ad ad

राजनीति


देउवा र प्रचण्ड यसकारण डराइरहेका छन् पहिलो कार्यकाल प्रधानमन्त्री छाड्न

देउवा र प्रचण्ड यसकारण डराइरहेका छन् पहिलो कार्यकाल प्रधानमन्त्री छाड्न

सीताराम बराल
पुस ९, २०७९ शनिबार ८:३, काठमाडौँ

संविधानको धारा ७६ (२) अनुसार ‘बहुदलीय सरकार’ गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समय घर्किन लाग्दैछ। राष्ट्रपतिले दिएको समय सकिन दुई दिन मात्र बाँकी रहँदा शुक्रबार साँझसम्म पनि कसको नेतृत्वमा सरकार बन्ने हो, स्पष्ट अनुमान गर्न सकिने स्थिति छैन।  

सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेको सो धाराअनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले नेपालको प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

गत निर्वाचनमा सँगै रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को समेत सिटसंख्या जोड्दा वर्तमान सत्ता गठबन्धनको पक्षमा १ सय ३६ जना सांसद छन्। सरकार गठनका लागि २ सय ७५ सदस्यीय प्रतिनिधि सभाको बहुमत अर्थात् १ सय ३८ सांसदको समर्थन आवश्यक पर्छ। 

यस हिसाबले सत्ता गठबन्धनसँग बहुमतको नजिक छ, उसलाई २ सिटको मात्र कमी छ।  

तर, सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी यही गठबन्धनमा सामेल भएर सरकारमा जान इच्छुक देखिएकाले सत्ता गठबन्धनलाई बहुमत जुटाउन कठिन पनि छैन। १९ मंसिरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय पनि गरिसकेका छन्। 

तर, सरकारको नेतृत्व पहिले कसले गर्ने बन्ने भन्ने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति नजुट्दा प्रधानमन्त्रीको टुङ्गो लाग्न नसकेको हो। 

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दुवैले पहिलो प्रधानमन्त्रीको दाबी गरेका छन्। देउवा र प्रचण्ड दुवै दोस्रो कार्यकालका लागि प्रधानमन्त्री अर्काेलाई दिन तयार छन्। तर, पहिलो कार्यकाल छाड्न अहिलेसम्म तयार छैनन्।  

सत्ता गठबन्धनका यी दुई शीर्ष नेता पहिलो कार्यकालमै प्रधानमन्त्री बन्ने अडानमा रहनुको कारण दोस्रो कार्यकाल प्रधानमन्त्री बन्न अप्ठेरो पर्छ भनेरै हो। चार–चार कारणले दोस्रो कार्यकालमा आफूलाई प्रधानमन्त्री बन्न मुस्किल हुने उनीहरुले ठानेका छन्। 

प्रचण्डका जोखिम
सबैभन्दा पहिले प्रचण्डको कोणबाट कुराकानी सुरु गरौँ। 

ओलीले दिएको धोकाको अनुभव : २०७४ को निर्वाचनबाट पनि ‘हङ पार्लियामेन्ट’ बनेको थियो। माओवादी केन्द्रको समर्थन प्राप्त गरेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई ३ फागुन २०७४ मा राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री नियुक्त गरिन्। ओलीलाई समर्थन दिन प्रचण्डले कुनै नाइँनास्ती गरेनन्। 

यसै आधारमा ३ जेठ २०७५ मा पार्टी एकता हुनुअघि ओली–प्रचण्डबीच   आधा–आधा कार्यकाल प्रधानमन्त्री आलोपालो गर्ने लिखित सहमति भयो। पार्टी एकता हुँदा पनि ओली र प्रचण्ड दुवैजना समान हैसियतमा अध्यक्ष बने।

जब पछि पार्टीभित्र समस्या देखिन थाल्यो, विवाद सल्ट्याउने क्रममा ओली प्रचण्डलाई कार्यकारी अध्यक्ष मान्न तयार भए। ‘कार्यकारी अध्यक्ष’ को बचन पाएको खुसीयालीमा प्रचण्डले पनि ओली नै पुरै कार्यकाल प्रधानमन्त्री बन्ने घोषणा गरिदिए।  

प्रचण्डले प्रधानमन्त्रीमा आलोपालोको दाबी आफैँ छाडे। तर, केन्द्रीय सचिवालयको बैठकमा दिएको बचन अनुसार ओलीले प्रचण्डलाई ‘कार्यकारी अध्यक्ष’ स्वीकार गरेनन्। अनावश्यक रुपमा उदार बन्दा चुकेका प्रचण्डले न प्रधानमन्त्री बन्ने अवसर पाए, न त कार्यकारी अध्यक्षको अधिकार उपभोग गर्न सके।  

