउवाको बहिर्गमन
थापा आफैँ संसदीय दलको नेता बन्ने हो भने सबैभन्दा पहिले संसदीय दलको नेताको पद रिक्त हुनुपर्छ। यसका लागि प्रधानमन्त्री देउवा कि आफैँ हट्नुपर्छ, कि उनलाई हटाउनुपर्छ।

नेपाली कांग्रेस संसदीय दलको विधान–२०७४ को धारा २२ ले संसदीय दलको नेताको पद रिक्तताका लागि चार किसिमको व्यवस्था गरेको छ। 

विधानको सो व्यवस्था अनुसार, कार्यसमिति समक्ष लिखित राजीनामा दिएमा, विश्वासको प्रस्ताव पारित हुन नसकेमा, अविश्वासको प्रस्ताव पारित भएमा, निज प्रतिनिधि सभाको सदस्य नरहेमा वा निजको मृत्यु भएमा संसदीय दलको नेताको पद रिक्त हुनेछ।

यो व्यवस्था अनुसार संसदीय दलको नेताको पद रिक्त हुन कि देउवाले राजीनामा दिनुपर्छ, कि उनीमाथि अविश्वासको प्रस्ताव नै ल्याउनुपर्छ। देउवालाई नै आफूप्रति संसदीय दलको विश्वास छ–छैन भन्ने परीक्षण गर्न मन लाग्यो र यस सम्बन्धमा मतदान हुँदा विश्वासको मत प्राप्त गर्न असफल भए भनेपनि संसदीय दलको नेताको पद रिक्त हुनेछ।

तर, ज्योतिषको भविष्यवाणी अनुसार ७ पटक प्रधानमन्त्री बन्ने योजनामा अझै दृढ देखिन्छन् देउवा। सात पटक प्रधानमन्त्री बन्नै पर्छ भन्ने उनको मान्यता कायम रहेको स्थितिमा उनले न आफैँ संसदीय दलको नेताबाट राजीनामा दिनेछन्, न त मैले संसदीय दलको विश्वास पो गुमाएँ कि भनेर विश्वासको मत नै माग्नेछन्।

बरु सांसदहरु असन्तुष्ट हुन थाले भने विगतका ‘अनुभव’ प्रयोग गरी उनीहरुलाई थुम्थुम्याउन अनेक प्रयास गर्नेछन्।

यो स्थितिमा देउवालाई संसदीय दलको नेताबाट हटाउन इतर समूहले अविश्वासको प्रस्ताव नै पेश गर्नु पर्ने हुन्छ। थापाको पक्षमा यसपटक खसेको मत हेर्दा अविश्वासको प्रस्ताव पेश गर्न आवश्यक पर्ने मत भने इतर समूहसँग छ।

विधानको धारा २२ (६) ले अविस्वास प्रस्ताव सम्बन्धी व्यवस्था गरेको छ। त्यसमा भनिएको छ, ‘संसदीय दलको प्रतिनिधि सभाका २५ प्रतिसत सदस्यले नेतामाथि अविश्वास प्रकट गरी सो प्रस्तावमा छलफलका निम्ति संसदीय दलको बैठक बोलाउन सदस्य सचिव समक्ष लिखित निवेदन दिन सक्नेछन्।’

गगनले यसपटकको निर्वाचनमा २५ मत प्राप्त गरेका छन्। प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८९ सदस्य रहेकाले गगनले प्राप्त गरेको यो मत २८.०८ प्रतिसत हो।

यो मत अविश्वास प्रस्ताव पेश गर्न पर्याप्त छ।

तर, अविश्वास प्रस्ताव पारित हुन प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशत अर्थात् ८९ मध्ये ४५ जना सांसदको समर्थन आवश्यक पर्छ।

थापाले भनेझैँ, अहिले देउवालाई मतदान गरेका सांसदहरुको मन परिवर्तन गरेर आफैँ निर्वाचित हुने स्थितिमा गगन पुग्लान् वा नपुग्लान्– यसको परीक्षणको जिम्मा भने भविष्यलाई नै दिनुपर्ने हुन्छ।

कांग्रेस संसदीय दलको निर्वाचनको इतिहासले भने यो कुरा असम्भव छैन भन्ने देखाउँछ।

देउवा निर्मित इतिहास
निर्वाचनपूर्व महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेलले समेत थापालाई समर्थन गरेपछि संस्थापन इतर समूहबाट उम्मेदवार बनेका थापाले कम्तिमा तीन दर्जन सांसदको मत प्राप्त गर्ने अनुमान गरिएको थियो।

तर, थापाले आफ्नो पक्षका भनिएका मतसमेत सुरक्षित गर्न सकेनन्। तीन दर्जन मतको अपेक्षा गरेका थापा दुई दर्जन मतमा खुम्चिए। यसमध्ये एक मत त उनी आफ्नै थियो।

अर्थात्, संस्थापन इतर समूहका सांसदले समेत टिकेनन्, उनीहरुले मन बदले, देउवाको पक्षमा मतदान गरे।

यसपटक सांसदहरुको मन देउवाको पक्षमा बदलिएझैँ तिनै सांसदहरुको मन बदलिएर फेरि गगनको स्थिति अनुकूल हुन नसक्ने भन्ने होइन। किनकी, विगतका निर्वाचनमा देउवाको विपक्षमा मतदान गरेकाहरुले समेत पछि देउवाको पक्षमा मतदान गरेका उदाहरण छन्।

जस्तो २०५६ को निर्वाचनपछि भएको संसदीय दलको निर्वाचनमा विजयी हुँदा गिरिजाप्रसाद कोइरालाले ६९ (६१.६० प्रतिसत) र पराजित देउवाले ४३ (३८.३९ प्रतिशत) मत प्राप्त गरेका थिए।

तर, प्रतिनिधि सभाको त्यही कार्यकालमा दोस्रो पटक संसदीय दलको निर्वाचन (२०५८) हुँदा देउवा कोइरालाले भन्दापनि बढी मत प्राप्त गरी विजयी भए।

गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि भएको संसदीय दलको त्यो निर्वाचनमा देउवा ७२ (६४.२८ प्रतिशत) मतसहित विजयी भए, जबकि २०५६ मा कोइरालाले ६९ मतमात्र प्राप्त गरेका थिए।

दोस्रो संविधान सभा (२०७०) पछिको संसदीय दलको निर्वाचनमा पनि देउवा सुशील कोइरालासँग पराजित भए। कोइरालाले १ सय ५ (५४.१२ प्रतिशत) मत प्राप्त गर्दा देउवा ८९ (४५.८७ प्रतिशत) मतमा खुम्चिए।

तर, २०७२ मा कोइरालाको निधन भएपछिको निर्वाचनमा देउवा भारी मतका साथ विजयी भए। देउवा १ सय ३९ (६७.४७ प्रतिशत) मतसहित विजयी हुँदा अर्का प्रत्यासी रामचन्द्र पौडेललाई ६७ (३२.५२ प्रतिशत) मत प्राप्त भएको थियो।

२०७० मा भने सुशील कोइरालाले १ सय ५ मतमात्र प्राप्त गरेका थिए, जुन यसपटक देउवाले प्राप्त गरेभन्दा ३४ मत कम थियो। यसरी एउटै प्रतिनिधि सभामा मन बदलेर सांसदहरुले देउवालाई विजयको माला पहिर्याए।

यी निर्वाचन परिणामबाट देखिन्छ– जसरी हरेक निर्वाचनमा जनताको मन परिवर्तन हुन्छ, सांसदहरुले मनपनि परिवर्तन हुँदो रहेछ र हिजो आफूले मत नदिएकालाई आज मत दिएर विजयको माला पहिर्याउँदा रहेछन्।

देउवाको बहिर्गमन : थापालाई सहज
उपरोक्त तथ्यका आधारमा कांग्रेस संसदीय दलको नेताको पद रिक्त हुँदा भने अहिले देउवाले प्राप्त गरेका मत भोलि थापाले नपाउलान् भन्न सकिँदैन। 

तर, उपरोक्त तथ्यले अर्काे महत्वपूर्ण संकेत पनि गरेको छ। त्यो हो– दोस्रो निर्वाचन (२०५८ र २०७२) मा पहिलो निर्वाचन (२०५६ र २०७२) मा आफूलाई पराजित गर्ने नेतालाई नै पराजित गरेर देउवा संसदीय दलको नेता निर्वाचित भएका भने होइनन्।

२०५६ मा उनी गिरिजाप्रसाद कोइरालाबाट पराजित भएका थिए। तर, २०५८ मा तिनै कोइराला उम्मेदवार भएनन्। कोइराला समूहबाट त्यो निर्वाचनमा सुशील कोइराला उम्मेदवार भए। गिरिजाप्रसाद कोइराला मैदानबाट हटेपछि सुशीललाई पराजित गर्न देउवालाई कठिन भएन। उनी गिरिजाप्रसादले प्राप्त गरेको भन्दा बढी मत प्राप्त गरी विजयी भए।

२०७० मा देउवालाई पराजित गर्ने सुशील कोइरालापनि २०७२ मा उम्मेदवार थिएनन्। उनको मृत्युको कारण संसदीय दलमा दोस्रो पटक निर्वाचन भएको थियो। त्यो निर्वाचनमा देउवा र कोइराला समूहबाट रामचन्द्र पौडेल उम्मेदवार थिए। सुशील कोइरालाको अनुपस्थितिका कारण देउवा यसपटकपनि अत्याधिक मतका साथ विजयी हुन सके।

कांग्रेस संसदीय दलको अहिलेको समीकरण हेर्दा देउवा निकै शक्तिशाली छन्। उनीसँग सत्ता–शक्ति छ। यो भन्दा अझ महत्वपूर्ण उनीसँग २०५२ देखिको ‘अनुभव’ छ, जसका कारण देउवालाई विस्थापित गर्न गगनलाई हम्मे पर्नेछ।

देउवा आफैँ हटे र अन्य उम्मेदवारसँग प्रतिस्पर्धा हुने भयो भने चाहिँ संसदीय दलको परिणाम गगनको पक्षमा जान सक्छ।

देउवाको जय–पराजयको इतिहासले यही देखाउँछ।

तर, यसका लागि गगनले डा. शेखर कोइराला समूहको विश्वास र समर्थन चाहिँ हासिल गर्नुपर्छ। किनकी, पार्टी पंक्ति र आम जनताबीच थापा लोकप्रिय भएपनि संसदीय दलमा थापाको पकड डा. कोइरालाको भन्दापनि कमजोर छ। यसपटक उनले प्राप्त गरेको २५ मतमा डा. कोइराला समर्थकहरुको हिस्सा बढी रहेको देखिन्छ।

देउवा आफैँ प्रतिस्पर्धाबाट हटे–तटस्थ बसे वा डा. शेखर कोइरालासँग प्रतिस्पर्धा हुने भयो र देउवा पक्षको साथ पाउन सके भने चाहिँ यही संसदीय दलमा गगनले सहज रुपमा सफलता प्राप्त गर्न सक्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .