जेलमा बन्दी जीवन बिताइरहेका झन्डै २० हजार बढी बालबालिकाको आमा बनेर शिक्षादीक्षा दिइरहेकी इन्दिरा रानामगर सांसदहरुका पनि अभिभावक बन्दै छिन्।
अहिलेको सात दलीय सत्ता साझेदार दलभित्र कुनै नाटकीय परिवर्तन नभए सामाजिक अभियन्ता इन्दिरा रानामगर उपसभामुख बन्ने छिन्।
झापाको बिर्तामोड नगरपालिका बुट्टाबारी घर भएकी रानामगरले २२ वर्षदेखि काठमाडौंमा बन्दी सहायता केन्द्र नामक निजी संस्थामार्फत् बन्दी जीवन बिताइरहेका झण्डै २० हजार बढी बालबालिका हुर्काइसकेकी छन्।
जेलमै आमाबुवासँग बस्न बाध्य निरपराध बच्चा उद्धार गरेपछि आफैँले हुर्काएर स्वास्थ्य उपचार, शिक्षादीक्षा र लालपालन उनैले गरिरहेकी छन्।
२२ वर्ष सामाजिक अभियानमा रहेकी उनी अभियन्ताबाट उपसभामुख चुनिने महिला बन्ने रेकर्ड बनाउने छिन्। नेपालमा लामो राजनीतिक जीवन बिताएका सांसद मात्रै उपसभामुख बनेको उदाहरण उनैले तोड्नेछिन्।
०४८ मा महन्थ ठाकुर, ०५१ लीला श्रेष्ठ सुब्बा, रामविलाश राय यादव, डा. शिवमाया तुम्माहाम्फे, पूर्णाकुमारी सुवेदी र ओनसरी घर्तीमगर उपसभामुख भइसकेका छन्।
४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनको नाम समानुपातिक सूचीमा राखेको थियो।
मंसिर ४ को निर्वाचनमा ११ लाख समानुपातिक मत पाएपछि रास्वपाले इन्दिरालाई सांसद बनाएको हो।
समानुपातिक सांसद इन्दिरा शनिबारदेखि २७५ सदस्यीय प्रतिनिधि सभा हाँक्ने कुर्सीमा पुग्नेछिन।
७ माघ दिउँसो उपसभामुखको चुनाव हुँदैछ। सत्ता साझेदार दलमै स्पष्ट बहुमत भएकोले इन्दिराले चुनाव जित्ने निश्चित छ।
सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्।
३३ वर्ष काठमाडौंमा
झापाको गाउँमै प्राथमिक शिक्षा पढेर २०४७ सालमा काठमाडौं आएकी उनले २०५७ सालमा सोह्रखुट्टेमा बन्दी सहायता केन्द्र स्थापना गरेकी थिइन्।
संस्था स्थापना भएको २२ वर्ष हुँदा उनले २० हजार छोराछोरी हुर्काइसकिन्।
संस्थाले विभिन्न कसुरमा कैद भुक्तानका लागि अभिभावकसँगै कारागारमा जान बाध्य बालबालिका उद्धार गरेर लालनपालन र हेरचाह गरिरहेको छ।
सोह्रखुट्टे, साँखु र बूढानीलकण्ठ, झापा, पाल्पा दाङ, पोखरामा बन्दी सहायता नेपालको शाखा पनि छ।
जन्मेको भोलिपल्टदेखिका बालबच्चालाई आफ्नै संस्थामा राखेर हुर्काएकी इन्दिरा सबैकी आमा हुन्।
इन्दिरा आफूले हुर्काएका सबै बच्चालाई छोरा छोरी भन्छिन्।
उनका सन्तान ब्रिटिस आर्मी नर्स, शिक्षक, राष्ट्रिय खेलाडी बनिसके।
बच्चाहरु उनलाई आमा नै भन्छन्। केहीको उनले विवाह गरिदिएकी पनि छन्।
यहीँ हुर्किएकी एउटी छोरी तेक्वान्दोमा एसिया प्रथम हुँदा अर्का छोरो एसिया दोस्रो भएका छन्।
त्यसपछि जन्मियो संस्था
झापाबाट क्याम्पस तह पढ्न ०४७ सालमा काठमाडौँ आएकी इन्दिराले म्हैपीस्थित अमृत बोर्डिङमा पढाउँदै गर्दा साहित्यकार पारिजातसँग भेट भयो
पारिजातले नै विभिन्न कसुर खेपेर सजाय भुक्तान गरिरहेका महिलाहरूको अवस्था देखाउन इन्दिरालाई कारागार लगिन्।
त्यहाँ लग्नुको कारण थियो पारिजातको ‘बन्दी सहायता मिसन’ संस्था थियो। त्यो संस्थाले जेलमा रहेका राजनीतिक बन्दीको पक्षमा वकालत गर्नेदेखि उनीहरुका बालबच्चाको रेखदेख गर्थ्यो।
पारिजातको समयमा जेलमा राजनीतिक बन्दी धेरै थिए।
बोर्डिङ स्कूलको जागिर छोडेर इन्दिरा पारिजातकै ‘बन्दी सहायता मिसन’मा काम गर्न तयार भइन्।
केही समय काम गरेपछि जब पारिजातको निधन भयो अनि इन्दिराले त्यही तर फरक रुपले काम गर्ने आफ्नै संस्था खोल्ने निश्चय गरिन।
उनले सबैखालका बन्दी जीवन बिताइरहेका गरिव र विपन्न महिलातिर मुख्य ध्यान केन्द्रित गरिन्।
जहाँ जेलका दयनीय दृश्य र बालबालिकाको अवस्था देखेपछि उनको बाटो मोडियो।
किनकी आमासँगै निर्दोष बालबालिका जेलमै थिए।
उसै त जेल, त्यहाँ सेवा सुविधा हुनै कुरै भएन।
त्यसमाथि विनाअपराध बाबुआमाले गरेको अपराधको भागिदार ती बच्चा भइरहेको उनले महसुस गरिन्।
त्यही दृश्यले निरपराध बच्चाहरूको स्याहार गर्न र उनीहरूलाई शिक्षामा समर्पित हुने लक्ष्य लिएर संस्था बनाउने योजनामा इन्दिरा लागिन्।
त्यहीअनुसार संस्था बनाएर उनी बालबच्चा उद्धारमा लागिन्।
बन्दी अभिभावकका छोराछोरी पढाउन ‘जुनकीरी स्कुल’ पनि चलाएकी छन्।
बच्चाहरूको भविष्य उज्ज्वल बनाउन उनी क्रियाशील भइरहिन्।
विश्वकै प्रसिद्ध १ लाख डलरको ‘वर्ल्ड चिल्ड्रेन अननेरी प्राइज २०१४' पाएकी उनी सन् २०१७ मा बीबीसी रेडियोले विश्वभरबाट चुन्दै आएको ‘बीबीसी १०० प्रेरणादायी महिला’ सूचीमा पनि परेकी छन्।
Shares
प्रतिक्रिया