त्यही कारण प्रचण्डलाई भय छ, त्यस्तै उदारता प्रदर्शन गर्दा दुई वर्षपछि कांग्रेसले धोका पो दिने हो कि! आखिर ‘एमसीसी’ अनुमोदनमा सहमति नजनाउँदा देउवाले माओवादीलाई सरकारबाट निकालेर एमालेको समर्थनमा सरकार चलाउँछु भन्ने धम्की दिएकै हुन्। 

साना दल बिच्किने चिन्ता : सत्ता गठबन्धन बहुमतको नजिक मात्रै हो। प्रतिनिधि सभामा उसको पूर्ण बहुमत छैन। सरकार निर्माणका लागि गठबन्धन बाहिरका जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा) वा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वैशाखी टेक्नुपर्ने स्थिति छ।  

तर, पहिलो कार्यकालमा कुनै कारणले विवाद उत्पन्न भयो भने उनीहरु गठबन्धनबाट बाहिरिन सक्छन्। जनमत र नागरिक उन्मुक्ति पार्टीको हकमा त उनीहरुले सरकारमा जान राखेका कतिपय सर्त अदालतले निरुपण गर्नुपर्ने विषय छन्। अदालत अवरोधक बन्दा त्यही बहानामा उनीहरु गठबन्धनबाट बाहिरिने सम्भावना जहिले पनि रहन्छ। 

भर्खर निर्वाचन सम्पन्न भएकाले अहिलेको ताजा स्थितिमा प्रधानमन्त्रीका लागि बहुमत जुटाउन जति सहज हुन्छ, त्यो स्थिति पछि नरहन सक्छ। दोस्रो कार्यकालका लागि प्रचण्डलाई छाडे पनि बहुमत जुटाइदिने मामिलामा देउवा निष्क्रिय बस्न सक्छन्। देउवा निष्क्रिय बसिदिए भने प्रचण्ड एक्लैको कुदाइले बहुमत जुट्न मुस्किल पर्छ नै। 

झन् एमालेको समर्थन लिएर डा. शेखर कोइराला वा गगन थापाले सरकारको नेतृत्व गरिदिए भने त खेल नै खत्तम हुन्छ।

सम्भवतः अन्तिम अवसर : पहिलो संविधान सभा (२०६४) मा सबैभन्दा ठूलो दल बने पनि त्यसयताका निर्वाचनमा माओवादी निरन्तर कमजोर बन्दै गएको देखिएको छ। स्थानीय तह र संसदमा माओवादीका जति प्रतिनिधि छन्, तिनीहरु गठबन्धनको बलमा निर्वाचित भएका हुन् भन्ने भाष्य निर्माण भएको छ। 

एकातिर गठबन्धनका बाबजुद पछिल्ला तीन वटा निर्वाचन समेत दोस्रो ठूलो दलको रुपमा माओवादी उक्लन सकेको छैन। अर्काेतिर नयाँ दलहरुले चुनौती थपिदिएका छन्। 

दोस्रो कार्यकाल आफू बन्छु भनेर देउवालाई छाड्ने, दोस्रो कार्यकालमा पनि हुन नपाउने स्थिति सिर्जना भइदियो भने त्यसपछिको निर्वाचनमा अहिलेजत्तिको हैसियत पनि प्राप्त नहुन सक्छ। त्यो स्थितिमा प्रधानमन्त्रीको अवसर आफ्ना लागि ‘आकासको फल, आँखा तरी मर’ जस्तो हुन्छ भन्ने प्रचण्डले ठानेका हुनसक्छन्।   

राष्ट्रपति झन् मुस्किल : संस्थापन इतरका गगन थापा, विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला लगायतका नेताहरुले सबैभन्दा ठूलो दलको हैसियतमा राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कांग्रेसले लिनुपर्ने तर्क गरिरहेका छन्। 

देखिन्छ पनि के भने थोरै समयका लागि प्रधानमन्त्री पाउन जति सहज छ, पाँच वर्षे कार्यकाल रहेको राष्ट्रपति माओवादीले पाउन सजिलो छैन। अर्काेतिर ‘अहिले राष्ट्रपति लिएर तीन वर्षपछि प्रधानमन्त्री बनौँ न त’ भन्ने स्थिति पनि प्रतिनिधि सभामा कमजोर सिट संख्याका कारण सम्भव छैन।

मानौँ, भागबण्डाका क्रममा राष्ट्रपति दिन कांग्रेस तयार भएछ। तर, कांग्रेस सहमत भएर मात्र हुँदैन, राष्ट्रपतिको चुनाव हुन्छ र त्यसमा सफलता प्राप्त गर्नुपर्छ। माओवादीको मतभार कमजोर रहेकाले माओवादी उम्मेदवारलाई विजय हासिल गर्न कठिन पर्छ। २०६५ यताका अभ्यासबाट राष्ट्रपति निर्णायक पद भएकाले भूराजनीतिक शक्तिहरुले माओवादीलाई राष्ट्रपति बन्न नदिन अनेक प्रयास गर्ने सम्भावना त छँदैछ।

स्थानीय तह र आम निर्वाचनमा पूर्णरुपमा कांग्रेसका मत ‘ट्रान्सफर’ नभएझैँ राष्ट्रपति निर्वाचनमा पनि मत ट्रान्सफरको अभावमा माओवादी उम्मदेवार पराजित हुने सम्भावना रहन्छ। यस्तोमा प्रधानमन्त्री पनि नपाउने, पार्टीका उम्मेदवारले राष्ट्रपति पनि बन्न नपाउने अवस्था सिर्जना हुनसक्छ।

देउवालाई उस्तै भय
दोस्रो कार्यकालमा प्रधानमन्त्री नबन्ने जोखिमको भय प्रचण्डलाई मात्र होइन, देउवालाई पनि उत्तिकै छ। त्यहीकारण देउवा पनि सकभर पहिलो कार्यकालमै प्रधानमन्त्री बन्न प्रयास गरिरहेका छन्। 

आन्तरिक समीकरण बिग्रने चिन्ता : महामन्त्री गगन थापाले चुनौती खडा गरे पनि अहिलेसम्मकै सर्वाधिक मत ल्याएर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। तर, थापाले पराजयलाई क्षणिक मानेका छन् र परिणाम उल्ट्याएर संसदीय दलको नेता एवं प्रधानमन्त्री बनिछाड्ने उद्घोष संसदीय दलको निर्वाचनपछि गरिरहेका छन्। 

प्रधानमन्त्रीको पदमा रहेकाले पनि देउवालाई ऐतिहासिक जित प्राप्त गर्न सहज भयो। गठबन्धनका कारण थापालाई भन्दा देउवालाई प्रधानमन्त्री बन्न सहज हुन्छ भन्ने ठानेर पनि कतिपय सांसदले देउवालाई मत दिएका हुन सक्छन्। 

तर, देउवा प्रधानमन्त्री बन्न सकेनन् भने संसदीय दलमा उनको पक्षमा बनेको समीकरण बिग्रन सक्छ। ठूलो दल हुँदाहुँदै पनि देउवाकै कारण कांग्रेसले सरकारको नेतृत्व गर्न पाएन भन्ने आरोप डा. शेखर कोइराला र गगन थापाहरुले लगाउनेछन् नै। यस्तो आरोपले देउवालाई कमजोर बनाउनेछ नै।   

त्यो स्थितिमा देउवाको विकल्प खोज्दै देउवालाई संसदीय दलको नेताबाट हटाउने खेल पनि हुनसक्छ। संसदीय दलको नेता नै रहेनन् भने देउवा प्रधानमन्त्री बन्न सक्ने छैनन्।

ओलीका सम्भावित दाउपेच : २०७३ मा ओलीलाई प्रधानमन्त्रीबाट हटाइँदा देउवा र प्रचण्डबीच व्यवस्थापिका–संसदको बाँकी कार्यकालमा आलोपालो प्रधानमन्त्री बन्ने ‘भद्र सहमति’ भएको थियो। देउवाले पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री बनाए। ‘भद्र सहमति’ बमोजिम प्रचण्डले पनि इमान्दारीपूर्वक निर्धारित मितिमै राजीनामा दिए। त्यसपछि प्रचण्डको सहयोगमा देउवा प्रधानमन्त्री बने।  

देउवालाई प्रधानमन्त्री बन्न नदिन त्यो बेला पनि ओलीले दाउपेच नचालेका होइनन्। राजीनामा नदिए एमालेको समर्थनमा प्रधानमन्त्रीमा निरन्तर रहने बचन दिएको खुलासा प्रचण्डले पटक–पटक गरेका छन्। प्रचण्डका कैयौँ आरोपको तु–जवाफ ओलीले दिएका छन्, तर प्रचण्डको यो खुलासाको खण्डन गर्न सकेका छैनन्। 

राजनीतिमा मुख्य दुश्मन विरुद्ध सहायक दुश्मनसँग मिल्नुलाई अराजनीतिक मानिँदैन। कांग्रेसको सत्तारोहण रोक्ने र सत्ता गठबन्धनलाई तोड्ने प्रयास ओलीले अब पनि छाड्ने छैनन्। गत निर्वाचनमा कांग्रेसको मत ट्रान्सफर नभएको र कांग्रेसमा अन्तरद्वन्द्व बाँकी रहेको विषयलाई आधार बनाएर आगामी निर्वाचनअघि नै एमाले–माओवादी केन्द्रबीच तालमेल हुनसक्ने सम्भावना छँदैछ।

यो स्थितिमा प्रधानमन्त्रीको आधा कार्यकाल बिताइसकेपछि ओलीले पहिलेझैँ समर्थनको बचन दिए भने यसपटक प्रचण्डले राजीनामा नदिन पनि सक्छन् भन्ने भय देउवालाई हुनसक्छ। 

उमेरको प्रतिकूलता : निर्वाचन आयोगको विवरण अनुसार देउवा अहिले नै ७८ वर्ष (जन्ममिति ३१ जेठ २००२) पुगिसके। दोस्रो कार्यकाल प्रतीक्षा गर्ने हो भने कम्तीमा ८० वर्ष पुगेपछि मात्र उनी प्रधानमन्त्री हुनेछन्। 

कसैको बहुमत नरहेको प्रतिनिधि सभामा दोस्रो कार्यकालमा लागि प्रधानमन्त्री हुने गरी बहुमत जुटाउन प्रचण्डलाई मात्र होइन, देउवालाई पनि कठिन हुन्छ। बहुमत जुटाउन दौडधुप गर्न उमेरले पनि साथ नदिन सक्छ। 

अपेक्षाकृत सहज हुने भएकाले पनि उनी अहिले नै उनी प्रधानमन्त्री बन्न चाहन्छन्। 

ज्योतिषीको भविष्यवाणी : वाम गठबन्धनका कारण २०७४ को निर्वाचनमा नेपाली कांग्रेस पराजित हुने पक्कापक्की थियो। वाम गठबन्धनको लहर देखेका देउवा पनि त्यो चुनावमा एमाले–माओवादी केन्द्रले नै बाजी मार्छन् भन्ने कुराप्रति अनविज्ञ थिएनन्। 

कांग्रेसको पराजय अवस्यंभावी भएपनि चुनावी सभाहरुमा देउवा ‘ज्योतिषले मलाई पाँच पटक प्रधानमन्त्री हुन्छौ भनेका छन्’ भन्ने सुनाइरहन्थे। वाम गठबन्धन झण्डै दुई तिहाई सिटमा विजयी भए पनि देउवाले ज्योतिषी सुरेशचन्द्र रिजालको भविष्यवाणी दोहोर्याइरहे। 

जानकारहरुका भनाइमा त्यो भविष्यवाणी मिल्छ–मिल्दैन भन्ने बारेमा ज्योतिष रिजालभन्दा देउवा बढी चिन्तित छन्। उनी रिजालको भविष्यवाणीलाई सार्थक बनाउन प्रतिबद्ध छन्। 

आखिर भविष्यवाणी मिल्दा लाभ हुने देउवालाई नै हो। त्यसैले, ज्योतिषी रिजालभन्दा देउवा बढी चिन्तित हुनु स्वभाविक पनि हो। 

अहिले प्रधानमन्त्री बने भने प्रतिनिधि सभाको यही कार्यकालमा देउवा फेरि प्रधानमन्त्री बन्न नसक्ने होइनन्। आखिर २०५१, २०६४, २०७० मापनि यस्तै ‘हङ पार्लियामेन्ट’ हुँदा पटक–पटक सरकार ढल्ने र नयाँ सरकार बन्ने भइरहेको हो। 

अहिले प्रधानमन्त्री बन्ने र सहमति अनुसार समयमै छाडिदिने हो भने दोस्रो पटक प्रधानमन्त्री बनेर ज्योतिष रिजालको भविष्यवाणी सत्य–सावित गर्ने अवसर प्रतिनिधि सभाको यही कार्यकालमै देउवालाई जुर्न पनि सक्छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .